कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

मोदीमा मध्यपहाडीको वैकल्पिक मार्ग

मोदी–२ देउपुरको पातीचौरदेखि राहाले–टापु–गौंडा हुँदै बेतेनीसम्मको करिब ५ किलोमिटर सडकको वैकल्पिक ट्रयाक निर्माण 
दिप्ती सिलवाल

पर्वत — मध्यपहाडी लोकमार्गअन्तर्गतको पर्वत खण्ड चौडा पार्ने काम तीब्र गतिमा भइरहेको छ । पर्वतलगायत धौलागिरिका सबै जिल्लाबाट गण्डकी प्रदेश राजधानीलगायत मुलुकका सबैजसो जिल्ला पुग्ने मुख्य राजमार्ग दैनिक ६ घण्टा बन्द हुँदा हजारौं यात्रुले दैनिक समस्या भोगिरहेका छन् ।

मोदीमा मध्यपहाडीको वैकल्पिक मार्ग

यात्रुले बिहान १० देखि बेलुका ४ बजेसम्म बसमै कुर्नुपर्ने या त १० बजे अगावै र ४ बजेपछि गन्तव्यमा पुग्नुपर्ने बाध्यताकै कारण टाढा–टाढा जानुपर्ने यात्रीलाई समस्या छ । सडक बन्द हुनुअगावै गन्तव्यमा पुग्नैपर्ने कारण गत बिहीबार तीव्र गतिमा गुडेको बस दुर्घटना हुँदा ७ जना यात्रीले ज्यान गुमाए । प्रहरीका अनुसार सडकमा आवागमन बन्द हुनुअगावै पर्वतको बेतेनी कट्नेगरी तीव्र गतिमा गुडेको बस सडकबाट करिब ६० मिटर तल कालीगण्डकीमा खसेको थियो । घटनामा ३३ यात्रु घाइते भएका थिए ।


यी सबै समस्याको समाधानका लागि मोदी गाउँपालिकाले घण्टौं जाम हुने मध्यपहाडी लोकमार्गको वैकल्पिक मार्ग निर्माण गरिसकेको छ । मोदी–२ देउपुरको पातीचौरदेखि राहाले–टापु–गौंडा हुँदै बेतेनीसम्मको करिब ५ किलोमिटर सडकको वैकल्पिक ट्रयाक निर्माण गरेको हो । मोदी–२ देउपुरका वडाध्यक्ष विकास तिमिल्सिनाका अनुसार लोकमार्गको डिमुवामा पहरो फोर्ने काम भइरहेकाले अहिले धेरै समय यात्रु बाटोमै अलपत्र परेका छन् ।


यात्रुलाई सहज यात्रा गर्नेगरी नयाँ ट्रयाक खोल्न गाउँपालिकालाई वडाले आग्रह गरेको हो । ‘हामीसँग मर्मतको केही पैसा थियो,’ वडाध्यक्ष तिमिल्सिनाले भने, ‘धेरैतिरबाट वैकल्पिक सडकको माग भएपछि त्यसमै लगानी गर्‍यौं ।’ करिब साढे दुई किलोमिटर सडकको पुरानो ट्रयाक मर्मत र नयाँ ट्रयाकमा समेत गरी नौ लाख रुपैयाँ खर्च भएको निर्माण समितिका अध्यक्ष रघुनाथ चापागाईंले बताए ।


वैकल्पिक सडक पातीचौरदेखि राहालेसम्म करिब साढे २ किलोमिटर पुरानै सडक छ । यो सडक देउपुरकै मैदानसम्म कालोपत्रे हुँदै छ । राहालेबाट उत्तरतर्फ मोडिएर करिब साढे दुई किलोमिटरमा बेतेनी पुग्न सकिन्छ । यो सडक प्रयोग गर्दा यात्रुले मध्यपहाडी लोकमार्गमा हुने घण्टौंको जाम सामना गर्नुपर्दैन । मोदीका स्थानीयवासीका अनुसार कुश्मातर्फबाट जाने सवारीसाधन यो बाटो हुँदै जाँदा लाग्ने समय र लोकमार्गमा लाग्नेभन्दा कम समयमै पुगिन्छ ।


पोखरातर्फबाट आउने सवारीहरूले भने धौलागिरि गेटबाट सिमखेत–मख–लैंच–गौंडा हुँदै पातीचौर पुग्ने अर्को सडक छ । दुवै सडक उपयोग गर्दा कुनै समय सवारी रोक्नुपर्ने अवस्था नरहेको वडाध्यक्ष तिमिल्सिनाले दाबी गरे ।


‘करिब २० लाख बजेट हुने हो भने दुवै सडकमा बाहै महिना बस चल्नसक्ने बनाउन सकिन्छ,’ उनले भने, ‘त्यसका लागि मध्यपहाडी आयोजना र प्रदेश सरकारले ध्यान दिनुपर्‍यो ।’ यसबारे पर्वतका प्रमुख जिल्ला अधिकारी, मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय र प्रदेश सरकारमा समेत जानकारी गराइएको उनले बताए ।


लोकमार्गको डिमुवादेखि बेतेनीसम्म वर्षात्का बेला पहिरो खसिरहने समस्या भएकाले अरू समयका लागिसमेत यो मार्ग सहज गन्तव्य बन्ने जानकारहरू बताउँछन् । ‘डिमुवादेखि बेतेनीसम्म पहरोबाट जतिबेला पनि ढुङ्गा र पहिरो खस्ने समस्या छ,’ स्थानीय गुरुदत्त चापागाईंले भने, ‘यो बाटो सहज भए बाढीपहिरोमा कुनैबेला रोकिनुपर्दैन ।’ मोदीका अध्यक्ष प्रेम पौडेलले वैकल्पिक मार्ग स्तरोन्नतिका लागि गाउँपालिकाले पनि सम्बन्धित क्षेत्रमा पहल गरिरहेको बताए ।


संविधानसभा सदस्य एवं पुर्वसांसद कल्पना चापागाईंले २ वर्षअघि नै यो सडकलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सकिने भन्दै केही नयाँ ट्रयाक खोल्न पहल थालेकी थिइन् । चापागाईंका अनुसार बाह्रै महिना जोखिम मोल्दै यात्रा गर्नेहरूका लागि देउपुरको सडक सुरक्षित गन्तव्य हो । ‘गौंडासम्म केही महिनामै पिच हुन्छ,’ चापागाईंले भनिन्, ‘टापुको बाटो उपयोग गर्दा यात्रुले सुरक्षित यात्रा गर्न सहज हुन्छ ।’

प्रकाशित : माघ ७, २०७५ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?