प्रयोगमा आएन रेडियो सञ्चालन ऐन

बागलुङ र जैमिनी नगरपालिकाको नगरसभाले पारित गरेको ऐन वर्ष दिनदेखि दराजमै थन्किए
स्थानीय तहलाई एक सय वाट क्षमताको रेडियो स्थापना र सञ्चालन गराउने अधिकार

बागलुङ — स्थानीय तहले एक वर्षअघि जारी गरेका रेडियो एफएम सञ्चालन ऐन प्रभावहीन भएका छन् । बागलुङ नगरपालिका र जैमिनी नगरपालिकाको दोस्रो नगरसभाले पारित गरेको ऐन वर्ष दिन बिते पनि दराजमा थन्केको कार्यपालिका सदस्यले बताए ।

स्थानीय तहले ल्याउन पाउने भन्ने प्रावधान भए पनि उक्त ऐन कार्यान्वयनमा आउने कम सम्भावना भएको नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिषले बताए ।


हाल बागलुङ नगरपालिकामा तीनवटा एफएम रेडियो सञ्चालनमा छन् । सञ्चालित सबै पाँच सय वाट क्षमताका छन् । जैमिनीमा एउटा रेडियो सञ्चालनमा छ । उक्त रेडियो ऐनअगाडि नै दर्ता भएर सञ्चालनमा छ । ढोरपाटन नगरपालिकामा तीनवटा रेडियो सञ्चालनमा छन् ।


ऐन आएपछि कुनै पनि दर्ता भएका छैनन् । ‘भएका रेडियोसमेत मर्ज गर्ने अवस्थामा पुगेका छन्, नयाँ दर्ता तत्काल नहोला,’ सञ्चारकर्मी रामनारायण शर्माले भने, ‘कोही आउन सक्छ भनेर ऐन ल्याएको हुन सक्छ ।’ आवश्यकता र स्थानीय तहले ल्याउन पाउने सबै प्रकारका ऐन ल्याएर तयारी राख्ने योजनाअनुसार ऐन आएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए ।


हालसम्म रेडियो दर्ता नै नभएका निसीखोला, तमानखोला, काठेखोला र ताराखोला गाउँपालिकाले भने अहिलेसम्म एफएम रेडियोसम्बन्धी ऐन ल्याएका छैनन् ।


बागलुङ नगरपालिकाले शिक्षा विधेयक पारित गरेको छ । पास भएको शिक्षा विधेयक अनुसार कक्षा ८ सम्मको परीक्षा नगर स्तरमा सञ्चालन गर्ने, परीक्षालाई चुस्त बनाउन विषय विज्ञहरूको छनोट गरेर प्रश्नपत्र तयार गर्ने तथा परीक्षण गर्ने प्रबन्धसमेत मिलाइसकिएको हो ।


बालबालिकालाई विद्यालयमा टिकाउन अभिभावक र शिक्षकहरूको प्रभावकारी संयन्त्र बनाउने विषयले पनि विधेयकमा प्रवेश पाएको छ । बागलुङ नगरका ८८ वटा समुदायिक विद्यालय र ३० संस्थागत विद्यालयमा बराबरी विद्यार्थी संख्या छ । संस्थागतमा बढदो र सामुदायिकमा घट्दो दरमा रहेको संख्यालाई सुधार गरेर सामुदायिकमा बढाउने योजना पनि अगाडि सारिएको सामाजिक विकास समितिका अध्यक्ष गणेश थापाले बताए ।


स्थानीय तहलाई एक सय वाट क्षमताको रेडियो स्थापना र सञ्चालन गराउन पाउने अधिकार दिएको छ । बागलुङ नगरपालिकाले ऐन, कार्यविधि र नियमावलीसमेत गरी २४ कानुन ल्याएको प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुँवरले बताए ।


जैमिनी नगरपालिकाले भने सहकारी ऐन, न्यायिक समितिले उजुरीको किनारा गर्दा अपनाउनुपर्ने कार्यविधि, आर्थिक कार्यविधि, प्रशासकीय कार्यविधि, रेडियो एफएम व्यवस्थापन तथा सञ्चालन कार्यविधि र बजार अनुगमन निर्देशिका ल्याएको नगरप्रमुख इन्द्रराज पौडेलले बताए ।

प्रकाशित : माघ १०, २०७५ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?