कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

पर्यटकको रोजाइमा राम्चेढुंगा

प्रकाश बराल

बागलुङ — पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बन्ने भएपछि पाराग्लाइडिङ व्यवसायी वैकल्पिक थलो खोज्दैछन् । धेरै क्षेत्रको खोजी हुँदा यहाँको राम्चेढुंगा पनि रोजाइमा परेको छ । पाइलट र पर्यटन व्यवसायीले गलकोट–७ को राम्चेढुंगा रोजाइमा पारेपछि स्थानीयले बृहत् पर्यटन योजना अगाडि सारेका छन् । 

पर्यटकको रोजाइमा राम्चेढुंगा

ऋषिमुनीले तपस्या गरेको स्थानका रूपमा मात्र चिनिएको राम्चेढुंगा र गुफाचौरलाई समेटेर गलकोट नगरपालिका, वडा कार्यालय र स्थानीय राम्चेढुंगा पर्यटन विकास समितिले पर्यटक भित्र्याउन पूर्वाधार निर्माणका योजनामा जोड दिएका छन् । प्रारम्भिक चरणमै यहाँ आन्तरिक पर्यटक आउने क्रम बढेपछि समितिले करोडौंको योजना बनाएर काम थालेको छ ।


राम्चेढुंगा यतिबेला सजिलो वनभोजस्थलका रूपमा चिनिएको छ । बसाइँ सरेर गएकाहरू फर्कन थालेका छन् । जिल्ला तहबाट बासै बस्नेगरी पर्यटक पुग्न थालेका छन् । पाहुना आउने क्रम बढेपछि समितिले चालु वर्षकै लागि करोडौंको लागत रहने कार्यक्रम बनाएको अध्यक्ष विष्णु थापाले बताए । ‘पाराग्लाइडिङ र साहसिक पदयात्राका लागि धेरैले रोजाइमा पारिसकेपछि हामीलाई पूर्वाधार बनाउने चुनौती थपियो,’ उनले भने, ‘पहिलो चरणमा १५ लाख रुपैयाँको पूर्वाधार तयार गरिसकेका छौं ।’


गत मंसिरमा भएको गलकोट महोत्सव र पुसमा आयोजित राम्चेढुंगा पर्यटन मेलामा पोखराबाट प्याराग्लाइडिङ गराउने व्यवसायी र पाइलट आएर सफल उडान गरेपछि स्थानीय हौसिएका हुन् । व्यवसायी र पाइलटकै सल्लाहमा गलकोट नगरपालिकाले ३ लाख खर्चेर रन–वे बनाउने तयारी गरेको छ । यहाँबाट उडेका पाराग्लाइडिङ मल्मस्थित आँगखेत र बाँस्खोलामा अवतरण गर्ने स्थान बनाइएको छ ।


डिभिजन वन कार्यालयले हरियाली पार्क र उद्यान निर्माणका लागि पनि राम्चेढुंगालाई नै रोजेर बजेट समेत विनियोजन गरेको छ । यहाँबाट पूर्वमा हटिया, पश्चिममा पाण्डवखानी र रमुवा, उत्तरमा घुम्टेको पहाड, माछापुच्छ्रे र अन्नपूर्ण हिमाल तथा दक्षिणमा गुल्मीको वामीटक्सार र मुसिकोट देखिन्छ । १ हजार ८ सय ५० मिटर अग्लो यो पहाडसँगै ३ हजार २ सय मिटर अग्लो घुम्टे अवस्थित छ ।


राम्चेढुंगासम्म जिप चढेर गएपछि घुम्टेको पहाड चढ्न पदमार्ग बनाइने वडाध्यक्ष लोकबहादुर थापाले बताए । ‘यो पदमार्ग बनाउन सकियो भने दुई घण्टामा घुम्टे चढ्न सकिन्छ,’ उनले भने, ‘यसअघि ५ घण्टाको जोखिम यात्रा गर्नुपर्छ ।’ राम्चेढुंगादेखि घुम्टेसम्मका पर्यटकीय संरचनाका लागि १० करोडभन्दा बढी बजेट आवश्यक पर्ने भएकाले डीपीआर बनाउन सुरु भएको उनले बताए । डीपीआर बनेपछि छुट्टाछुट्टै क्षेत्रमा लगानीकर्ता खोज्ने योजनासमेत थापाले सुनाए ।


दैनिकजसो पर्यटक तथा वनभोजका लागि मानिस जान थालेपछि वडा र नगरपालिकालाई खानेपानीको योजना पार्ने तथा सरसफाइको काम थाल्ने चुनौती थपिएको छ । सजिलै पुग्नेगरी सडक बनाउने भनेर लगानी थालिएको नगरप्रमुख भरत शर्मा गैरेले बताए ।


‘नगर गौरवको आयोजनामा यो सडक राखेका छौं,’ गैरेले भने, ‘चालु वर्ष ६० लाखको कामबाट थालिएको सडकलाई ग्राभेल सकेपछि कालोपत्रेका लागि पनि योजना बनाइनेछ ।’ तत्कालका लागि मेसिनरी वाल, घुम्ती चौडा पार्ने र ग्राभेलको काम गरिने उनले बताए ।


पर्यटन प्रवद्र्धनकै लागि पदमार्ग नजिकका गाउँमा कम्तीमा दुईवटा होमस्टे बनाउन स्थानीयलाई प्रोत्साहन गरिएको समितिकी सदस्य रूपा खड्काले बताइन् । आमा समूहहरूले तरकारीखेती र पशुपालन थालिसकेका छन् । होमस्टेबारे तालिम सञ्चालनको खोजी भइरहेको समेत उनले बताइन् । आमा समूहले भजन र स्थानीय सालैज्योलगायतका भाकामा पर्यटकलाई स्वागत गर्ने गीतहरू बनाउने र गाउने क्रम थालेका छन् । त्यस्तै पुरुषहरूको समूहले व्यवस्थापकीय सहयोग गरिरहेको स्थानीय घुम्टे युवा परिवारका अध्यक्ष थम्मन थापाले बताए ।


‘अब अर्गानिक खाना खुवाउने, पर्यटकलाई बोलाएर गाउँमा समृद्धि खोज्ने हो’ थापाले भने, ‘पर्यटन प्रवद्र्धनबाटै समृद्धि खोज्ने भनेपछि विदेशका युवाले पनि फर्केर साथ दिने प्रतिबद्धता जनाएका छन् ।’

प्रकाशित : माघ २६, २०७५ ११:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?