३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

गाउँ फर्केर कृषि उद्यम

सेनाबाट अवकाश लिएपछि ७० वर्षीय जितबहादुर कृषि उद्यम गर्दै स्थानीयलाई सिकाउँदै
घैया नफल्ने स्थानमा सुन्तला र कागती फल्दै
दिप्ती सिलवाल

भोक्सिङ, पर्वत — सुबेदारबा दुई दशकअघि भारतीय सेनाबाट अवकाश लिएर गाउँ फर्किंदा बारीमा कोदो पनि फल्थेन । वर्षामा समेत सिँचाइ नभएपछि घैयाको भरमा छाक टारेका ७० वर्षीय जितबहादुर गुरुङ अहिले गाउँभरिका उद्यम मास्टर हुन् ।

गाउँ फर्केर कृषि उद्यम

महाशिला गाउँपालिका–२ साबिकको भोक्सिङ–५ का उनी गाउँलेलाई कृषि उद्यम सिकाउँछन् । २६ वर्ष फौजीको जागिरे जीवन बिताएर गाउँ फर्किएका उनले आफैं पनि व्यावसायिक कृषिको काम गरेर स्थानीयलाई सिकाएका छन् । ‘फौजमा काम गर्दा पनि रात–दिन जन्मगाउँकै याद आउँथ्यो,’ उनले भने, ‘गाउँ फर्केर बाउले बनाएको छाप्रोमा रात काट्ने रहर हुन्थ्यो । रिटायर भएर आएँ, अब गाउँ छाड्नै मन लाग्दैन ।’


उनका जेठा छोरा–बुहारी अमेरिका, कान्छा–छोराबुहारी र श्रीमती पोखरामा छन् । काठमाडौं र पोखरामा पनि घर जोडेका छन् । करिब ६० हजार पेन्सन आउँछ । उनी भने सम्पत्ति र सहरी सुविधा छाडेर गाउँमा बस्छन् । ३१ रोपनी बारीमा आफैंले रोपेका ५ सय बोट सुन्तला र सय बोट कागती स्याहार्छन् । गाउँभरिका सबैलाई उद्यम सिकाउँछन् । खाली हात बस्नेलाई आफ्नै बारीमा जागिर दिन्छन् ।


गाउँ फर्किएको पहिलो वर्ष उनले घैया लगाए । अत्यधिक सुक्खा परेपछि घैया पनि फलेन । कृषि प्राविधिकले कागती र सुन्तला राम्रो हुने सुझाए । त्यसपछि कुश्मा पुगेर आफैंले डोकोमा बोकेर सयवटा सुन्तला र ३० बोट कागती ल्याएर रोपे । ‘मैले ५ सय बोट सुन्तला र सय बोट कागती मगाएको थिएँ,’ उनले भने, ‘सुरुमै पैसा पठाउन बिर्सेंछु । प्राविधिकले पैसा जसले दियो उसैलाई बिरुवा दिएछन् । झगडै गरेर १ सय ३० बिरुवा यहाँसम्म उतार्दा मलाई तीन दिन लागेको थियो ।’ त्यतिबेला गाउँसम्म सडकको पहुँच थिएन । कुश्मासम्म पैदलै पुग्नुपथ्र्यो । पैदल हिँडेर एक दिनमा कुश्मा पुगेका जितबहादुरले सुन्तलाका बिरुवा बोकेर घर आइपुग्न दुई दिन लाग्यो । अर्को वर्ष थप ४ सय सुन्तला र ७० बोट कागती रोपे ।


१८ वर्षअघि रोपेका सुन्तला र कागतीले अहिले उनको बारी पहेंलै छ । ‘पहिला घैया नफल्ने बारीमा अहिले जे रोप्यो त्यही फलेको देख्दा खुसी लाग्छ,’ उनी भन्छन्, ‘गाउँमा केही हुँदैन भनेर बाहिरिनेलाई देखाउन सजिलो भएको छ ।’ अहिले उनको बारीमा तीनजनाले नियमित र सिजनमा १२ जनाले रोजगारी पाएका छन् । सिजनका बेला सुन्तला खरिद गर्न ठेकेदार बारीमै आउँछन् । सिजनमा करिब एक महिना सुन्तला टिप्ने र ग्रेडिङ गर्न १२ जनाले एक महिना काम पाउँछन् । अरू समय सुन्तला गोडमेल गर्न, काँटछाँट गर्न र मजलजका लागि तीन जनाले नियमित काम गर्दै आएका छन् ।


आफ्नो बारीमा काम गरेर बचेको समय जितबहादुरले अरूलाई उद्यम सिकाउँछन् । उनको सिको गर्दै सुन्तला लगाउनेको संख्या अहिले गाउँमा बढ्दो छ । भोक्सिङको वडा कार्यालयसम्मको कच्ची मोटरबाटो आफ्नै खर्चमा बारीसम्म ल्याएका छन् । ‘अघिल्लो वर्ष दुई लाख खर्चेर यहाँसम्म डोजर ल्याएँ,’ उनले भने, ‘नेताहरूले जस लिन आएर उद्घाटन गरे ।’ नाचगान गरेर भव्य उद्घाटन गर्न आएका गाउँपालिका अध्यक्षलगायत नेताहरूलाई गुरुङले सडकको अवस्था सुधार्न आग्रह गरेका थिए । उनको मागको सुनुवाइ भएको छैन ।


जितबहादुर भर्ती हुन घर छाड्ने बेला ६७ परिवार गुरुङको बसोबास थियो । गाउँ फर्किंदा बसाइँ जानेको संख्या बढ्यो । ‘सुबेदार बा नभएको भए यहाँको जंगलमा बाघ–भालुबाहेक केही पाइन्थेन,’ स्थानीय दीपक गुरुङले भने, ‘उहाँकै कारण सबै उद्यमी बन्न थालेका छन् । कसैका खेतबारी बाँझो छैनन् ।’ जितबहादुरकै सिको गर्दै लाहुरेहरू गाउँ फर्किएर करिब पाँच सय रोपनीमा अलैंची खेती सुरु गरेका छन् । ‘यहाँ उत्तीसको जंगलभरि अहिले अलैंचीले ढाकेको छ,’ अगुवा किसान नारायण गुरुङले भने, ‘हामीलाई अलैंची खेती गर्न जितबहादुरले नै उक्साउनुभएको हो ।’


यहाँका अधिकांश पाका उमेरका वृद्धहरू भारतीय सेनाका भूपू थिए । केही ब्रिटिस सेनामा पनि थिए । उतिबेला भर्ती हुन नगएका एकाध परिवार मात्रै गाउँ छाडेर बाहिर जान सकेनन् । काठमाडौंमा बसाइँ सरेका दीपक गुरुङले सुबेदार बाकै प्रेरणाका कारण गाउँ फर्किएर फलफूल खेती र बाख्रापालनमा लागेको बताए ।


भोक्सिङका बासिन्दालाई गाउँपालिकाको केन्द्र पुग्न पैदल करिब एक घण्टा लाग्छ । अहिले गाउँका हरेक बस्तीसम्म मोटरबाटो पुगेको छ । ‘यहाँ बाख्रापालन, आलु, सुन्तला, अलैंची, टिमुरको राम्रो सम्भावना छ,’ स्थानीय नारायण गुरुङले भने, ‘बाटो भए बिक्रीको समस्या हुन्न । फलाउनेलाई पनि जाँगर चल्छ ।’ समुद्र सतहदेखि ९ सयबाट सुरु हुने यो गाउँको उचाई माथिल्लो भेगमा २३ सय मिटरसम्म पर्छ ।


कृषि प्राविधिकका अनुसार यहाँ सुन्तला, आलु, अलैंची, टिमुर र बाख्रापालनको प्रचुर सम्भावना छ । युवालाई गाउँ फर्काउन यहाँका पूर्वलाहुरेले पाँच सय रोपनी जंगलमा अलैंची खेती सुरु गरेका छन् । ६ वर्षअघि सुरु गरेको अलैंचीले अहिले जंगलै ढाकेको छ । अहिले पनि गाउँको करिब ७० प्रतिशत खेतीयोग्य जमिन बाँझै छ ।


गाउँपालिकाले जितबहादुरजस्ता अगुवा किसानका लागि प्रोत्साहन गर्न प्राविधिक र ढुवानीमा सहयोग गर्ने योजना बनाएको महाशिलाका अध्यक्ष राजुप्रसाद पौडेलले बताए । ‘अब हामीले त्यस्ता किसानलाई छानेर उनैको अगुवाइमा अरूलाई व्यावसायिक बनाउने हो,’ उनले भने, ‘जितबहादुरजस्ता किसानलाई प्राविधिकदेखि ढुवानीसम्म सबै सहयोग गाउँपालिकाले गर्छ ।’

प्रकाशित : माघ ६, २०७५ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?