कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

गोरखा दरबारमा बाँदरको हैरानी

भक्तजन र बाँदरबीच दैनिक पूजा सामाग्री खोसाखोस

गोरखा — गोरखा दरबार क्षेत्रमा पटक–पटक भक्तजन र बाँदरबीच पूजा सामग्री खोसाखोस भएको दृश्य नौलो होइन । दैनिक यो घम्साघम्सी देखिन्छ । विशेषगरी बालबालिका र महिलाको हातमा रहेका पूजा सामग्री खोस्न बाँदरको एक हूल नै तल्लीन देखिन्छ । 

गोरखा दरबारमा बाँदरको हैरानी

‘तीन वर्षअघि फाट्टफुट्ट पाँच/सातवटा बाँदर देखिएका थिए, त्यो बेला त्यति धेरै उपद्रो नि मच्चाएन,’ गोरखा दरबार परिसरमा भेटिएका ईश्वर सिर्मलले भने, ‘अहिले त दुई/तीन सयको हूल बनेको छ । दिनभर यतै आसपास आतंक फैलाएर बस्छ । भक्तजनको पूजा सामाग्री खोस्ने समस्या त छिनछिनमा देखिन्छ ।’


बाँदर आतंकले विशेष दरबार क्षेत्र आएका बालबालिकाहरू त्रसित हुने गरेको उनले सुनाए । ‘लम्कीझम्की गर्दा पनि भाग्दैन, उल्टो आफैंलाई झम्टेला भन्ने डर,’ उनले गुनासो गरे । कसै पनि बाँदर नियन्त्रण गर्न नसकेको सीता योगी बताउँछिन् । ‘हनुमानथान वरिपरि सफासुग्घर गरेर बस्ने गरेकी छु, यहाँ बसेबापत मन्दिरमा चढाएको प्रसाद अलिअलि पाइन्छ,’ योगीले भनिन्, ‘अहिले त मन्दिरमा केही प्रसाद चढाए बाँदरले बोकेर हिँड्छ, बाँदर धपाएरै दिन बित्ने भो ।’

बाँदर तर्साउन अहिले उक्त क्षेत्रमा बस्नेहरूले गुलेली खरिद गरेका छन् । ‘ढुंगा ताक्दा पनि टेर्दैन, गुलेली तन्काए वरिपरि चाहिँ आउँदैन,’ योगीले भनिन्, ‘भगवानको मन्दिरमा आएको बाँदरलाई पिट्नु पनि भएन । गुलेली देखाएर तर्साउन भने थालेका छौं ।’ बाँदर आतंक बढ्दै गएपछि गोरखा दरबार हेरचाह अड्डाले केही कर्मचारीलाई गुलेली किनेर दिएको छ ।


‘पोहोर र अहिले गरेर गरेर १२/१४ वटा गुलेली किन्यौं । मार्न भएन, ताकिदिए भाग्छ,’ अड्डाका सूचना अधिकारी रामेश्वर कट्टेलले भने, ‘हिजोआज त गुलेली देखाए पनि नतर्सने भएको छ । गुलेलीले ताकेर केही हुँदैन भन्ने बाँदरले बुझ्यो कि झैं लाग्छ ।’ साँझ परेपछि जंगल छिर्ने बाँदरका हूल बिहान झिसमिसे उज्यालोमै उपद्रो मच्चाउन आइपुग्ने गोरखा दरबार हेरचाह अड्डाका कर्मचारी बताउँछन् ।


बाँदरलाई तर्साउन गुलेली ताक्दै ।


भूकम्पले हल्लाएको ऐतिहासिक गोरखा दरबार परिसरको संरचनाहरूलाई बाँदरको उपद्रोले थप जीर्ण बनाएको छ । दुइवटा प्रवेशद्वार, शीतल पाटी, कालिका दरबार र दमै पाटीको झिँगटी बाँदरले उप्काएर यत्रतत्र फालिदिएका छन् । ‘१५ दिनअघि कालिका मन्दिर नजिकै बाँदरले झिँगटी झारेर एक भक्तजनको टाउकोमा चोट लाग्यो,’ उनले भने, ‘झिँगटी यत्रतत्र फालेर त्यहाँभित्र किरा खोज्दो रहेछ ।’


संरचनाका झिँगटी बाँदरले फालेपछि पानी चुहिने समस्या थपिएको कट्टेलले गुनासो गरे । ‘कालिका मन्दिरमा भूकम्पपछि अलिअलि पानी चुहिन्थ्यो, बाँदरले झिँगटी फालेर थप पानी चुहिने भयो । २०७३ सालमै माथिल्लो छानामा झिँगटीमाथि जस्ता लगाएका छौं,’ उनले भने । कालिका मन्दिरकै तल्ला छानाहरूको झिँगटी भने दैनिकजसो बाँदरले ओल्टाइपल्टाइ गर्ने गरेको उनको भनाइ छ ।


शीतलपाटी र दमै पाटीमा भने बाँदरले झिँगटी फालेर पानी चुहिने समस्या बढेको उनले बताए । ‘२०७६ सालतिर शीतल पाटीको त पुनर्निर्माण गर्ने तयारी छ । अहिले पानी चुहिए पनि त्यसैलाई प्रयोग गरिरहेका छौं,’ उनले भने । बाँदरले आतंक मच्चाएको गुनासो स्थानीय प्रशासनलाई पनि यसअघि नै गरिसकेको उनले बताए । ‘एउटा छानाबाट हाम फालेर अर्को छानामा जान्छ,’ उनले भने, ‘यसै त भूकम्पले चर्काएको संरचना त्यहीमाथि बाँदर उफ्रिएपछि सखाप भयो ।’


भक्तजन र घुम्न आउने पर्यटक बाँदरको चर्तिकला देखेर रमाए पनि सम्पदाहरू क्षति पुग्न थालेपछि यहाँका कर्मचारी चिन्तित छन् । गोरखाको मूल दरबारको पुनर्निर्माण भइरहेको छ । मूल दरबार बाहेकका अन्य संरचना बाँदरको उपद्रोले लथालिंग छन् । दरबार आसपासका स्थानीयले लगाएको कृषि उपज पनि बाँदरले सखाप पार्ने गरेको गुनासो बढेको छ ।

प्रकाशित : माघ ६, २०७५ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?