पर्यटक तान्दै लिगलिगकोट

हरिराम उप्रेती

गोरखा — तेह्र वर्षको उमेरदेखि पालुङटार–२ आँपपीपलको लिगलिगकोटमा करनाल फुक्न थालेका सन्तोकी दमै ७० पुग्दासम्म आफ्नो पेसालाई निरन्तरता दिइरहेका छन् । बाबुबाजेको पालादेखि गरिआएको संस्कृतिको रक्षाकै लागि उनी बिहान ८ नबज्दै लिगलिगकोटको डाँडामा पुग्छन् । 

पर्यटक तान्दै लिगलिगकोट

उनीसँगै उमेरले ६० लागेका खिने दमै पनि दैनिक नगरा बजाउन पुग्छन् । ‘छोरानातिले गर्लान् भन्ने आशा छैन, हाम्रो पालासम्म गर्छौं,’ सन्तोकीले भने, ‘हामी त सानैदेखि यहाँ आएर बजाउन थालेका । हामीलाई यो ठाउँको माया लाग्छ ।’ मुलुकबाट राजतन्त्र

हट्यो, गणतान्त्रिक व्यवस्था आयो भन्ने उनलाई राम्रैगरी थाहा छ । ‘राजाको शासन नभए पनि केही छैन तर हामीले लिगलिगकोटको परम्परा जोगाइराख्नुपर्छ,’ उनले भने ।


दैनिक कोटमा धाउने उनीहरूलाई नेपाल राज्य स्थापनाको सुरुवात भएको ठाउँको प्रचारप्रसार गरेर धेरै पर्यटक आउजाउ गरेको हेर्ने धोको छ । हामी त सानैदेखि यहाँ आएर कर्नाल फुक्न थालेको, हामीलाई यो ठाउँको निकै माया छ,’ उनले भने । पछिल्लो समय दिन–प्रतिदिन यहाँ आउने पर्यटकको संख्या विस्तारै बढ्न थालेको उनले बताए ।


‘८/१० वर्षअघि त निकै कम मात्र मान्छे आउँथे । अहिले घुम्नकै लागि आउनेहरू पनि छन्, पिकनिक खान पनि आउँछन्,’ उनले भने, ‘कच्ची भए पनि मोटरबाटो खनिएको छ । यसलाई पिच गर्न सके र यहाँको ऐतिहासिक महत्त्वको प्रचार भए अझै पर्यटक सोधीखोजी गर्न आउँछन् ।’ शाहवंशीय राजासंस्थाका संस्थापक द्रव्य शाहले दौड जितेर पहिलोपल्ट राजा भएको ठाउँ लिगिलिगकोट भएकाले ऐतिहासिक दृष्टिले लिगलिगकोटको छुट्टै पहिचान भएको उनले बताए ।


लिगलिगकोटमा पुस्तौंदेखि कर्नाल, नगरा र रसा बजाउने परम्परा रहेको लिगलिगकोट विकास अभियानका अगुवा पूर्णबहादुर रानाले बताए । ‘अहिले रसा बजाउन छाडिएको छ,’ उनले भने । राजा द्रव्य शाहले लिगलिग कालिका स्थापना गरेसँगै उक्त परम्परा सुरु भएको अनुमान गरिन्छ । नगरा र कर्नाल बजाउनेलाई विकास समितिले न्यूनतम पारिश्रमिकको व्यवस्था पनि गरेको उनले बताए । परम्परादेखि चलिएको चलनलाई निरन्तरता दिन एकजना कटुवाल पनि कार्यरत छन् ।


प्रचारप्रसारमै जोड

लिगिलिगकोटको विकासका लागि नेपाल राज्य स्थापनाको इतिहासलाई प्रचारप्रसारसँगै पूर्वाधार विकासमा जोड दिनुपर्ने यहाँका अधिकांश स्थानीयको माग छ । आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्य बनाउने भन्दै गत शुक्रबार लिगलिगकोटमा ४० फिट अग्लो राष्ट्रिय झण्डा फहराइयो । झण्डाले पर्यटक आकर्षित गर्नेमा स्थानीय आशावादी छन् ।


‘नेपाल राज्य स्थापनाको सुरुवात भएको ठाउँ हो । नेपालको इतिहास बुझ्ने, पढ्नेले लिगलिगकोटको नाम छुटाउँदा अन्याय हुन्छ,’ स्थानीय रामजी परियारले भने, ‘विश्वले चिन्ने लिगलिकोटमा नेपालको यति ठूलो झण्डा फहराइएको छ, यसले लिगलिगकोटकै शिर उच्च बनायो । पर्यटकलाई तान्न झण्डाको पनि महत्त्व छ ।’


नेपाल एकीकरणअघि बाइसे–चौबीसे राज्य हुँदा लिगलिगकोटमा राजा छान्न विसं १६०४ मा दौड प्रतियोगिता हुने गथ्र्यो । इतिहासको संरक्षणसँगै जीवन्त राख्न यहाँ नौ वर्षयता उक्त दौडलाई निरन्तरता दिइएको छ । द्रव्य शाह लिगलिगकोटको दौड जितेर घलेहरूले सम्हालेको राज्यको राजा भएको इतिहासमा उल्लेख छ ।


शाहले दौड जितेर राज्य सम्हालेपछि ऐतिहासिक लिगलिगे दौड विसं १६१६ बाट हुन छाडेको थियो । ४ सय ५१ वर्षपछि २०६७ सालबाट फेरि दौडले निरन्तरता पाएको छ । दौडको माध्यमबाट पनि लिगलिगकोटलाई प्रचारप्रसार भएको स्थानीय बताउँछन् । राजा द्रव्य शाहले १६१६ भदौ २५ मा गोरखा विजय गरेसँगै तत्कालीन लिगलिगकोट दौडको अन्त्य भएका थियो ।


‘फादर होम लिगलिगकोट’

लिगलिगकोट विकास अभियानका अगुवा राना लिगलिगकोटलाई आधुनिक प्रजातन्त्रको सुरुवात भएको ठाउँको रूपमा वर्णन गर्छन् । राष्ट्रपतीय प्रणालीको सुरुवात नै यहाँबाट भएको उनको बुझाइ छ ।


‘उस बेलामा प्रजातान्त्रिक तवरले जनताको छोरा पनि राष्ट्र प्रमुख हुन पाउने व्यवस्था यहाँबाट सुरु भयो,’ उनले भने, ‘समावेसी अभ्यास पनि भएको छ । सबै जातजातिका मान्छे दौडमा भाग लिन पाउँथे । क्षमता देखाउने व्यवस्था थियो, हाम्रा होइन राम्रालाई चयन गर भन्ने व्यवस्था त्यो बेलामै यहाँ सुरु भइसकेको थियो । राजाको छोरा पनि पुन: राजा हुन आफ्नो क्षमता देखाउनुपथ्र्यो ।’


एक वर्षका लागि राज्य नै पुरस्कार पाउने व्यवस्था लिगगिलकोटमा रहेको रानाको तर्क छ । ‘राज्य नै पाउनु भनेको सबैभन्दा ठूलो पुरस्कार हो,’ उनले भने, ‘नेपाल एकीकरणको सुरुवात भएको यो देशको जन्मस्थल हो, फादर होम लिगलिगकोट भन्ने गरेको छु ।’ शाह वंशीय राजाका संस्थापक द्रव्य शाहले यहींबाट गोरखा राज्यमा विजयी भएपछि उनका सन्ततिले नेपाल एकीकरण गरेकाले राज्य स्थापनाको उद्गमस्थल लिगलिगकोट रहेको उनले बताए ।


संरचना विकासमा जोड

समुन्द्र सतहदेखि १ हजार ४ सय ३७ मिटर उचाइमा अवस्थित लिगलिगकोटलाई बुझ्न चाहनेहरू हिजोआज पनि घुम्न जान्छन् । यहाँ पूर्वाधार विकास भए मात्रै इतिहासको संरक्षणसँगै चासो जीवन्त हुने भन्नेमा स्थानीय जनप्रतिनिधि पनि सचेत छन् ।


‘समग्र विकासका लागि गुरुयोजना बन्ने क्रममा छ,’ लिगलिगकोट विकास अभियानका अगुवा पूर्णबहादुर रानाले भने, ‘गढीहरूको मर्मत, भ्यूटावरको निर्माण र स्मारक बनाउन पहल गरिरहेका छौं ।’ होमस्टेको स्थापनाका लागि पनि तयारी भइरहेको उनले बताए । यसअघि लिगलिगकोटमा संरचना निर्माणका लागि झन्डै ५५ लाख खर्च भइसकेको छ ।


खानेपानी, शौचालय, प्रवेशद्वार, सिँढी, उपासे घर र गढी मर्मतलगायतका काम भएको रानाले बताए । द्रव्य शाहले राज्य गरेको दरबारको भग्नावशेष अझै यहाँ देख्न सकिन्छ । इतिहास बुझ्ने, रुचाउनेका लागि दरबारको भग्नावशेष र गढीलगायतका संरचनालाई संरक्षण गर्दै यसको महत्त्वको बारेमा बुझाउन सक्नुपर्ने स्थानीय बताउँछन् ।

प्रकाशित : माघ ५, २०७५ ११:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?