२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

पञ्चेबाजाको माग बढ्दो

विवाह, व्रतबन्ध, चौरासी पूजा, चाडबाड, जात्रा र रोपाइँजस्ता सांस्कृतिक तथा सामाजिक उत्सवमा पञ्चेबाजा बजाइने 
पञ्चेबाजा बनाउन आवश्यक पर्ने सामान खरिदमा स्थानीय सरकारको सहयोगको खाँचो 

स्याङ्जा — सामान्य खालका कार्यक्रममा पनि हिजोआज पञ्चेबाजाको खोजी हुन्छ । संघसंस्था, सहकारी, क्लव र आमा समुहले आयोजना गरेका सभा, सम्मेलन, सांसद, मन्त्रीलगायतका स्वागतमा पनि पञ्चेबाजा नै बजाउन थालिएको छ ।

पञ्चेबाजाको माग बढ्दो

होमस्टेमा आउने पाहुनालाई पनि फूलमाला र पञ्चेबाजा बजाएर भित्र्याउने गरिएको छ । दुर्लभ हुँदै गएपछि परम्परागत बाजाको महत्व बढेको हो । निकै थोरै समुहले अझै बजाउँदै गरेको पञ्चेबाजा शुभकार्यमा खोजी हुन्छ । बजाउने समूह सबैतिर सजिलै भेटिँदैनन् ।


विभिन्न कार्यक्रमसँगै विवाह, व्रतबन्ध, चौरासी पूजा, चाडबाड, जात्रा र रोपाइँजस्ता सांस्कृतिक तथा सामाजिक उत्सवमा बजाइने मौलिक पञ्चेबाजाका धुन अझै पनि कर्णप्रिय मानिन्छन् । ‘जमाना नयाँ आयो भनेर हाम्रा पुराना बाजाको चलन छाड्नु हुँदैन,’ पुतलीबजार–४ की ८५ वर्षीया उमादेवी पोखरेल भन्छिन्, ‘हिजोआज गाउँघरमा पञ्चेबाजा भनेको बिहेमा मात्र बढी बजाउँछन् । मौलिकता जोगाउनुपर्छ भन्ने मान्यताभन्दा रमाइलोका लागि मात्र बजाउने गरेका छन् ।’


पञ्चेबाजा बनाउन आवश्यक पर्ने सामान खरिदमा स्थानीय सरकारले योजना बनाएर नै सहयोग गर्नुपर्ने पुतलीबजार–१ का शोभाखर विक बताउँछन् । ‘पञ्चेबाजासँगै सारंगी र विभिन्न वाद्यवादनका साधनको पनि संरक्षण गर्न आवश्यक छ,’ उनले भने, ‘बजाउनेले सम्मान र बाँच्न सकिने अवस्था भयो भने मात्रै बाजा जोगिन्छन् ।’ बिहे र व्रतबन्ध गर्ने लगनको समयमा पञ्चेबाजा पाउनै मुस्किल रहेको पुतलीबजार–१ का सुवास खाती बताउँछन् । ‘पुराना पुस्ता वृद्ध हुादै गए,’ उनले भने, ‘कोही उमेरका कारण बजाउन सक्दैनन्, नयाँ पुस्तालाई यसबारे चासो छैन ।’


पहिले–पहिले पञ्चेबाजा आम्दानीको रूपमा लिइने उनले बताए । ‘आम्दानी अहिले पनि हुँदैन भनेको होइन,’ उनले भने, ‘पञ्चेबाजामा लगानी गर्न सके र टिक्न सक्नुपर्छ यसबाट भरपुर आम्दानी गर्न सकिन्छ । एकैदिनमा ४०/५० हजार रुपैयाँ कमाइन्छ ।’ समूह बनाएर पञ्चेबाजा बजाउने काम गर्नेहरूका लागि रोजगारीको राम्रो माध्यम रहेको उनले बताए ।


पछिल्लो समय स्याङ्जामा आयोजना हुने विभिन्न कार्यक्रममा पञ्चेबाजा बजाइने गरिन्छ । कतिपय स्थानमा बादी समुदायका बासिन्दाले पञ्चेबाजालाई निरन्तरता दिँदै आएका छन् । पञ्चेबाजा बजाउन युवादेखि वृद्धसम्मको उमेर समूहका देखिन्छन् । ‘पञ्चेबाजा बजाएर जिउन गाह्रो छ,’ पञ्चेबाजा समूहका एक वृद्ध भन्छन्, ‘यो भनेको सिजनमा मात्र हुन्छ । कहिलेकाहीं बजाएर जीविकोपार्जन गर्न सकिँदैन ।’ उनले यसको संरक्षणसँगै बजाउनेको वैकल्पिक पेसा पनि जरुरी रहेको बताए ।

प्रकाशित : माघ ४, २०७५ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?