अनलाइन प्रणालीले थप झन्झट

दैनिक ५० देखि ६० जना सेवाग्राहीलाई सेवा दिँदै आएको मालपोतमा अनलाइन प्रणाली सुरु भएपछि भोलिपल्ट सार्न थालियो 

पर्वत — मालपोतमा अनलाइन प्रणाली लागू भएपछि काम छिटो छरितो हुनपर्नेमा झनै झन्झटिलो बनेको छ । दैनिक ५० देखि ६० जना सेवाग्राहीलाई सेवा दिँदै आएकोमा मालपोत कर्मचारीले भोलिपल्टलाई सार्न थालेका छन् । 

मालपोतमा आउने सेवाग्राहीका स्रेस्ताको अभिलेख राख्न, देशभरका कार्यालयको कारोबार देखाउन र घरजग्गाको रेकर्ड सहज बनाउने उद्देश्यले गत वर्षदेखि अनलाइन प्रणालीबाट काम सुरु भएको हो ।


अनलाइन प्रणालीबाट काम सुरु हुँदा कम्प्यूटर र पुराना कागजी प्रणालीमा समेत कारोबारको हिसाब राख्नुपर्ने अवस्था छ । दोहोरो कार्यबोझ हुँदा मालपोतमा दक्ष जनशक्ति थप हुनुपर्ने हो । पुराना कर्मचारी कार्यरत पर्वत मालपोतमा भएका कर्मचारीसमेत कटौती हुँदा सेवाग्राही थप समस्या भोग्न बाध्य छन् । अनलाइन विधि सुरु हुनुअघि मालपोतमा २२ जना कर्मचारी थिए ।


जिल्लाका अधिकांश कार्यालय खारेज हुने र स्थानीय तहमा विषयगत कार्यालय थपिएसँगै मालपोतका कर्मचारीलाई पनि स्थानीय तहमा पठाइयो । अहिले मालपोतमा ८ जना मात्रै कर्मचारी छन् । ‘पहिला कर्मचारी थोरै थियौं । एकोहोरो काम थियो,’ कम्प्यूटर अपरेटर उमेश सापकोटाले भने, ‘अहिले कार्यबोझ दोहोरो थपियो । जनशक्ति स्वाट्टै घट्यो ।’ दैनिक ५० देखि ६० जनासम्म सेवाग्राही आउने मालपोतमा केही महिनायता कर्मचारीले काम गर्नै नसक्ने अवस्था आएपछि धेरै समय लाग्ने काम भोलिपल्ट सार्ने गरिएको उनले बताए ।


मालपोतमा काम लिएर आउने सेवाग्राही पनि धेरै समय लाग्ने र झन्झटिलो कार्यशैलीका कारण स–सानो कामका लागि पनि दुई–तीन दिन लाग्ने गरेको गुनासो गरेका छन् । ‘दाजुभाइको अंशबन्डा गर्नुपर्ने थियो,’ मंगलबार दिउँसो मालपोत कार्यालयमा भेटिएका नन्दलाल लामिछानेले भने, ‘तीन दिन भयो । अझै सकिएको छैन ।’


नापी र मालपोत कार्यालयमा दोहोरो झन्झट हुँदा काममा ढिलासुस्ती भएको उनले गुनासो गरे । मालपोतमै भेटिएकी जलजला–५ लेकफाँटकी जमुना दमाईले टाढाबाट आउनेलाई प्राथमिकता हुनुपर्नेमा त्यस्तो नभएको प्रतिक्रिया दिइन् । ‘काममा ढिलासुस्ती हुनु भएन,’ उनले भनिन्, ‘हामी टाढाको मान्छे । अलि पहिला पालो दिए हुन्थ्यो । त्यो सुविधा छैन ।’


मालपोतमा भएको रेकर्डअनुसार २०३८ सालको नापीकै आधारका स्रेस्ता विवरण उल्लेख छ । तत्कालीन गाविस र वडाको सिमानाका आधारका विवरण अब नयाँ संरचनाअनुसार छुट्याउन आवश्यक छ । विगतका गाविस र वडा अहिले स्थानीय तहका नयाँ संरचनामा गएको भए पनि स्थानीय तहमा छुट्टिएका नयाँ सिमाना र स्थानीय तहका नाम नयाँ जग्गाधनीले पाउँदैनन् ।


नयाँ पुर्जा वितरण गर्दा मालपोतले नयाँ प्रविधि अनुसार प्रिन्ट गरिएका जग्गाधनी पुर्जा वितरण गर्दै आएको छ । तर, कम्प्यूटरमा व्यस्त मालपोतका कम्प्युटर अपरेटर सापकोटाले लालपुर्जाका हरेक कोलममा साबिककै गाविस र पुरानै वडामा फेरबदल गर्न नमिल्ने बताए । पुर्जामा मात्रै होइन मालपोतबाट जारी हुने हरेक कागजातमा नयाँ संरचनाका नाम उल्लेख भएकै छैनन् ।


नापीबाट ल्याइएका ब्लु प्रिन्ट (चार किल्ला छुट्टयाइएको जग्गाको नक्सा) समेतमा पुरानै सिमाना कायम हुँदा मालपोतमा नयाँ ठेगाना दिन समस्या भएको उनले बताए । मालपोतमा पछिल्लो समय लेखापढी व्यवसायी र कर्मचारीबाट झन्झट भने नभएकोमा सेवाग्राही भने खुसी देखिए । ‘पहिला मालपोतमा पैसाको लेनदेन पनि हुन्छ भन्ने सुनिन्थ्यो,’ सेवाग्राही देवेन्द्र नेपालीले भने, ‘अहिले हामीजस्ता गरिबका लागि नि:शुल्क लेखापढीसमेत हुँदोरहेछ ।’

प्रकाशित : माघ १०, २०७५ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?