कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पदमार्गका पर्यटकको अभिलेखीकरण

‘पर्यटन विकासको प्रचुर सम्भावना रहेको धौलागिरिका दर्जन पदमार्गमा वार्षिक कति पर्यटक आउँछन् भन्ने अभिलेख नहुँदा पर्यटन पूर्वाधार विकास र पर्यटन सुरक्षा योजना बनाउन समस्या छ’
घनश्याम खड्का

म्याग्दी — जिल्लाको दुर्गम धौलागिरि गाउँपालिकाले पर्यटकीय गन्तव्य र संस्कृति बुझ्न मिल्ने तस्बिरसमेत त्यहाँ आउने पर्यटकको अभिलेख राख्ने भएको छ । 

धौलागिरि आरोहण, फन्को लगाउने, हिडन भिलेज ट्रेल, गुर्जा एवं पृथा हिमाल ट्रेल, गुरिल्ला ट्रेल, ढोरपाटन सिकार आरक्ष तथा उपल्लो डोल्पो ट्रेलको प्रवेशद्वार रहेको धौलागिरि गाउँपालिकाले पुराना र नयाँ पदमार्गको सम्पूर्ण विवरणसहित त्यस क्षेत्रमा जाने पर्यटकको अभिलेख राख्न लागेको हो । यी पदमार्गमा आउजाउ गर्ने पर्यटकको अभिलेख नहुँदा विपद्मा खोज तथा उद्धार गर्न समस्या हुने गरेको छ ।


हिडन भिलेज ट्रेल, गुर्जा एवं पृथा हिमाल ट्रेल, गुरिल्ला ट्रेल, ढोरपाटन सिकार आरक्ष, सिस्ने–जलजला सेन्चुरी ट्रेल तथा उपल्लो डोल्पो ट्रेलमा जाने पर्यटकको धौलागिरि गापा–२ लम्सुङमा र धौलागिरि हिमाल क्षेत्रमा जाने पर्यटकको अभिलेख धौलागिरि–४ मुदीको जेल्टुङमा राखिने भएको हो । गाउँपालिकाले आन्तरिक स्रोत जुटाउन पनि यस क्षेत्रमा आउने पर्यटकको अभिलेख राख्न जरुरी रहेको जनाएको छ ।


‘पर्यटन विकासको प्रचुर सम्भावना रहेको धौलागिरिका दर्जन पदमार्गमा वार्षिक कति पर्यटक आउँछन् भन्ने अभिलेख नहुँदा पर्यटन पूर्वाधार विकास र पर्यटन सुरक्षा योजना बनाउन समस्या छ,’ गाउँपालिका अध्यक्ष थमसरा पुनले भनिन्, ‘पर्यटन सूचना केन्द्रले पर्यटक र पर्यटन व्यवसायीलाई यहाँका थप गन्तव्य, संस्कृतिको सही जानकारी हुने अर्को पर्यटकलाई अप्ठ्यारो पर्दा तत्काल उद्धार गर्न सजिलो हुनेछ ।’


जिल्लाको करिब आधा भूगोल ओगटेको धौलागिरि गाउँपालिकाको अधिकांश क्षेत्रमा मोटरबाटो, केन्द्रीय प्रसारणको बिजुली र टेलिफोनसमेत पुगेको छैन । सञ्चार सुविधासँगै विकासे पूर्वाधारसमेत नभएकाले पर्यटक यसलाई ‘भर्जिन रुट’ मान्छन् । तामा, कप्रक र क्वार्जजस्ता बहुमूल्य धातुका प्रशस्त खानी रहेको धौलागिरि क्षेत्र पर्याप्त जडीबुटी पाइने गन्तव्य पनि हो ।


पर्यटनको ‘ट्रेल हब’ बन्दै म्याग्दी

धार्मिक पर्यटक, साहसिक पदयात्रा, जलयात्रा, मेडिसिन, कृषि, सिकार (हन्टिङ), पर्यापर्यटन तथाहिमाल आरोहणका लागि म्याग्दी ‘ट्रेल हब’ले परिचित छ । ढोरपाटन सिकार आरक्षमा वन्यजन्तु र गुर्जा, मुदी, कुइने, चिमखोला क्षेत्रमाहनी हन्टिङ ट्रेल परिचित छन् ।


जिल्लामा विश्व प्रसिद्ध अन्नपूर्ण चक्रिय पदमार्गबाहेक गुर्जा, पुथा र चुरेन हिमाल बेसक्याम्प हुँदै डोल्पा निक्लने यार्सागुम्बु ट्रेल, जिल्लाको सबैभन्दा परको लुकेको बस्ती गुर्जा (हिडन भिलेज) हुँदै रुकुम निक्लने गुर्जा ट्रेल, माओवादीले सशस्त्र विद्रोहकालमा रुकुम हुँदै बेनी आक्रमण गर्दा प्रयोग गरेको बेनी–ताकम–जलजला–रुकुमको मैकोट हुँदै रोल्पाको थबाङ जोड्ने गुरिल्ला ट्रेलको नक्सा बनेका छन् ।


त्यसैगरी म्याग्दीखोला करिडोरबाट गरिने राउन्ड धौलागिरि तथा धौलागिरि प्रथम, दोस्रोदेखि छैटौंसम्मका हिमाल आरोहण, बेनीबाट रहुगंगा करिडोरबाट गरिने धौलागिरि सेन्चुरी र धौलागिरि आइसफल हुँदै मुस्ताङको टुक्चे निक्लने आइसफल ट्रेलको पहिचान गरी पदमार्ग निर्माण, म्याप निर्माणपछि पर्यटक जान थालेका छन् ।


‘हामीले विश्वलाई देखाउन र बेच्न नसकेका दर्जनौं गन्तव्य छन् । तर, हाम्रो ढंग नपुग्दा व्यावसायीकरण गर्न सकेका छैनौं,’ अन्नपूर्ण–धौलागिरि इकाले पदमार्ग व्यवस्थापन समितिका प्रमुख चित्र तिलिजाले भने, ‘स्थानीय सरकारले अब आ–आफ्ना क्षेत्रका पर्यटकीय गन्तव्य र क्षेत्रको पहिचान गरी पूर्वाधार बनाउन लाग्नुपर्छ ।’


संसारको सर्वाधिक गहिरो अन्धगल्छीको नारच्याङ हुँदै अन्नपूर्णको पश्चिम फेदी र नीलगिरिको पूर्वी फेदी जोडिएको संयुक्त बेस क्याम्प तथा अन्नपूर्ण आरोहणमा पर्यटक जाने गरेका छन् । अन्नपूर्ण हिमाल आरोहणको सुरु यही बेस क्याम्पबाट भएको हो । अहिले पनि यही मोहोडाबाट मात्र अन्नपूर्ण आरोहण गर्ने गरिएको छ ।


नेपालका नमुना पदमार्गको रूपमा परिचित नागी–महरे–खोप्रा सामुदायिक पर्यापदमार्ग, खोप्रो–खयर मनसुन मार्ग पनि उत्तिकै चलेको पर्यटकीय ट्रेल हो । कालीगण्डकी तथा म्याग्दी नदीमा जलयात्राको रूपमा कायकिङ र र्‍याफ्टिङ गर्ने गरिएको छ । मुक्तिनाथ तथा दामोदर कुण्ड जाने प्रवेशद्वारको रूपमा रहेको म्याग्दीमा धार्मिक पर्यटनको पनि उत्तिकै राम्रो सम्भावना छ ।


प्रसिद्ध गलेश्वरधाम कालीगण्डकी नदी तटको मुख्य तीर्थस्थलको रूपमा प्रसिद्ध छ । हिन्दु प्रमुख धार्मिक ग्रन्थ रामायणका चर्चित पात्र रावणको बाल्यकाल बेनीदेखि केही माथि पुलहाश्रम क्षेत्रमा रावण पार्क निर्माण हुन थालेको छ । त्यसैगरी मालिका, रिखार, नागी वराह, खयरवराह जस्ता धार्मिक क्षेत्र पनि उत्तिकै चर्चित छन् ।


प्राचीन ‘रेशमी मार्ग’ र ‘साल्ट ट्रेड रुट’ को रूपमा परिचित बेनी र कालीगण्डकी करिडोरको साखलाई कोरला नाकासँग जोड्ने र चिनियाँ पर्यटकलाई यो बाटो पनि ल्याउन पहल गरिने भएको छ ।

प्रकाशित : माघ ८, २०७५ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?