१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

विदेशबाट फर्केर बेकरी

लेखनाथ — सिक्लेसको धप्राङथरमा रहेको प्रेमनर बेकरी एन्ड रेस्टुरेन्टमा हिजोआज बिहानदेखि बेलुकासम्म भीड लाग्छ । आइसक्रिम, केक, पाउरोटी, दुनोट र क्रिमरोल बनाउन ३० वर्षीय चौराज गुरुङलाई भ्याइनभ्याइ हुन्छ । 

विदेशबाट फर्केर बेकरी

करिब ४ सय घर र १७ सय जनसंख्या भएको सिक्लेसमा उनको बेकरी एक्लो हो । ९ लाख रुपैयाँ लगानी गरेर गत भदौदेखि सञ्चालनमा आएको बेकरीले छोटो समयै लोकप्रियता पाएको छ ।


गाउँकै घरलाई मर्मतसम्भार गरी बेकरी बनाएका छन् । माग धान्न नसकेपछि सिक्लेसकै सभाथरमा पनि अर्को पसल खोलेका छन् । तीन लाख रुपैयाँ लगानी गरेर सभाथरको पुरानो घरमा पसल राखेका छन् । धप्राङथरको बेकरी उनी, श्रीमती पुनम र दाजु देवराजले सम्हाल्छन् । सभाथरमा दिदी जितकुमारीले हेर्छिन् ।


साढे आठ वर्ष दुबई बसेपछि कास्कीको सिक्लेसका चौराजले सोचे, ‘अब गाउँ फर्किनुपर्छ ।’ सुरुका केही वर्ष भाँडा माँझेर बिताएपछि उनी वेटर भएका थिए । वेटरबाट बढुवा भएर कुक बने । कुकको मात्रै सीप लिएर गाउँ फर्कदा फेरि विदेश नै हान्निन बाध्यता पर्ने भय छँदै थियो । आन्तरिक र विदेशी पर्यटकले भरिभराउ हुन थालेको सिक्लेसमा बेकरी पसल नभएको थाहा पाए ।


कामबाटै फुर्सद निकालेर दुबईमा दुई महिना बेकरी तालिम लिए । विदेशको बसाइँ चटक्कै छाडेर उनी गाउँ फर्किए । बेकरी खोले ।

गाउँमा कसैको जन्मदिन आए ‘बर्थ डे केक’ ले पोखराबाट ४२ किलोमिटर यात्रा गर्नुपथ्र्यो । गाउँसम्म केक पुग्दा कुनै सद्दे हुन्थेनन् । अहिले चौराजको बेकरीबाट महिनामा ४०/५० वटा केकमात्रै बिक्री हुन्छ । अर्डर गरेपछि उनले केक घरसम्मै पुर्‍याइदिन्छन् ।


सिक्लेसमा ६ होटल छन् । २० होमस्टे खुलेका छन् । दुई होटलले उनैकोबाट पाउरोटी लैजान्छन् । कपुचे हिमताल, सिक्लेस–घलेखर्क ट्रेक ओहोरदोहोर गर्ने विदेशी पर्यटक उनका ग्राहक हुन् । ‘यहाँ बजारको समस्या छैन,’ उनी भन्छन्, ‘बनाउन सक्नेजति बिकिरहेकै छ ।’ विदेश हुँदा उनको तलब ४० हजार रुपैयाँ मात्रै थियो । अहिले उनी बेकरीबाट मासिक ५० हजार रुपैयाँ बचत गर्छन् । सात जनाको परिवार बेकरीकै कमाइबाट पालिएको छ । भन्छन्, ‘गाउँमै बसेर विदेशको तलबभन्दा धेरै बचत गर्न सक्नु नै खुसीको कुरा हो ।’ सहरमा प्रतिष्पर्धा धेरै हुने र लगानी पनि धेरै चाहिने भएकाले गाउँमै व्यवसाय गरेको उनले सुनाए ।


दुबईबाट फर्किने बेलामै उनले बेकरीलाई चाहिने स–साना सामान ल्याएका थिए । बेकिङ मेसिन पोखरामै खरिद गरे । उनका अनुसार पसललाई चाहिने दूध घरमै उत्पादन हुन्छ । दुधका लागि भैंसी पालेका छन् । मैदा, अण्डा, आइसक्रिम फ्लेभर पोखराबाट ल्याउनुपर्छ । अण्डामा आत्मनिर्भर हुन उनले ५० वटा लेयर्स कुखुरा पालेका छन् । तीन महिनापछि लेयर्सले अण्डा दिन थालेपछि आत्मनिर्भर हुने उनी बताउँछन् । ‘गाउँलेले कुखुरा पालेर अण्डा उत्पादन गरे बाहिरबाट ल्याउनुपर्ने थिएन,’ उनी भन्छन्, ‘उत्पादनसँग जोडिने कुनै योजना भएन ।’ बेकरी खुलेपछि केही स्थानीयले चासो राखे तर, काम सिक्न कसैले रुची देखाएनन् । ‘बरु विदेश नै जान खोज्छन्, यहाँ काम सिक्दैनन्,’ उनले भने ।


उनले भोगेको समस्या हो, तापक्रम । जाडो महिनामा अत्यधिक चिसो हुने भएकाले बेकिङ बेकरीमा तापक्रम मिलाउन समस्या पर्छ । पिठो जाडोमा नफुल्ने र गर्मीमा बढी फुल्ने हुन्छ । अर्को समस्या हो, स्थानीयलाई विदेशी परिकारबारे बुझाउन नसक्नु । एप्पलपाइ र चकलेट फ्रुट केकजस्ता बेकरी उत्पादन गाउँमा बिक्न गाह्रो हुन्छ । केही महँगो भए पनि तिनको महत्त्व स्थानीयले बुझ्दै जानेमा उनी ढुक्क छन् । हिउँदमा पोखराबाट कच्चापदार्थ ल्याउन सहज भए पनि बर्खामा गाह्रो हुन्छ । बर्खामा सिक्लेस पुग्ने बाटोमा पर्ने खोला बढ्दा जिप र बस वारपार गर्न सक्दैनन् ।


बेकरीसँगै खाली जमिनमा होमस्टे खोल्ने उनको योजना छ । उनले सिक्लेसमा मासु र अण्डा बाहिरबाट ल्याउनुपर्ने अवस्था देखेका छन् । मासु र अण्डामा गाउँलाई आत्मनिर्भर बनाउन व्यावसायिक कुखुरापालन गर्ने तयारी गरेका छन् । रेस्टुरेन्टलाई चाहिने तरकारी आफैं फलाउने योजनामा छन् । ‘गाउँमै बस्न रुचाउने बानीले मलाई सिक्लेस फर्कायो,’ उनी भन्छन्, ‘सकेसम्म आफ्नै गाउँको विकास गर्ने हो ।’

प्रकाशित : माघ ९, २०७५ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?