कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सडक कालोपत्रे गरिँदै

दिप्ती सिलवाल

पर्वत — सदरमुकाम कुश्माका मुख्य र भित्री सडक कालोपत्रे गरिने भएको छ । यसका लागि नगरपालिकाले न्यूनतम मापदण्ड तयार पारेको छ । 

सडक कालोपत्रे गरिँदै

नगरभित्रको चक्रपथका सबैजसो सडक न्यूनतम ८ मिटर चौडा बनाउनेगरी विस्तारमा नगरपालिका जुटेको छ । सबैजसो मुख्य सडकहरू न्यूनतम ८ मिटर फराकिलो बनाउन मापदण्डभित्र परेका घरटहरालगायत संरचना भत्काइसकेको छ ।


पहिलो चरणमा डम्ढारे खोलादेखि बन्जीजम्प–यान्त्रिकपुल–लभ्लीडाँडा हुँदै बडागाउँसम्म सडक चौडा पारिएको कुश्माका नगरप्रमुख रामचन्द्र जोशीले बताए । ‘सबैजसो सडकको न्यूनतम मापदण्डअनुसार चौडा पारिसकिएको छ,’ उनले भने, ‘अहिले कालोपत्रेका लागि विस्तृत सर्वेक्षणको काम भइरहेको छ । सर्वेक्षण सकेपछि लगत्तै कालोपत्रे सुरु हुन्छ ।’


डिल तर्फको सडक यसअघि ५ मिटर कायम गरिएकोमा नगरपालिका कार्यान्वयनपछि ८ मिटरको मापदण्ड बनाएर फराकिलो पारिएको उनले बताए । त्यसका लागि सहरी विकास आयोजनामार्फत नगरका सबैजसो सडक कालोपत्रेका लागि आवश्यक रकम विनियोजन भइसकेको नगरपालिकाले जनाएको छ ।


कुश्माले अघिल्लो वर्ष प्राविधिक स्टिमेटसहित सडक मापदण्ड कायम गरेबमोजिम उपल्लो बजारको चाक्लेको डिलदेखि बडागाउँसम्मको सडक चौडा पार्न लागेको हो । त्यस्तै कुश्माको बान्द्रेबींडी, खरेहा, लोकतन्त्रचोक र मेलमिलापचोक लगायत कुश्मा ४, ५, ६ र ७ वडाभित्र पर्ने सबैजसो सडक कालोपत्रेको चरणमा छ । ‘अघिल्लो वर्षबाटै नगरका सडकको न्यूनतम मापदण्ड बनाउने योजना थियो,’ नगरकी उपप्रमुख सीता काफ्ले लामिछानेले भनिन्, ‘अब मापदण्डअनुसार नै सडक चौडा पारेर कालोपत्रे हुन्छ ।’


नगरपालिकाले कुश्माको चाक्लेको डिल, बौद्ध गुम्बा, उद्योग वाणिज्य संघ, कल्लेरी जाने बाटो, मेलमिलापचोक र लभ्लीडाँडा लगायतमा मापदण्डभित्र बनेका घरटहरा भत्काइसकेको छ । यतिबेला मुख्यमुख्य सडकको कालोपत्रेका लागि विस्तृत सर्वेक्षण भइरहेको छ । ‘सर्वेको काम करीब करीब सम्पन्न भएको अवस्था छ,’ इन्जिनियर आशिष पौडेलले भने, ‘अब डिजाइन र स्टिमेट गर्न बाँकी छ । अब केही समयभित्र ती काम पनि पुरा हुन्छन् ।’


एक साताभित्रै स्टिमेटको काम सकेर नगरपालिकाले बोलपत्र आहवान गर्ने तयारी गरेको उनले बताए । नगरपालिकाले कुश्मासहित कटुवाचौपारी र पाङलगायतका मुख्य सडक पनि ८ मिटर मापदण्ड कायम गरेर कालोपत्रे गर्न लागेको जनाएको छ ।


नगरपालिका कायम हुनुअघि निर्माण भएका स्थायी संरचनामा समेत फेरबदल गरेर सडकको सबै स्वरुप नयाँ बनाउन लागेको हो । बजारका पुराना र मापदण्डबाहिर बनेका घरमा पेटी, पुराना नाली, विद्युत्, खानेपानीका पाइप, टेलिफोन र केबलका तारसमेतको व्यवस्थापन गरी बजारलाई नयाँ स्वरुप दिन लागिएको हो ।


नगरपालिकाका प्राविधिकहरूका अनुसार सम्भव भएसम्म मुख्य सडक १० र शाखा सडक ८ मिटर बनाउनेगरी मापदण्ड बनाइएको छ । त्यसका लागि नगरपालिकाले सर्वसाधारणलाई १५ दिने सूचना सार्वजनिक गरेको छ । स्थायी संरचना र ऐतिहासिक महत्त्वका मठमन्दिर भने तत्काल नभत्काइने जनाएको छ । त्यस्तै अति विपन्न परिवारका संरचना पनि सकेसम्म जोगाइने वडा सदस्य नगेन्द्रबहादुर खत्रीले बताए । ‘महत्त्वपूर्ण संरचना जोगाउनैपर्छ,’ उनले भने, ‘कालोपत्रे ८ मिटर नपुग्ने ठाउँमा केही विकल्प सोच्नुपर्छ ।’


सडक विस्तार गर्दा पुराना र महत्त्वपूर्ण सडक ८ मिटर नगरपालिकाको आवश्यकता भएको कुश्मा–५ का वडाध्यक्ष चित्रकला शर्मा भारतीले बताइन् । ‘धेरैजसो सडक ८ मिटरका आवश्यक छ,’ उनले भनिन्, ‘अब कुश्मा पर्यटकीय नगरमा पर्ने भएकाले पर्यटकको चापलाई ध्यानमा राख्दै सडक फराकिलो पार्नैपर्छ ।’ स्थानीय आवश्यकताअनुसार नाली र कल्भर्ट लगायतका संरचना निर्माण भएपछि चालु वर्षभित्रै मुख्य चक्रपथ कालोपत्रे थालिने नगरप्रमुख जोशीले बताए ।


‘चालु महिनाभित्रै टेन्डर प्रक्रियामा जान्छौं,’ उनले भने, ‘बजेटको समस्या हुँदैन । यही वर्ष काम सुरु हुन्छ ।’ कुश्मामा निर्मित किर्तिमानी अग्ला पुल, यान्त्रिक पु्ल र बन्जी जम्प लगायतका कारण पछिल्लो समय यहाँ आउने पर्यटकको चाप बढो छ । पर्यटकको चाप बढेसँगै नगरभित्रका सडकमा सवारी संख्या बढ्ने भएकाले सडक फराकिलो पार्नैपर्ने देखिएको जोशीले बताए ।


पोखरा–मुस्ताङ सडकमा पर्ने कुश्मा नगर क्षेत्रमा जोमसोम, बेनी र बागलुङ आउजाउ गर्ने सवारीको सधैं चाप रहन्छ । मुक्तिनाथ र जोमसोम घुम्न हिडेका पर्यटकलाई अग्ला पुलले पर्वतमा पनि घुमघामका लागि रोक्ने गरेको छ । पोखराबाट अग्ला पुल हेर्नकै लागि पनि गाडी रिजर्व गरेर पर्वत आउने पर्यटक हुने गरेका छन् ।


जिल्ला बाहिरबाट आउने सवारीको चाप सधैं भइरहने कुश्मामा पुल घुम्न जानेलाई छोटो दूरीमा सेवा दिने ट्याक्सीको संख्या पनि बढेको छ । फराकिलो र स्तरीय सडकसँगै नगर क्षेत्रमा सवारी पार्किङ पनि व्यवस्थित पार्ने विषयमा योजना बनिरहेको जनप्रतिनिधिले बताएका छन् ।

प्रकाशित : माघ ५, २०७५ ११:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?