१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

कालीगण्डकी ‘आर्थिक करिडोर’ बनाउँछौं : परराष्ट्रमन्त्री

प्रकाश बराल

बागलुङ — परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले कालीगण्डकी करिडोरलाई आर्थिक करिडोर बनाउने बताएका छन् । बागलुङको मालढुंगादेखि गुल्मीसम्मको करिडोर खण्ड फराकिलो बनाउने कामको शिलान्यास गर्दै ज्ञवालीले देशको आर्थिक विकासमा समेत करिडोरले भूमिका खेलेको बताए ।

कालीगण्डकी ‘आर्थिक करिडोर’ बनाउँछौं : परराष्ट्रमन्त्री

नेपाली सेनाले निर्माण गरिरहेको करिडोरको शनिबार एक कार्यक्रमबीच उनले शिलान्यास गरेका थिए ।


सरकारले २० करोड रुपैयाँ रकमान्तर गरेर करिडोरमा विनियोजन गरेपछि यो सडक चौडा पार्न सुरु भएको हो ।


कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाले दुई छिमेकी देशमा नेपालको व्यवसाय बढाउन सक्ने गरी करिडोर विकास गरिने बताए । खतिवडाले चालु वर्ष सडक चौडा पारेपछि आगामी आर्थिक वर्ष कोरला नाकामा आवश्यक पूर्वाधार बनाउने गरी बजेट विनियोजन गर्नेसमेत आश्वासन दिए ।


गत वर्ष ट्रयाक खुलेको करिडोरमा सेनाले नै १० मिटर चौडा बनाउन लागेको हो । सेनाले हाल गुल्मीखण्डमा काम गरिरहेको छ । बागलुङ खण्डका लागि चालु वर्षभित्रै चौडा पार्न २० करोड बजेट माग गरेकोमा रकमान्तरणमार्फत बजेट आएकोले छिटो काम गर्ने सेनाको निर्माण कार्यदलका प्रमुख रेश्मीराज भट्टराईले बताए । ग्रेड मिलेको र सहज यात्रा गर्न सकिने बाटो बनाएर देखाउने उनले दाबीसमेत गरे । यो बजेटले बाग्लुङको ३६ किमि खण्डमध्ये पहिलो १० किमिमा असारभित्रै र बाँकी खण्डमा एक वर्षभित्र काम सक्ने उनको भनाइ छ ।


२०७२ असार १५ गते पहिलोपटक शिलान्यास भएको यो करिडोरमा दुई वर्षमै खुलेर सवारी गुड्न थालेको थियो । ८ मिटर चौडाको यो सडकलाई १० मिटर चौडा पारेपछि स्तरोन्नती थालिने भएको छ । धेरै स्थानमा बम पड्काएर पहरा फोड्दै सडक बनाउनुपर्ने भएकोले सडक डिभिजनमार्फत संभव नभएपछि सेनालाई जिम्मा दिएको थियो । ‘राष्ट्रिय गौरवको आयोजना भएकोले देशभरको चासो र चिन्त लाई समयमै पूरा गरेर हस्तान्तरण गरेका हौं’ भट्टराईले भने, ‘अब चौडा पार्ने काम पनि समयमै गर्छौ ।’


सुनौलीदेखि कोरला नाकासम्म ४ सय १७ किमि खण्डमा यो सडकले दुई देश जोड्छ । ८० किमि खण्डको ट्रयाक खोल्न ९५ करोड खर्च भएको थियो । यो खण्डमा ४ वटा फलामे पुल (बेली ब्रीज), २ वटा काठे पुलसमेत सेनाले बनाएको छ । यो सडक बनेपछि धौलागिरिवासीहरु बुटवल र स्याङ्जाको मिर्मी घुम्न जाने बढेका छन् ।


बुटवल तथा पाल्पाका अधिकांशले मुक्तिनाथ र बागलुङ कालिका आउने सडकको रुपमा प्रयोग गर्न थालिसकेका छन् । करिडोरमा नियमित सवारी चल्न थालेपछि आसपासका १० लाख ३० हजार जनसंख्यामा बसाइँसराई कम हुने, एक लाख ३३ हजार हेक्टर जमिनमा तरकारी तथा फलफूल लगाइ व्यवसाय गर्न सकिने, वार्षिक ४ लाख ४८ हजार मेट्रिकटन खाद्यान्न उत्पाद गर्न सकिने अनुमान करिडोर सरोकार समितिको अध्ययनमा उल्लेख छ ।


प्रकाशित : माघ १९, २०७५ १५:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?