देउपुरका सुन्तला बोटमै खोसाखोस

ढिलासम्म बोटमा राख्दा व्यवसायी घरघरै आउने र मूल्य बढी पाइने 
दिप्ती सिलवाल

देउपुर, पर्वत — बोटमा सुन्तला पहेंलिन सुरु गरेदेखि यो साता करिब दुई दर्जन व्यवसायी देउपुरका दाताराम चापागाईंको घर पुगिसकेका छन् । सबैसँग मोलमोलाइ गर्दागर्दै अन्त्यमा उनले पोखराका छत्र पुनलाई सुन्तला बेच्ने गर्ने निधो गरे । 

देउपुरका सुन्तला बोटमै खोसाखोस

सोही ठाउँकी कल्पना चापागाईंले पनि १४ रोपनी बारीको सुन्तला प्रतिकिलो ८० रुपैयाँका दरले पुनलाई नै बिक्री गरिन् । विगतका वर्षहरूमा पुसको तेस्रो सातासम्म सुन्तला बिक्री गरिसक्ने यहाँका किसानले यसपटक माघसम्म बोटमै राखे ।


ढिलासम्म बोटमा राख्दा व्यवसायी घरघरै आउने र मूल्य बढी पाइने भएपछि यहाँका सबैजसो किसानले यसपटक अलि ढिला गरेर बेचेका छन् । ‘पहिला–पहिला छिटै बेचिन्थ्यो । राम्रो भाउ पाइन्थेन,’ कल्पना चापागाईंले भनिन्, ‘माघसम्म राखे राम्रो भाउ पाइन्छ भनेपछि त्यसै गरियो । अहिले सबैले राम्रो भाउ पायौं ।’ गत वर्ष ५० देखि ६० रुपैयाँ प्रतिकिलोमा बिक्री गरेका यहाँका अधिकांश किसानले यसपटक ८० देखि सय रुपैयाँमा बिक्री भइरहेको बताए ।


बितेका वर्ष मंसिर अन्तिम सातादेखि बिक्री सुरु भएर पुसको पहिलो सातासम्म सबैका बोट निख्रिन्थ्यो । सुरु सिजनमै बेच्दा राम्रो भाउ नपाएपछि सबैको सल्लाहमा यो वर्ष एक महिना पछिसम्म सुन्तला बोटमै राखेको अगुवा किसान दातारामले बताए । ‘पोहोरसम्म सबैले मंसिरभित्रै बेचिसक्थे,’ उनले भने, ‘त्यतिबेला बेच्दा व्यवसायीले भनेकै भाउमा दिनुपथ्र्यो । अहिले हामै्र भाउमा बेच्न पाइयो ।’ बोटमा ढिलासम्म राख्दा आगामी सिजनलाई असर पर्ने भन्दै छिटै टिप्ने गरेकोमा यो वर्ष प्राविधिककै सल्लाहमा एक महिना ढिलासम्म राखेको किसानहरूले बताए ।


‘अरू धेरैतिर फागुनसम्म पनि बोटमै राख्दारहेछन्,’ किसान बाबुराम शर्माले भने, ‘हामीले पनि प्राविधिकसँग सल्लाह गरेरै अहिले ढिलासम्म राखेका हौं ।’ मंसिरमै बिक्री गर्दा गतवर्ष ६० रुपैयाँमा बिक्री गरेका किसानहरू यो पटक किलोमै २० देखि ४० रुपैयाँ मूल्य बढी पारेकोमा सन्तुष्ट छन् ।


अझ गाउँमै शीत भण्डार भइदिए यहाँको सुन्तला फागुनपछि मात्रै बजार पठाउन सकिने अर्का किसान भूमिराज शर्मा बताउँछन् । ‘घरेलु प्रविधिकै भए पनि चिस्यानकेन्द्र भए एक महिना ढिला निकाल्न सकिन्थ्यो,’ उनले भने, ‘त्यस्तो व्यवस्था एक्लैले गर्न सकिंँदैन । सम्बन्धित निकायले ध्यान दिए हुन्थ्यो ।’ उचित स्याहार, पारिलो जग्गा र उत्तरपूर्वी मोहडामा फैलिएको हुनाले देउपुरमा सुन्तला राम्रो उत्पादन हुन्छ ।


पातलो र झाङ्गिएका बोट भएकोले यहाँ थोरै बोट हुनेले पनि राम्रो आम्दानी गर्छन् । ‘एउटै बोटबाट २२ हजार पारेंं,’ दातारामले भने, ‘फल पातलो भए पनि भाउ राम्रो पाएकाले पोहोरभन्दा राम्रै पैसा पर्‍यो ।’ देउपुरका करिब ५ दर्जन किसानले मुख्य बालीका रूपमा सुन्तला नै लगाएका छन् । उत्तरपूर्वी मोहडामा फैलिएको ९ सयदेखि १५ सय मिटर उचाइमा फैलिएको यहाँको जमिन सुन्तला खेतीका लागि उपयुक्त छ ।


करिब डेढ दशकदेखि सुन्तलाको व्यावसायिक उत्पादन सुरु गरेका उनीहरूले गाउँमै सडक पुगेपछि बल्ल उचित मूल्य पाउन थालेका हुन् । पातीचौरदेखि मैदानसम्म सडक खुलेयता घरघरै व्यवसायी पुगेर सुन्तला खरिद गर्न थालेका हुन् । चालु वर्ष नै मैदानसम्मको सडक कालोपत्रेको काम सकिने भएकाले किसानहरू थप उत्साहित छन् । ‘सडक कालोपत्रे भएपछि सुन्तलाको क्षेत्र विस्तार गर्ने योजनामा छौं,’ मोदी–२ का वडाध्यक्ष विकास तिमिल्सिनाले भने, ‘सिँचाइको सुविधा सहज भए सुन्तला लगाउन क्षेत्रफल धेरै छ ।’


सुन्तला खेती विस्तार र बिक्रीमा सहजताका लागि देउपुरका ५ दर्जन किसानले माछापुच्छ्रे सुन्तला उत्पादक कृषि सहकारी स्थापना गरेका छन् । अहिले सहकारीमा सदस्यहरूको संख्या ७२ पुगेको छ । उनीहरू सबै व्यावसायिक रूपमै सुन्तला फलाउने किसान हुन् । सहकारीमा आबद्ध हुन कम्तीमा ५० बोट सुन्तला हुनुपर्छ ।

प्रकाशित : माघ ६, २०७५ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?