बेनी जोगाउन अस्थायी तटबन्ध

पक्की तटबन्ध बाढीले भत्काएपछि आगामी वर्षाअघि नै तयार हुनेगरी अस्थायी तटबन्ध निर्माणको काम सुरु
कान्तिपुर संवाददाता

म्याग्दी — बेनी बजार बाढीको उच्च जोखिमयुक्त मानिन्छ । म्याग्दी र कालीगण्डकी नदी यहाँ दुई छेउबाट बगेका छन् । जिल्ला सदरमुकाम बेनीलाई नदीको कटानबाट जोगाउन लगाएको पक्की तटबन्ध गत वर्ष बाढी भत्काएको थियो । अब अस्थायी तटबन्धको काम सुरु गरिएको छ ।

कालीगण्डकी र म्याग्दी नदीको दोहोरो कटानले त्रिकोणात्मक खुम्चँदै गएको बेनी बजार संरक्षण गर्न करोडौं खर्चेर आरसीसी तटबन्ध लगाइएको थियो । बाढीले उक्त संरचना बगाएपछि कालीगण्डकी नदीपट्टि ३ सय ३८ मिटर किनारमा ग्याभिन जालीको अस्थायी तटबन्ध निर्माण थालिएको हो ।
तटबन्ध निर्माण गर्न बेनी संरक्षण जिम्मेवारी पाएको पोखरास्थित रूपाताल संरक्षण एकीकृत परियोजनाबाट ३ करोड ५० लाख रुपैयाँ विनियोजन भएको छ । बजेट सुनिश्चित भएपछि ५७/५७ मिटरका तीन र १ सय ५७ मिटर छुट्टै गरी चार प्याकेज बनाई उपभोक्ता समिति मार्फत तटबन्ध निर्माणको काम सुरु गरिएको हो ।

‘७ र ८ नम्बर वडामा आ–आफ्ना उपभोक्ता समिति बनाई कालीगण्डकीतर्फ तटबन्ध निर्माण सुरु गरेका छौं,’ बेनी–८ का वडाध्यक्ष रामकृष्ण बराइलीले भने, ‘साबिक कार्यक्रमबाट निर्मित तटबन्धको स्ट्रक्चर फेल भएपछि री–डिजाइन भएन । री–डिजाइन र ठेक्का प्रक्रियाका चरण पर्खंदा बर्खा लाग्ने, बेनी थप जोखिममा पर्ने देखिएकाले अस्थायी तटबन्ध सुरु गरिएको हो ।’

व्यवस्थित तर अस्थायी तटबन्ध निर्माण गर्दा १ सय ७१ मिटरमा नदी सतहबाट ५ फिट गहिरो फाउन्डेसन राखी ११ फिट चौडाइ र ६ फिट अग्ला ग्याभिन तटबन्ध निर्माण गर्ने योजना छ । बाढीले क्षति नपुर्‍याए पनि जोखिममा रहेका पुराना आरसीसी तटबन्ध संरक्षण गर्न नदीको सतहभन्दा ५ फिट गहिरो फाउन्डेसनमा ७ फिट चौडाइका एक लेयर एप्रोन ग्याभिन राख्ने गरी डिजाइन गरिएको १ नम्बर प्याकेजको उपभोक्ता समिति अध्यक्ष सागर बरुवालले बताए ।

नदी कटानबाट बेनी संरक्षण गर्न तटबन्ध लगाउने काम मात्र होइन कालिगण्डकी नदीको धार परिर्वतन गर्ने काम पनि सुरु भएको छ । कालिगण्डकी नदीलाई म्याग्दी बेनी र मल्लाज बेनीको बीचबाट बगाउन डोजर लगाएर नदीको धार परिवर्तन गर्न थालिएको छ ।

‘नदीले बेनीपट्टि सोझिएर कटान गर्दै मल्लाज बेनीतर्फ बहावको धार सोझिएकाले बीचबाट बगाउने प्रयास थालिएको हो,’ बेनी–७ का वडाध्यक्ष राजेन्द्र श्रेष्ठले भने, ‘नदीको धार बीचमा सोझ्याउन सकियो भने बर्खाको समयमा छेउ हान्ने क्रम रोकिने विश्वास छ ।’ दोभानदेखि तीन किलोमिटर उत्तर ग्याभिन जालीको तटबन्ध बनाई त्यसमाथि मोटरबाटो बनाउन समुदायस्तरमा २०५५ सालदेखि काम सुरु भएको हो ।

२०७० सालदेखि जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयले पक्की तटबन्ध क्रमागत योजनामा सुरु गरे पनि पूरा नहुँदै बाढीले बगाएको हो । ‘हामीले २०५५ सालदेखि नै समुदायबाट सबै घरघडेरी प्रतिहातको हिसाबले चन्दा संकलन गरी संरक्षण सुरु गरेका थियौं,’ बेनी संरक्षण अभियानका अध्यक्ष हरिकृष्ण श्रेष्ठले भने, ‘बजार क्षेत्रका सडक साँघुरो भएकाले नदी नियन्त्रणसँगै मोटरबाटोसहितको बहुउद्देश्यीय तटबन्ध गर्ने योजना हो ।’

प्रकाशित : माघ २७, २०७५ ०९:०२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

पार्टी अध्यक्ष दाहाललाई प्रश्न

कान्तिपुर संवाददाता

काठमाडौँ — कान्तिपुरमा ‘सरकारप्रति दाहाल आक्रामक’ पढेँ । नेकपाका अध्यक्ष प्रचण्डको भाषण रोचक र सान्दर्भिक नै लाग्यो तर त्यो भाषण प्रचण्डको मौसमी भाषण हो वा सान्दर्भिक बुझ्न गाह्रो पर्‍यो ।

माओवादी छाडेर नेकपा बनेका प्रचण्डले आफ्नो जीवनकालमा चुनौती नै चुनौती थपेका छन् र थपिँदै आएका छन् तर चुनौतीले सार्थक परिणाम दिन सकेको छैन । परिणाम, शक्तिशाली माओवादी कमजोर र विभाजन हुन पुग्यो । आज माओवादी भन्ने लायक कोही छैन । माओवादी ‘जनयुद्ध’ गलत थियो भन्ने वातावरण सिर्जना भएको छ । यतिबेला माओवादी आन्दोलन आफ्नै दाउपेचको राजनीतिक आन्दोलनमा फेरिएको छ ।


शान्ति प्रक्रियामा प्रवेश गरेको दशक बढी भइसक्यो । यस बीचमा कमजोर र इमानदार नेता/कार्यकर्ताका लागि शान्ति प्रक्रिया अभिशाप नै बन्यो । ‘जनयुद्ध’को मूल्य चुकाउन महँगै पर्‍यो । अझै धेरै नेता/कार्यकर्ता जेलमा आजीवनका लागि कोचिएका छन् । कोही छुट्दै छन् । धेरैमाथि अझै मुद्दा छन् । सहिद, बेपत्ता र घाइते, अपांगको अवस्था झनै कहालीलाग्दो छ । प्रचण्डज्यू, तपाईंहरूले देशमा गणतन्त्र र संघीयता भित्र्याउनुभएको छ । यस्तो बेला माओवादी फेरि जन्मिने आक्रामक कुरा गर्दै हुनुहुन्छ । के त्यो तपाईंकै नेतृत्वमा सम्भव छ ?


अहिले पनि मुलुकमा दुइटा सत्ता र सरकारको जगजगी छ । त्यो पनि पुरानै शैलीको । नयाँ परिवर्तनमा पुरानै संक्रमण छ । यो कुराको महसुस गर्दैगर्दा छातीमा हात राखेर एक पटक विगत सम्झिनुस् र वर्तमानका लागि केही गर्न हिजोकै तपाईं राम–लक्ष्मण नेतृत्व गोलबन्द भएर एकताको सन्देश दिनुस् । यसका लागि हिजोको झैं त्याग र तपस्या आत्मसात् गर्नुस् । अनि मात्र जनताले विश्वास गर्नेछन् । नभए अहिलेको संसदीय फोहोरी खेलको नशाबाट तपार्इं उम्किन मुस्किल छ । बोली यथार्थतिर र व्यवहार गलततिर डोर्‍याएर मान्छे झुक्याउन अब तपाईंजस्तो नेतालाई सुहाउँदैन ।
– राजेश विद्रोही, लहान, सिरहा

भेनेजुएला प्रकरणमा बढ्दै गइरहेको राजनीतिक संकटका विषयमा अनावश्यक वक्तव्य निकालेर आलोचना खेप्न बाध्य भएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले आफू चारैतिरबाट घेराबन्दीमा परेको महसुस गर्न थालेका छन् । शान्ति प्रक्रियाको मुख्य पाटो मानिएको सत्यनिरूपण र मेलमिलाप आयोगको कामकारबाही र प्रगतिबारे विदेशीले चासो राख्नेबित्तिकै कतै आफैंलाईसिध्याउने नियतले त यो कुरो आएको होइन भनी सशंकित भइहाल्ने प्रचण्डको पुरानो बानीले बेलाबेलामा राजनीति तरंगित हुने गरेको छ । एमाले र माओवादी मिसिएर नेकपा बनिसकेको पृष्ठभूमिलाई बिर्सिंदै र आफू सरकारमै बसिरहेको अवस्थालाई पनि भुल्दै शुक्रबार आयोजित एक कार्यक्रममा अझ पनि माओवादीको अवशेष बाँकी रहेको हुँदा कसैले ‘जनयुद्ध’कालीन मुद्दा उठाएर जेल पठाउन खोज्छ भने झन् ठूलो युद्ध गर्छु भन्ने अभिव्यक्ति दिएर प्रचण्डले आफूभित्र डरको मानसिकता रहेको तथ्यलाई उजागर गरेका छन् । युद्धकालीन अपराधबाट बच्न पार्टी एकता गरेका प्रचण्डले आफैं सरकारमा हुँदाहुँदै युद्ध गर्छु भन्नु कानुनविपरीत त हो नै, द्वन्द्वकालीन मुद्दा उठाउन हुँदैन भन्नु अपराध पनि हो । राज्यले कुनै पनि अपराधलाई सहेर बस्नु हुँदैन भने अपराधीलाई जोगाउनु पनि हुँदैन । यसतर्फ सरकारको ध्यान जाओस् ।
– पुरुषोत्तम घोरासैनी, बालाजु–१६, काठमाडौं

आफ्नो निर्वाचन क्षेत्र दौडाहामा रहेका पुष्पकमल दाहालले सरकार संघीयता कमजोर पार्ने गरी अघि बढिरहेको अभिव्यक्ति दिए । यस्तै चलिरहे अर्को माओवादी जन्मिने खतराको चेतावनीसमेत दिए । प्रचण्डले स्वर्गीय गिरिजाप्रसाद कोइरालालाई स्मरण गर्दै शान्तिसम्झौता कार्यान्वयनका असन्तुष्टि पनि व्यक्त गर्न भ्याए । सत्तासीन भएको वार्षिकी नजिक पुग्नै लाग्दा प्रचण्डको आक्रामक अभिव्यक्तिले नेकपाका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीप्रतिको बदलिँदो दृष्टि प्रस्ट पारेको छ । उनको यस्तो वक्तव्यले राजनीतिलाई तरंगित पारेको छ ।
– महेन्द्रसिंह बम, टीकापुर–१, कैलाली

दुई कम्युनिस्ट सिद्धान्त बोकेको पार्टी एकीकरणपश्चात् नेकपाको उदय भयो । गत चुनावयता दुई तिहाइ मतका आधारमा शक्तिका रूपमा देखिएको छ । झिनामसिना बाधा, विरोधको कुनै अर्थ नराख्ने यो सरकारले पटकपटक आक्षेप खेप्दै आएको छ । आफ्नै दलभित्र पनि सुषुप्त रूपमा असन्तुष्टिको व्यवहार सर्दै आएको छ । भेनेजुएलाप्रति अमेरिकाको दमनकारी सोचलाई लिएर अध्यक्ष प्रचण्डको आक्रोसपूर्ण व्यक्तव्य आयो । सोही व्यक्तव्यलाई लिएर सरकार र पार्टी सचिवालय बैठकले धरी वक्तव्य जारी गर्‍यो । तैपनि अमेरिका नाराज रहेपछि अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओलीले प्रचण्डको ‘शब्द चिप्लिएर’ त्यस्तो वक्तव्य आएको भनाइ सार्वजनिक गरे । प्रधानमन्त्री अमेरिकाप्रति सकारात्मक र नरम देखिएपछि अर्का अध्यक्ष प्रचण्ड मुर्मुरिन पुगे । भनिहाले, ओलीजीको व्यक्तिगत कुरा हो त्यो । पार्टी र सरकारले मेरै वक्तव्यप्रति समर्थन जनाइसकेका छन् । भेनेजुएला काण्डबाट सुरु भएको आक्रोस भुसको आगोझैँ भित्रभित्र सल्किँदै गइरहेको छ । सरकारप्रति दाहालको आक्रामक शैली पार्टी एकताका लागि घातक हुन सक्छ । पुरानै स्थितिमा पुग्न सकिने दाहालको सोच सामान्य ठान्न सकिँदैन । ‘विश्वास’ थाँक्रामा अडिएको लहरो हो । थाँक्रै ढलेपछि लहरोले थेगिँदैन । त्यसकारण दुई अध्यक्षले एकअर्काप्रति संकीर्ण सोच राख्नु हुँदैन । यसले कसैलाई पनि फाइदा पुर्‍याउँदैन ।
– प्रमोद पौडेल, वीरगन्ज–११, श्रीपुर

आफंै सम्मिलित सरकारका पछिल्ला क्रियाकलापप्रति असन्तुष्ट देखिएका दाहाल प्रदेशहरूलाई संविधानत: अधिकार नदिँदा संघीयता धरापमा पर्ने अड्कलबाजीमा पुगेर प्रकारान्तरले ओलीप्रति आक्रामक बनेको हुनुपर्छ । बाहिर जतिसुकै मेल भएजस्तो देखिए पनि भित्री रूपमा दुई अध्यक्षबीच दूरी बढेको अनुमान पहिल्यै पनि नगरिएको होइन तर उनी आफैंले बखेडा सिर्जना गरेको भेनेजुएला प्रकरणमा चारैतिरबाट सरकार र आफूसमेत अप्ठ्यारामा परेको अवसर छोपी आफू एकाएक रणनीतिक रूपमा उम्किन र आमजनसमुदायको ध्यान अर्कैतिर मोड्न अहिले उनले यसखाले कार्ड प्रयोग गरेका हुन सक्छन् भन्ने बुद्धिजीवीहरूको तर्कलाई कपोलकल्पित भन्न सकिने ठाउँ भेटिन्न । मुलुकको दिगो सुशासन र समृद्धिका लागि शान्तिसम्झौता र संविधानको मर्मअनुसार चल्न छाडेर पुरानै व्यवस्थातिर ढल्किन खोजिएको भनेर प्रधानमन्त्री ओलीतर्फ लक्षित भनाइ राख्न पनि उनले त्यसै थालेका होइन होलान् । सिंहदरबारको अधिकार गाउँगाउँमा लैजान कन्जुस्याइँ भइरहनुमा दोष कसको छ भनी प्रचण्डले ओलीमाथि एकपछि अर्को प्रहार गर्न खोजेका छन् ।
– श्यामसुन्दर कुइँकेल, हाँडीगाउँ, काठमाडौं


प्रकाशित : माघ २७, २०७५ ०९:०१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्