कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

पीडित पक्षले जाहेरी नदिँदा...

मानसिक रोगीलाई झारफुक गर्ने बहानामा निर्घात कुटपिटको भिडियो सामाजिक सञ्जालमा
पीडकविरुद्ध कारबाहीका लागि प्रहरीमा अझै जाहेरी नभएको

स्याङ्जा — मानसिक रोगी वालिङ–१४ डाँडाखर्ककी २१ वर्षीया खगीसरा कुँवरलाई उपचारका लागि झारफुक गर्ने बहानामा निर्घात कुटपिट गरिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

बडादसैंको कोजाग्रत पूर्णिमाका बेला भीरकोट नगरपालिका–५ स्वरेकको कालिका मन्दिरमा अभद्र व्यवहार गर्दै उनीमाथि कुटपिट भएको भिडियो हेरेर प्रहरीले खोजी थाल्यो । कुँवरका तर्फबाट अझैसम्म पीडकविरुद्ध कारबाहीका लागि प्रहरीमा जाहेरी परेको छैन ।


वडा प्रहरी कार्यालय वालिङका अनुसार भीरकोट–५ थालेखर्कका ६० वर्षीय रितबहादुर थापाले झारफुकका नाममा कुटपिट गरेको खुल्यो । तर, उनी अझै फरार छन् । ‘पीडित पक्षलाई हामीले बारम्बार जाहेरी दिन आग्रह गर्‍यौं, दिनुभएन,’ प्रहरी निरीक्षक शंकर आचार्यले भने, ‘घटना जानकारीमा आएलगत्तै पीडितलाई भेट्न हामी घरमा गएका थियौं । आफूखुसी नै धाँमीझाँक्री लगाएर फुक्न लगाएको बताउँदै जाहेरी दिन आउन कोही मानेनन् । अहिले दुवै पक्ष सम्पर्कमा छैनन् ।’


फेसबुकमा सार्वजनिक भएको कुटपिटको भिडियो र तस्बिर प्रहरीले सुरक्षित राखेको उनले बताए । जाहेरी नै नपरेपछि उक्त घटनामा अनुसन्धान पनि रोकिएको छ । आचार्यका अनुसार कुँवरलाई उपचारार्थ काठमाडांै लगिएको सुन्नमा आएको छ । ‘पीडित पक्ष आएर जाहेरी हालेलगत्तै अगाडिको कारबाही गर्न हामी तयार छौं,’ उनले भने, ‘तर, यतिका दिन बितिसक्यो, कोही सम्पर्कमा आउन चाहनुहुन्न । समाज पनि बोल्दैन ।’ प्रहरीले सबै प्रमाण पुर्‍याएर राखेकाले पीडित सम्पर्कमा आए मुद्दा दर्ता गरिने उनले बताए ।


प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले भने पीडित र उनका आफन्त सम्पर्कमा नआए पनि प्रमाण पुर्‍याएर प्रहरीको रिपोर्टका आधारमा मुद्दा दर्ता गरेर कारबाही अघि बढाउन सकिने बताउँछन् । ‘क्षम्य हुने घटना होइन,’ उनले भने, ‘घरपरिवार नमाने पनि धामी बनेको मान्छेलाई कारबाहीको दायरामा ल्याउनुपर्छ । यसमा हामीले पहल गरेका छौं ।’ के पहल भयो भन्ने उनले खुलाएनन् ।


‘महिलामाथि त्यस्तो घटना हुँदा पनि आजसम्म न पीडित पक्षले नै हामीलाई जानकारी गराएका छन्, न त समाज र जनप्रतिनिधिले नै,’ प्रहरी निरीक्षक आचार्यले भने, ‘पीडक भागेको आशंका छ । खोजी जारी राखेका छौं ।’ झारफुक गरे मानसिक रोग निको हुन्छ भन्दै एउटी अशक्त महिलामाथि दुव्र्यवहार गरेकाले कारबाही नभई मुद्दा टुंगोमा नपुग्ने उनले बताए । आरोपी थापा कालिका मन्दिरका पुजारी पनि हुन् । ‘युवतीलाई वनदेवी लागेको भन्दै पुजारीले नै झाँक्री बन्दै वनदेवी पन्छाउनका लागि कुटपिट गरेका रहेछन्,’ आचार्यले भने ।

प्रकाशित : माघ ६, २०७५ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?