किर्ते गरेर जग्गा बिक्री

आश गुरुङ

लमजुङ — वडाध्यक्षको किर्ते हस्ताक्षर गरेर चार जनाले धनीलाई थाहै नदिई बेंसीसहर–४ पुरानकोटमा ४२ रोपनी जग्गा बिक्री गरेको खुलेको छ ।

जग्गा व्यवसायी (दलाल) ले वडाअध्यक्ष लालवीर गुरुङको हस्ताक्षर किर्ते गरेर एउटाको जग्गा अर्कैलाई बिक्री गरेको खुलेको हो । पछिल्लोपटक पुरानकोटकै अर्को जग्गा वडाअध्यक्षकै किर्ते हस्ताक्षर गरी बेच्ने क्रममा भने उनीहरू पक्राउ परेका छन् । पक्राउ परेपछि उनीहरूले यसअघि पनि किर्ते गरेर जग्गा बिक्री गरेको तथ्य खुलेको प्रहरीले जनाएको छ ।


प्रहरीका अनुसार मंसिर तेस्रो साता बेंसीसहर नगरपालिका–३ का काजीमान परियार र वसन्त बराल साथै वडा ९ बिम्दाका मिलन गुरुङ र जग्गाधनीकै आफन्त हरिमाया गुरुङ मिलेर एउटाको जग्गा अर्कोलाई बिक्री गरेको अभियोगमा मुद्दा दर्ता गरी अदालतमा पेस गरिएको छ ।


प्रहरी स्रोतका अनुसार पुरानकोटकै साउबुढा भनेर चिनिने डुकवीर गुरुङका दुई पत्नीमध्ये जेठी सुनसरी र कान्छी गनमायाको संयुक्त नाममा रहेका ४२ रोपनी जग्गा काजीराम, बसन्त, मिलन र हरिमाया मिलेर नुवाकोटका दीपक तामाङसहित २ जनाको नाममा ९ लाख रुपैयाँ कबोल गरी बिक्री गरेको बयान दिएका छन् ।


सुरुमा दिएको १ लाख ५० हजार रुपैयाँ सुनसरीकी नातिनी (छोरीको छोरी) हरिमायाले आफैं राखेर हजुरआमाद्वयलाई नदिएको रहस्य खुलेपछि जग्गा धनी र व्यवसायीबीच सामान्य भनाभन भएको थियो । तीनजनालाई पक्राउ गरे पनि नियन्त्रणमा लिएका हरिमायालाई छोडेको थियो । पछि हरिमायासमेत संलग्न भएको आरोपमा प्रहरीले उनलाई पुस २९ मा पक्राउ गरेको प्रहरीले बताएको छ । डीएसपी यादव ढकालका अनुसार काजीमानलाई पुस १४ मा बेंसीसहरबाट साथै बसन्त र मिलनलाई पुस १८ मा चितवनबाट पक्राउ गरी ल्याएको थियो । उनीहरूविरुद्ध लिखतसम्बन्धी किर्ते मुद्दा चलाइएको छ ।


प्रहरीका अनुसार बेंसीसहर नगरपालिका ४, पुरानकोटकी गनमाया गुरुङले गाउँको ३२ रोपनी जग्गा चितवनका पुरुषोत्तम वाग्लेलाई ७ लाख रुपैयाँ कबोल गरेर दिन व्यवसायीले राजी गराएका थिए । भाइ पौबहादुर गुरुङको निधनपछि नजिकका नातेदारको रूपमा गनमायाले उक्त जग्गा प्राप्त गरेकी थिइन् ।


स्रोतका अनुसार लालपूर्जा हराएको भनी उनलाई थाहै नदिई मालपोत कार्यालयबाट प्रतिलिपी झिकेका थिए । जग्गा पाससम्बन्धी बेंसीसहरमा रहेका वडासचिव पूर्णबहादुर भोलनले सिफारिस लेखेका थिए । वडा ५ नाल्मा समेत हेर्दै आएका सचिव भोलनले गाउँ गएर वडाअध्यक्ष लालबीर गुरुङको हस्ताक्षर गर्न भने पनि जग्गा पासमा संलग्न व्यवसायीले वडाअध्यक्षको किर्ते सही गरेर बेंसीसहर नगरपालिकाको छाप लगाई जग्गा पास प्रक्रिया अगाडि बढाएका थिए ।


लेखनदासले कागजपत्र मिलाउँदै गर्दा गाउँकै बृषराज गुरुङ आफ्नो काम लिएर मालपोत पुगेका थिए । वडाध्यक्षको हस्ताक्षर नगरी जग्गा विक्री गर्न लागेको सुनिएपछि उनले तत्काल वडाअध्यक्ष लालवीरलाई फोन गरे । ‘लेनदेनमा केही कुरा नमिलेपछि केही हल्लाखल्ला थियो । तिनैजना र लेखनदाससंग मेरो भनाभन भयो । धकेलाधकेल भयो । अनि मात्रै नक्कली कागजात हात पर्‍यो,’ वृषराजले भने । संयोगले वडाअध्यक्ष लालबीर बेंसीसहर सेरामा खाजा खाइरहेका थिए ।


‘मेरो नक्कली हस्ताक्षर गरेर जग्गा पास हुन लागेको भन्ने जानकारी आयो । म दौडेर मालपोत पुगें । हो रहेछ । सचिवले सिफारिस दिएर गाउँ जान भनेर पठाएका उनीहरूले मेरै हस्ताक्षर किर्ते गरेर जग्गा विक्री गर्न लागेको रहेछ’ उनले भने । पुस १२ गतेको घटनापछि व्यवसायीविरुद्ध वडाअध्यक्ष गुरुङले प्रहरीमा उजुरी दिएका थिए ।


डीएसपी यादवका अनुसार चारैजनालाई अभियोगका साथ सरकारी वकिल कार्यालयमा मुद्दा पेस गर्ने तयारी गरिएको छ । ‘किर्ते सम्बन्धमा हाम्रो अनुसन्धान लगभग सकियो । हामी अभियोगपत्रका साथ मुद्दा पेस गर्ने तयारीमा छौं । त्यसपछि मुद्दा अदालत जान्छ’ उनले भने ।

प्रकाशित : माघ ५, २०७५ ११:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?