२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

बस्ती विकास मापदण्ड मिचिँदै

प्रकाश बराल

बागलुङ — नगरपालिकाभित्र बनेका घरटहरा मापदण्ड मिचेर बनाइएका छन् । अधिकांश सरकारी भवनको नक्सा पाससमेत भएका छैनन् । 
नगरपालिकाभित्र घरटहरा बनाउनु पर्दा नेपाल सरकारले जारी गरेको बस्ती विकास मापदण्ड २०७२ पालना गर्नुपर्छ ।

मापदण्डले तीन तलाको घरसम्म नगरपालिकाका इन्जिनियरले अनुगमन गरेर नक्सा पास गरेपछि भूकम्पप्रतिरोधी घर बनाउन पाइने प्रावधान राखेको छ । सेडब्याक राख्ने, कम्तीमा १२ इन्च चौडाको पिल्लर ठड्याउनुपर्ने र पर्खाल बाहिर निकाल्न नपाउने प्रावधान नगरले तोकेको छ ।


सहरी विकास तथा भवन कार्यालयले निर्माण गर्ने ती भवन नगरपालिकामा दर्ता नभएको इन्जिनियर गौरव शर्माले बताए । ‘केही सरकारी र केही संस्थानका कार्यालय दर्ता भएका रहेछन्, पछिल्लो समय बनेका घर भने दर्ता भएका छैनन्’ शर्माले भने, ‘राजस्व संकलन र नगरपालिकाको तथ्यांकका लागि पनि सरकारी घर दर्ता गर्नैपर्ने देखिन्छ ।’ स्थानीय सरकार भएकाले आफ्नो सीमाभित्र कति सरकारी घर छन्, नक्सा पास भएको छ वा छैन भन्ने जान्न पाउनुपर्ने उनले बताए । नगरपालिकाबाट पत्राचार गरेर नक्सा पास गर्न आउन आग्रह गर्ने उनले बताए ।


जिल्ला प्रशासन कार्यालय, धौलागिरि अञ्चल अस्पतालको बी र सी ब्लक, शिक्षा, सिँचाइ र खानेपानी डिभिजन कार्यालय लगायतका दर्जनौं घरको नक्सा पास नभएको हो । ‘हामीसँग कुनै लिखित कागजात नभएकाहरूलाई लिखित पत्राचार गरेर नक्सा पासमा लगाउँछौं’ उनले भने, ‘व्यक्तिगत घर निर्माणमा पनि कडाइ गरेका छौं ।’ मापदण्ड नपुर्‍याइकनै घर बनाएपछि जरिवाना तिरेर उम्कन नदिने उनले बताए ।


भवन कार्यालयका प्रमुख सचेन्द्रकुमार देवले भने विज्ञ कार्यालयले नक्सांकन गराएकाले दर्ता गर्नैपर्ने बाध्यता नभएको बताए । ‘घरको क्षेत्रफल १ हजार वर्गफिटभन्दा धेरै भएमा माटो परीक्षण, स्ट्रक्चरल एनालाइसिसलगायतको काम गर्न नगरपालिकाले पनि हामीलाई पठाउँछ’ देवले भने, ‘राजस्व संकलनमा केही फरक परेको कुरा मान्न सकिन्छ तर हामीले कमजोर भवन बनाउन दिँदैनौं ।’


स्थानीय तहको रूपमा आउनुअघि नगरपालिकामा प्राविधिक जनशक्ति अभावले भवन कार्यालयले सहयोग गर्दै आएको देवले दाबी गरे । भवन कार्यालयका हरेक इन्जिनियर नक्सा र निर्माणका लागि विज्ञ भएको उनले टिप्पणी गरे । ‘सरकारी भवन क्षेत्रमा नाली मर्मत तथा विद्युतीकरणसमेत छैन’ देवले भने, ‘रातको समयमा हिँड्न डर लाग्ने अवस्था छ ।’ सडक बत्ती अभावमा रातको समयमा हिँड्न नसकिएको उनले बताए । सरकारी कार्यालय छेउछाउमा सडक बत्ती नभएकाले लागूऔषध प्रयोगकर्ताले ती स्थान प्रयोग गरेको भेटिएको छ ।


तीन तलासम्मको घर बनाउन पाउने प्रावधानविपरीत नगरपालिकामा ५ तलासम्मको घर धमाधम बनिरहेकाले कडाइ गर्नैपर्ने नगरप्रमुख जनकराज पौडेलले बताए । ‘भवन निर्माण अनुमति प्रक्रियासम्बन्धी कार्यविधि तयार भएको छ’ पौडेलले भने, ‘कार्यपालिकाबाट पास गरेर कार्यान्वयन गरिनेछ ।’


नगरपालिकाले नक्सा बनाउने कन्सल्ट्यान्सीलाई सूचीकृतसमेत गरेको छ । साथै उनीहरूका प्राविधिकलाई तीन दिने तालिमसमेत दिएको शर्माले बताए । बागलुङ नगरपालिकामा अहिलेसम्म ३ हजार ७ सय ६१ घरले नक्सापास गरेका छन् । तीमध्ये चालु वर्ष ७४ वटा पास भएका छन् । संहिता लागू भएपछि सहकारी संस्था र विद्यालयले नक्सापास गरेर मात्र भवन बनाएको रेकर्ड छ । गत वर्ष र चालु वर्ष निर्माणाधीन घरेलु तथा साना उद्योग विकास समिति, शाखा तथ्यांक कार्यालयलगायतका भवनसमेतले नक्सापास नगरेको शर्माले बताए ।


व्यक्तिगत रूपमा बनेका ५ तले भवनले पनि तीन तलाको मात्र अनुमति लिएका छन् । सेडब्याक छाडेपछि फेरि टप निकाल्ने, नमिल्ने साइटमा झ्याल राख्नेसमेत काम भइरहेकाले अनुगमन गर्नैपर्ने शर्माले टिप्पणी गरे ।


नाली मिचेर संरचना सदरमुकामकै भित्री गल्ली र नाली मिचेर धमाधम घर बनाउने क्रम बढेको छ । साना गल्लीका घरले नाली अतिक्रमण गर्दा वर्षातमा पानी बग्न नसक्दा बजार जलमग्न हुने गरेको छ ।


वर्षौंदेखि बगेका कुलो र नालीमाथि घर बनाएर सडक र सार्वजनिक जग्गासमेत अतिक्रमण भएको भेटिएको हो । यो क्रम नगरपालिकाको वडा २ र ३ मा अत्यधिक छ । दुईवटा वडाका झन्डै एक सय ५० घरले मापदण्ड मिचेको भेटिएको वडाध्यक्ष जीवन आचार्यले बताए ।


नगरपालिकाले भने हरेक गल्ली कम्तीमा ३ मिटर हुने प्रावधान बनाएको थियो । अतिक्रमणमा परेका त्यस्ता गल्ली एक मिटर पनि छैनन् । हल्लनचोकदेखि सिर्जनाटोल, धौलागिरि चोकदेखि लालीगुराँस चोक हुँदै वडा ३ को कार्यालय जाने सडकलगायतमा दुईतर्फी मानिससमेत हिँड्न नमिल्ने भएको छ । साथै नाली थुनिएर दुर्गन्धितसमेत भएको छ । ती नाली सफा गर्ने र मर्मतमा नगरपालिकाले लगानीसमेत गरेको छैन ।

प्रकाशित : माघ २३, २०७५ ११:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?