कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

हिउँ खेल्दै पढ्छ्न् विद्यार्थी

आश गुरुङ

लमजुङ — छानाभरि हिउँ । खेलमैदान पूरै सेताम्ये । हिमपातले मनाङको चामेस्थित लोकप्रिय मावि ढाकिएको छ । आइतबारबाट शिक्षकले विद्यालय सञ्चालन गरे । केही विद्यार्थी आए । बाक्लो लुगा लगाएर आए पनि कक्षाकोठा अत्यधिक चिसोले विद्यार्थी बस्न मानेनन् ।

हिउँ खेल्दै पढ्छ्न् विद्यार्थी

बरु हिउँ खेल्दै घाम तापे । केही पिरियड पढे र फर्किए । छानाको हिउँ पग्लिन थाल्यो । सोमबार चामेस्थित नेपाली सेनाको रणदल गणका सैनिकले स्कुलबाहिर बाटो र शिशु कक्षा अघिल्तिरका हिउँ फाले । स्कुलको आँगन (खेलमैदान) को हिउँ फालिएको छैन । सबै हिउँ फाल्नलाई डोजर नै प्रयोग गर्नुपर्ने शिक्षकहरू बताउँछन् ।


मनाङ ङिस्याङ गाउँपालिका–१ तलेखु घर भएका अमित लामाका अनुसार स्कुलको आँगनभरि हिउँ छ । छानाको हिउँ पग्लिँदै छ । पठनपाठनमा सहज छैन । माथिल्लो क्षेत्रबाट आउँदा बाटैभरि हिउँ भएकाले हिँड्न समस्या भएको उनले बताए । कक्षा ९ मा अध्ययन गर्ने उनले स्कुल आउन २० मिनेटको बाटो हिउँका कारण आधा घण्टाभन्दा बढी लागेको बताए ।


‘स्कुले नजिकैको हिउँ त पन्छाइएको छ । कक्षाकोठा निकै चिसो छ । एकछिन घाम ताप्ने । अनि पढ्ने हो,’ उनले भने । उनका अनुसार विद्यार्थीहरू हिउँ खेल्दै, घाम ताप्नै अनि पढ्ने गरेका छन् । उनका अनुसार बाक्लो लुगा लगाएर आउँदा पनि चिसो उत्तिकै लागेको छ ।


विद्यालयका प्रधानाध्यापक सुरेश थापाका अनुसार मंसिर अन्तिम सातादेखि विद्यालय बन्दका क्रममा माघ १६ देखि पठनपाठन थाल्ने निर्णय गरिएको थियो । गत वर्ष फागुनबाट पठनपाठन थालिएको उक्त विद्यालय यस वर्ष २ साताअगावै खुलाइएको थियो । स्कुल खुल्ने समयमा हिमपात भएकाले २० गतेदेखि सञ्चालन गरिएको प्रअ थापाले बताए । ‘हामीले स्कुल त खुलायौं । हिमपात र चिसोले विद्यार्थी आएनन् । विस्तारै आउने क्रम बढ्दो छ,’ उनले भने । सेनाले स्कुलबाहिर बाटोको हिउँ फालेपछि बालबालिकालाई केही सहज भएको उनले बताए । उनका अनुसार स्कुल बाहिर हिउँ छ । हिउँमै प्रार्थना गर्ने गरिएको छ ।


चालु शैक्षिक सत्रदेखि आवासीय विद्यालयको रूपमा पढनपाठन थालिएको लोकप्रिय माविमा २ सय ६२ विद्यार्थी छन् । आधा विद्यार्थी आउन बाँकी रहेको उनले बताए । ‘हिमपातका कारण माथिल्लो भेग र तल्लो भेगका विद्यार्थी आएका छैनन् । कतिपय जिल्लाबाहिर जाडो छल्न गएकाले आइपुगेका छैनन्’ उनले भने, ‘यहींका विद्यार्थी भने अभिभावको साथ आउने गरेका छन् ।’ स–साना बालबालिका अभिभावकले नल्याए हिउँमा पर्न सक्ने उनले बताए । शिक्षक भने सबै आएको उनले दाबी गरे ।


विद्यालयमा विद्यार्थी रित्तिँदै गएपछि चामे गाउँपालिकाभित्रका स्कुललाई ‘मर्ज’ गराएर एउटै स्कुल सञ्चालन गर्ने र आवासीय विद्यालयको रूपमा सञ्चालन गर्ने नीति अनुरूप उक्त स्कुलमा आवासीय विद्यालय सञ्चालन गरिएको छ । आवासीयका लागि चामे गाउँपालिकाले सहयोग गरेको छ । आवासीयपछि अन्य गाउँपालिकाका विद्यार्थी पनि लोकिप्रयतर्फ आकर्षित भएका प्रअ थापाले बताए । उक्त विद्यालयमा कक्षा १२ सम्म पढाइ हुँदै आएको छ ।


शिक्षा विकास तथा समन्वय इकाइ मनाङका प्रमुख खुलानाथ गौतमका अनुसार यस वर्ष मनाङमै पहिलोपटक चामेस्थित लोकप्रिय मावि सञ्चालनमा आएको हो । नासों गाउँपालिकाका स्कुलले फागुन १ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको उनले बताए । मनाङ ङिस्याङ र नार्पाभूमि गाउँपालिकाका स्कुल फागुन १६ गतेबाट सञ्चालन गर्ने निर्णय गरिएको छ ।


‘हिमपातका कारण माथिल्लो भेगमा पठनपाठन गर्न सकिँदैन । जाडो छल्न सहर झरेका मनाङी फर्किएपछि मात्रै पठनपाठान हुन्छ’ उनले भने । गएका वर्षमा भन्दा यस वर्ष कम्तीमा १५ दिन र बढीमा एक महिनाअगावै विद्यालय सञ्चालनमा ल्याउने प्रयास भइरहेको उनले बताए । मनाङमा ४ मावि, १० आधारभूत र १२ प्रावि गरी कुल २६ वटा सामुदायिक विद्यालय छन् ।

प्रकाशित : माघ २४, २०७५ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?