कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फोहोर व्यवस्थापनमा ढिलाइ

बागलुङ — फोहोरको स्थायी व्यवस्थापन गर्ने र बजार क्षेत्रलाई सफा राख्ने बागलुङ नगरपालिकाको योजना अलपत्र छ । नगरपालिका घोषणा भएयतादेखि नै सदरमुकाम बागलुङले राजमार्ग छेउबाट फोहोर कालीगण्डकी नदीमा फाल्दै आएको थियो ।

फोहोर व्यवस्थापनमा ढिलाइ

ठाउँ सारे पनि दिगो व्यवस्थापनको योजना अझै कार्यान्वयन भइसकेको छैन । कालीगण्डकीमा फाल्न छाडेर हाल १ नम्बर वडाको काठेखोला छेउमा फाल्न थालिएको छ । व्यवस्थित ल्यान्डफिल साइट बनाउने योजना अलपत्रसँगै कालीगण्डकी करिडोरमा प्रदूषण बढेको छ ।

अस्थायी रूपमा सञ्चालित ल्यान्डफिलमा ५ वर्षदेखि फोहोर फाल्ने काम भइरहेको हो । संघीय मामिला मन्त्रालयको फोहोर व्यवस्थापन तथा प्राविधिक सहयोग केन्द्रले रकम उपलब्ध गराएपछि बनाउने भनिएको ल्यान्डफिलका लागि बजेट नआएकाले योजना अलपत्र परेको नगरपालिकाका योजना अनुगमन तथा प्रशासकीय अधिकृत युक्तप्रसाद सुवेदीले बताए ।

आगामी आर्थिक वर्षदेखि बागलुङ नगरपालिकाभित्रै विश्व बैंकको सहयोगमा सहरी शासकीय क्षमता विकास कार्यक्रम सुरु हुँदैछ । उक्त कार्यक्रममार्फत ल्यान्डफिल साइट बनाउने काम प्राथमिकतामा राखिने प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुँवरले बताए । हाल नगरपालिकाको फोहोर स्थानीय सहकारीले संकलन गरेर फाल्ने गरेको छ ।

यसअघिको आधुनिक पद्धतिद्वारा फोहोरमैला व्यवस्थापन गर्न वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र फोहोरमैला व्यवस्थापन विभागको सहकार्यमा बायोग्यास उत्पादन प्रणालीयुक्त प्लान्ट निर्माण कार्यान्वयन गर्ने भनिएको योजना भने अलपत्र परेको हो ।

डिजाइनअनुसारको काम भएमा ११ रोपनी जमिनमा व्यवस्थित ल्यान्डफिल बन्ने थियो । धौलागिरी फोहोर व्यवस्थापन तथा सरसफाइ सहकारीले बजार क्षेत्रमा मासिक ५० रुपैयाँदेखि ४ सय रुपैयाँसम्म शुल्क लिने गरेको छ । फोहोर फालेपछि आगो लगाउने गरिएकाले पटक–पटक बागलुङ कालिका भगवती मन्दिर आसपासको जंगलमा आगलागीको जोखिमसमेत बढेको छ ।

‘दैनिक मन्दिर परिसरमा धूवाँको मुस्लोले सताउँछ’ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजु खडकाले भने, ‘धार्मिक स्थलमा आएका भक्तजन धूवाँले अस्तव्यस्त हुन्छन् ।’ आगलागीले यहाँको वनमा लाखौंको क्षतिसमेत हुने गरेको छ । समयमा फोहोर नउठाउने र नाली सफाइ नगर्दा बढेको फोहोरले नगरक्षेत्र प्रदूषित भइरहेको छ । पटक–पटक नगरपालिकामा गुनासो गर्दा पनि सफाइ अभियानमा चासो नभएको भन्दै टोलवासीले विरोध गर्दै आएका छन् ।

बजार सफाइमा बालबालिका

बजार क्षेत्रमा बढेको फोहोरमैला सफाइका लागि यहाँका बालबालिकाले अगुवाइ गरेका छन् । सदरमुकाम स्थित दुईवटा विद्यालयमा पढ्ने बालबालिकाले सफाइ अभियान थालेपछि उनीहरूकै साथमा कलेजका विद्यार्थी र अन्य संस्थाले पनि साथ दिएका हुन् ।

चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलमा पढ्ने ज्योति थापा, सुमी कार्की र सुप्रिम कार्की तथा रुद्रेपीपल माविमा अध्ययन गर्ने ज्वाला थापाले संयुक्त रूपमा बजार सफाइको अभियान थालेका हुन् । उनीहरूले बजारमा आाफंै निस्केर नाली र सडकको फोहोर उठाउने काम गरिरहेका छन् ।

साथै उनीहरूले कालिका खानेपानी कम्पनीका प्रोपाइटरसँगको सहकार्य गरेर पुराना जारलाई फोहोर फाल्ने साधन बनाएरका छन् । उनीहरूले टोल–टोलमा त्यस्ता भाँडा राखेर फोहोर संकलन गर्ने व्यवस्था मिलाएका हुन् । अहिलेसम्म उनीहरूले १ सयभन्दा बढी फोहोर फाल्ने भाँडाको रूपमा जारलाई काटेर प्रयोग गरेका छन् ।

धौलागिरि फोहोर व्यवस्थापन सहकारी संस्था तथा नेपाल विद्यार्थी संघ धौलागिरि बहुमुखी क्याम्पस इकाइका सदस्यहरूले पनि उनीहरूको अभियानलाई साथ दिएका छन् । विद्यालयमा पढ्ने क्रममा उनीहरूले सामूहिक छलफल गरेर यो अवधारणा ल्याएको बताए ।

घरभित्रको सरसफाइको क्रममा एक–दुईवटा जारलाई प्रयोग गरेपछि सबैको सहयोग पाएर टोलटोलमा सफाइ अभियान चलाउन लागेको ज्योति थापाले बताइन् । ‘भाइ–बहिनीको अभियान देखेर हामी पनि प्रभावित भयौं, त्यसैले उनीहरूलाई सहयोग गरेर हामी पनि सफाइ अभियानमा हिँडेका हौं’ नेविसंघकी सदस्य सीता सापकोटाले भनिन्, ‘अब सिंगो बागलुङ सफाइ अभियानमा हामी पनि होमिने भएका छौं ।’

प्रकाशित : माघ ७, २०७५ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?