कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

परिचयपत्र वितरणको नयाँ व्यवस्था

कास्की — महिला तथा बालबालिकाको कार्यालय खारेज भएर कार्यभार आफूमा सरेपछि पोखरा महानगरपालिकाले परिचयपत्र वितरणमा नयाँ व्यवस्था गरेको छ । 

अपांगता भएकालाई महानगरपालिकाको कार्यालय र जेष्ठ नागरिकलाई वडा कार्यालयबाट परिचयपत्र दिइने भएको हो । अपांगता भएकाका लागि परिचयपत्र वितरण महिला तथा बालबालिका कार्यालय खारेज भएयता बन्द थियो ।


अपांगता भएका व्यक्तिको परिचयपत्र वितरण कार्यविधि २०७५ पारित गरेसँगै महानगरपालिकाले उपप्रमुख मञ्जुदेवी गुरुङको संयोजकत्वमा अपांगता परिचयपत्र वितरण समन्वय समिति गठन गरेको छ । समिति गठनलगतै परिचयपत्र वितरण पनि सुरु गरिएको हो । ‘समितिको पहिलो बैठकबाटै हामीले अपांगता भएकाहरूलाई परिचयपत्र वितरणको व्यवस्था सजिलो बनाएका छौं,’ उपप्रमुख गुरुङले भनिन्, ‘अब महानगरको कार्यालयमा प्रक्रिया पुर्‍याएर परिचयपत्र लिन सकिन्छ ।’ आफू बसेको वडा कार्यालय र स्वास्थ्य संस्थाको सिफारिस, नागरिकताको फोटोकपी र फोटोसहित सामाजिक विकास महाशाखामा निवेदन दिनेले सजिलै परिचयपत्र पाउने उनले बताइन् ।


सरकारले विभाजन गरेअनुसार ‘क’ देखि ‘घ’ गरी चार समूहमा पर्ने अपांगताको प्रकार हेरेर परिचयपत्र दिइने महाशाखा प्रमुख निर्मला शर्माले बताइन् । ‘पूर्ण अशक्त भएकालाई रातो, अति अशक्तलाई नीलो, मध्यमलाई, पँहेलो र सामान्यलाई सेतो रंगको परिचयपत्र दिन्छौं,’ उनले भनिन्, ‘प्रक्रिया महिला तथा बालबालिका कार्यालयले दिनेजस्तै हो, वितरण गर्ने निकाय मात्रै परिवर्तन भएको छ ।’


महाशाखाले दिँदै आएको जेष्ठ नागरिक परिचयपत्र भने अब सम्बद्ध वडा कार्यालयबाट दिइने उनले बताइन् । ‘जेष्ठ नागरिकलाई आफू बसेको वडाको कार्यालयबाट परिचयपत्र लिन सजिलो होस् भनेर यस्तो गरिएको हो,’ उनले भनिन् । ८ महिनाअघिदेखि महानगरपालिकाले दिन थालेको जेष्ठ नागरिक परिचयपत्र लिनेमा हालसम्म १ सय ६७ जना पुगेका छन् ।

प्रकाशित : माघ ५, २०७५ ११:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?