हिउँले तानिए पर्यटक

दुई साताअघि परेको हिउँ शनिबार फेरि परेपछि घोडाबाँधे, गाजा दह, तारखोला र पञ्चकोटमा हिउँमा रमाउने घुइँचो 
प्रकाश बराल

बागलुङ — शुक्रबार र शनिबार बागलुङमा परेको हिउँले आन्तरिक पर्यटकमा खुसियाली छाएको छ । दुई साताअघि परेको हिउँ शनिबार फेरि परेपछि घोडाबाँधे, गाजा दह, तारखोला र पञ्चकोटमा सयौंको संख्यामा स्थानीयसँगै पर्यटक हिउँ खेल्न पुगेका थिए । 

बागलुङको बिहुँमा परेको हिउँ खेल्न पुगेका आन्तरिक पर्यटक । तस्बिर : प्रकाश/कान्तिपुर 

जिल्लाका पर्यटकीय सम्भावना बोकेका गन्तव्यलाई पदमार्ग र सडक मार्गले जोडेर बृहत् गुरुयोजना बनाउने अभियान चलिरहेकै बेला हिउँ पर्दा पाहुना पनि खुसी भए । सरकारले हालै जारी गरेका पर्यटकीय गन्तव्यलाई प्राथमिकतामा राखेर स्थानीय पर्यटन विकास समितिले पनि गुरुयोजनाको काम थालेको छ ।

Citizen

योजना निर्माणकै क्रममा पर्यटकको जमघट भएपछि समितिका पदाधिकारीसमेत खुसी छन् । समितिले बागलुङ कालिका, गाजाको दह, घोडाबाँधे, घुम्टे र ढोरपाटनसहित अन्य दर्जनभन्दा बढी स्थानीय क्षेत्रलाई जोडेर गुरुयोजनाको काम गरिरहेको अध्यक्ष राजु खडाले बताए ।

प्रदेश सरकारले अगाडि सारेको होमस्टे स्थापना र प्रवद्र्धन कार्यक्रमका लागि पनि ती गन्तव्यका सहायक हुने उनले बताए । माघ महिनादेखि नै सुरु हुने गरी काठेखोला–५ मा शिवधुरी होमस्टे पनि सञ्चालनमा आएको छ । हिउँ खेल्दै होमस्टेमा पनि बस्न पाएपछि पर्यटक पनि खुसी भए । ‘होमस्टेमा रमाउन आएका थियौं, हिउँ परेर झन् रमाइलो बनायो,’ काठमाडांैबाट आएकी समिता भडेलले भनिन्, ‘सधै सम्झने गरी घुम्ने अवसर मिल्यो ।’ उनले आफ्ना साथीहरूलाई पनि घुम्न पठाउनेछु ।’ शनिबार दिउँसो घाम लागेकाले हिउँ खेल्न गएकाहरूले मनोरञ्जन पाएको बताए ।

बागलुङ र पर्वतका स्थानीयले पनि जिप रिजर्भ गरेर तथा नियमित सवारीमा चढेर घोडाबाँधे र पञ्चकोट पुगेर हिउँ खेलेका थिए । ‘हिउँ परेको देखेर हामी ट्याक्सी चढेर आयौं,’ पर्वतकी सुनीता चोचांगीले भनिन्, ‘हिउँ खेल्न पाउँदा निकै रमाइलो भयो ।’ स्थानीयका अनुसार यो क्षेत्रमा २०६३ पछि पहिलो पटक हिमपात भएको हो ।

हिमपातले ढोरपाटन क्षेत्रमा भने स्थानीयले सास्ती खेपेका छन् । हिउँ जमेर आउजाउ गर्ने सबै बाटो पुरिएको छ । चिसोले ढोरपाटनमा सेना र तिब्बती शरणार्थी मात्र छन् । अरू सबै बोबाङ झरेको स्थानीय शिक्षक चकबहादुर अदैले बताए । सिकार आरक्ष र ढोरपाटन उपत्यकामा तीनदेखि चार फिट हिउँ जमेर सेताम्मे भएको उनले बताए ।

ताराखोला गाउँपालिका १ स्थित भुस्कात र माझखर्क तर्फका बासिन्दाले भने सास्ती खेपेका छन् । अघिल्लो सातादेखि परेको हिउँ पग्लेको छैन । शुक्रबारदेखि पुन हिमपात भएपछि आउजाउ गर्ने बाटोसमेत बन्द भएको माझखर्ककी भविकला रोकाले बताइन् । ‘किसानले गाईभैंसीलाई घाँस–दाउरा खोज्न पनि पाएका छैनौं,’ उनले भनिन्, ‘चिसोले बालबालिका विद्यालय जान पनि पाएका छैनन् ।’ हिउँले गर्दा रिजालचोकदेखि ताराखोला जाने सडक चिप्लो भएकाले अधिकांश यात्री र सवारीसाधनले विकल्पको बाटो रोज्न थालेका छन् । गल्कोटदेखि भुस्काततर्फको बाटो हिँडेर आउजाउ गर्दा स्थानीयले धेरै भाडा तिर्नुपरेको समेत गुनासो गरे ।

जनजीवन कष्टकर
म्याग्दी (कास)– पर्यटकीय बस्ती पुनहिल–घोडेपानीसमेत जिल्लाका उच्च हिमाली क्षेत्रका बस्तीहरूमा बाक्लो हिमपातले जनजीवन प्रभावित भएको छ । पदमार्ग पुरिएर आउजाउ गाह्रो भएपछि पर्यटकहरू अलपत्र परेका छन् ।

पर्यटकीय क्षेत्र महरे, खोप्रो र गुर्जा पनि हिउँले ढपक्कै ढाकिएका छन् । लगातारको हिमपातले पर्यटकीय छन्त्याल बस्ती गुर्जा र घोडेपानीलगायतका बस्तीबाट बाहिर आउजाउ ठप्प छ ।

‘दुई फिट जति हिउँ परेको छ । पर्यटक रोकिएका छन् । पैदलयात्रा पूरै अवरुद्ध छ,’ पर्यटन व्यवसायी मीना गर्बुजाले भनिन्, ‘घोडेपानी वरपरका सबै डाँडाहरू हिउँले ढाकिएर हिमाली चुचुराजस्तै भएका छन् । पर्यटकहरू हिउँ खेल्न रमाएका छन् ।’
हिमपातले चिसो बढा वृद्धवृद्धा र बालबालिका प्रभावित भएका छन् ।

अधिकांश ग्रामीण सडकमा सवारी आउजाउ रोकिएको छ । टायर चिप्लिने भन्दै चालकहरू गाडी चलाउन डराएका छन् । खुला फाँटमा गोठ राखेर पालिँदै आएका फिरन्ते भेडीगोठलाई बेंसीसम्म परेको बाक्लो हिउँले सास्ती भएको छ । हिमाली चरन क्षेत्रबाट न्यानो खोज्दै बेंसी झारिएका वस्तु अब कता लैजाने भन्नेमा गोठाला अन्योलमा छन् ।

भेडा गोठालाकालागी हिउँदका दिन बढी कष्टकर मानिन्छ । हिउँले वेंसीका चरन क्षेत्रमा समेत ढाकेपछि फिरन्ते भेडालाई मात्र होइन खोरमा पालिने भेडाबाख्रालाई पनि चरन समस्या भएको छ । पाउद्धार, नारच्याङ, दाना, दोवा, वेगखोला, भगवती, चिमखोला, कुइने–मंगले, मल्कबाङ, मुदी, मुना, लुलाङ र गुर्जामा खुला क्षेत्रमा फिरन्ते शैलीमा भेडा पाल्ने गरिन्छ ।

‘जतासुकै बाक्लो हिउँ छ, हिँड्ने बाटो पनि पुरिएको छ । भेडालाई कहाँ कसरी लैजाने समस्या भएको छ । हिउँ छिट्टै नपग्ले भेडा गोठमै मर्छन्,’ गुर्जाका भेडापालक भविन्द्र छन्त्यालले भने, ‘हिउँले भकारीको गोठ पनि भत्कायो, गाउँ पुग्ने बाटो छैन ।’ जिल्लाका १ सय ९३ जनाले परम्परागत तरिकाले फिरन्ते शैलीमा भ्याङलुङ र बरुवाल जातका १४ हजार रैथाने भेडा पाल्दै आएका छन । भेडासँगै मिलाएर खुला तरिकाले पालिएका ८ हजार बाख्रा पनि छन् ।

मुस्ताङमा यातायात ठप्प
मुस्ताङमा मौसम सफा रहँदा सधैं पोखराबाट जहाज चल्छ । हिमपात सुरु भएयता जहाजको आउजाउ ठप्प भएको छ । आउजाउ गर्ने न्यून रहँदा सडकमार्गमा गाडी चल्न घटेकै थियो । हिमपात सुरु भएयता त्यो पनि बन्द छ । त्यसो त मुस्ताङी हिउँदमा जाडे छल्न तल झर्छन् । घर र होटलहरूमा कुरुवा मात्रै बस्छन् । अहिले ती कुरुवा पनि घरभित्रै थुनिएका छन् । बिदा नपाएर बस्न बाध्य सरकारी कार्यालयका कर्मचारी, प्रहरी र सेनालाई पनि हिमपातले गाह्रो पारेको छ ।

हिउँसहित तीव्र गतिको हावाले मुस्ताङी घरबाहिर निक्लन सकेका छैनन् । प्रहरीका अनुसार बाक्लो हिमपातले भएको धनजनको क्षति विवरण लिन सकिने अवस्था छैन । ‘हिमपात रोकिएको छैन । हावाहुरीले बस्न झन गाह्रो पारेको छ,’ मुस्ताङका प्रहरी प्रमुख महेन्द्र खड्काले भने, ‘माथिल्लो मुस्ताङका चौकीहरूसँग सञ्चार सम्पर्क पनि टुटेको छ ।’ पाइपमै पानी जमेपछि हिउँ पगालेर उपयोग गरिरहेको उनले बताए । उनका अनुसार सदरमुकाम जोमसोम क्षेत्रमा २ फिट बाक्लो हिउँ जमेको छ ।

विमानस्थलको रन–वेमा पनि बाक्लो हिउँ जमेको छ । जोमसोमबाट मुक्तिनाथ जाने सडक पनि बन्द छ । मुस्ताङ भ्रमणमा आएका फाट्टफुट्ट पर्यटकहरू पनि समस्यामा परेका छन् । केही दिनअघि नै मौसम परिवर्तनको सम्भावना रहेको सूचनाले उपल्लो मुस्ताङ, मुक्तिनाथ र थोरङला पास नजान पर्यटकलाई नजान सूचित गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : माघ २७, २०७५ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्

संस्थानभन्दा बजारको चामल सस्तो

खाद्य संस्थानको चामल ३० केजीको एक बोरा किन्दा १३ सय ५० पर्छ भने पसलमा १२ सय ८० मा पाइने 
हरिराम उप्रेती

गोरखा — सडक खुलेर गाडी चल्न थालेपछि माछाखोलामा खाद्य संस्थानको भन्दा बजारको चामल सस्तो भएको छ । तिब्बती सिमानाको लार्के जोड्ने सडकको ट्रयाक खोल्ने क्रममा माछाखोलासम्मको खण्डमा गाडी गुड्न मिल्ने भएपछि गत पुस महिनाबाट यहाँ दैनिक उपभोग्य सामग्रीको भाउ सस्तिएको स्थानीयले बताए । 

खाद्य संस्थानको गोरखा शाखाको डिपोमा रहेको जापान सरकारले अनुदानमा उपलब्ध गराएको चामल । तस्बिर : हरिराम/कान्तिपुर

‘ढुवानी भाडाको आधारमा मूल्य निर्धारण हुने हो,’ माछाखोलाका कान्छा गुरुङले भने, ‘पुस महिनाबाट माछाखोलासम्म गाडी चल्न थालेपछि खाद्यको भन्दा पसलको चामल सस्तो पर्‍यो ।’ धार्चे गाउँपालिका–५ माछाखोलामा रहेको खाद्य संस्थानको डिपोबाट केरौजाँ, उहिया, काशीगाउँ, लापु, गुम्दा र लाप्राकका स्थानीयहरूले चामल खरिद गर्दै आएका थिए ।

हिउँद याममा केरौजाँ, उहिया र हुल्चोक वाहेकका अन्य वडामा सवारी चल्न मिल्ने सडक पुगेपछि संस्थानको चामल ढिपोमै थन्किएको छ । ‘गाडी नगुडा खच्चडबाट बोकाउनुपथ्र्यो, हिउँदमा १०, वर्खामा २० रुपैयाँ प्रतिकेजी खच्चडलाई ढुवानी भाडा दिनुपर्ने बाध्यता थियो,’ गुरुङले भने, ‘अहिले गाडीले प्रतिकेजी दुई–तीन रुपैयाँमा सामान लैजान्छ ।’

संस्थानको चामल माछाखोलाको डिपोमा प्रतिकेजी ४५ रुपैयाँ बिक्री मूल्य तोकिएको छ । संस्थानको भन्दा स्थानीय व्यापारीबाट खरिद गर्दा प्रतिकेजी ३ रुपैयाँ सस्तो पर्न जाने गुरुङले बताए । ‘खाद्य संस्थानको चामल ३० केजीको एक बोरा किन्दा १३ सय ५० पर्न जान्छ, यहाँको पसलमा १२ सय ८० मै पाइने भयो,’ उनले भने, ‘एक बोरामै ७० देखि ९० रुपैयाँसम्म फरक पर्ने भयो । अब समन्वय गरेर मूल्य घटाउनुपर्ने देखिन्छ ।’

यो वर्ष सोना मन्सुलीका साथमा जापान सरकारले उपलब्ध गराएको चामल यहाँका दुर्गम क्षेत्रका गाउँलेलाई बिक्री भएको छ । जापानी अनुदानमा आएको चामल स्थानीयले खासै नरुचाएको माछाखोलाका गुरुङले बताए । ‘हिउँदमा गाडी चले पनि बर्खामा चल्दैन,’ उनले भने, ‘बर्खामा खच्चडकै भर हो, त्यतिबेला खाद्यको चामल बिक्छ कि ।’

चालु आवमा संस्थानले माछाखोला डिपोका लागि २५ सय क्विन्टलको कोटा तोकिए पनि हालसम्म ६१ क्विन्टल मात्र ढुवानी भएको छ । उक्त डिपोमा गत वर्ष ढुवानी भएको झन्डै डेढ सय क्विन्टल चामल मौज्दात रहेको संस्थानका कर्मचारी नरबहादुर खनालले बताए । ‘संस्थानको चामलको मूल्य थपघट गर्न मिल्दैन,’ उनले भने ।

सिर्दिबास डिपोमा भने २ हजार क्विन्टल कोटा तोकिएकोमा १९ सय ७४ क्विन्टल चामल ढुवानी भइसकेको छ । जापानले नेपाल सरकार मार्फत अनुदान दिएकोमध्ये २ हजार क्विन्टल चामल गोरखाका लागि पठाइएको छ । अनुदानमा आएमध्येको झन्डै १६ सय क्विन्टल चामल सिर्दिबास डिपोमा बिक्रीका लागि पठाइएको छ ।

सिर्दिबासका लागि यस वर्ष कोटा थपको तयारी पनि भइरहेको कार्यालयले जनाएको छ । ‘डिपोबाट चामल बिक्री भइरहेको छ । त्यहाँ कार्यरत कर्मचारीलाई स्थानीय तहसँग समन्वय गरेर कोटा थपको पत्र लिएर आउन भनेका छौं,’ उनले भने । सिर्दिबास क्षेत्रका स्थानीयले चालु आवमा ३ हजार क्विन्टल चामलको कोटा थप गर्न माग गर्दै आएका छन् । सिर्दिबास डिपोबाट सिर्दिबाससहित ल्हो, बिही, प्रोक, छेकम्पार,चुम्चेत र सामागाउँका बासिन्दालाई सहुलियत दरको चामल बिक्री हुँदै आएको छ ।

छेकम्पार र सामागाउँबाट सिर्दिबाससम्म आइपुग्न दुई दिन खर्चनुपर्ने भन्दै स्थानीयहरूले उपल्लो भेगकै पायक पर्ने स्थानमा डिपो राख्न पनि माग गर्दै आएका छन् । ‘चुमनुब्री गाउँपालिकाको चुम्चेतमा डिपो राख्नका माग भइआएको थियो, एक वर्षअघि खाद्य व्यवस्था समिति बैठकले संस्थानको प्रधान कार्यालयमा पत्र पनि पठाएको छ,’ खनालले भने ।

खाद्य संस्थानले ढुवानी अनुदानमा दुर्गम क्षेत्रका स्थानीयहरूलाई चामल उपलब्ध गराउँदै आएको छ । उत्त चामल माछाखोला डिपोबाट ४५ र सिर्दिबास डिपोबाट प्रतिकेजी ४८ रुपैयाँमा बिक्री हुँदै आएको छ । सदरमुकामबाट २० कोस टाढारहेको माछाखोलामा १९ सय ५० र ३० कोष टाढा रहेको सिर्दिबासमा४१ सय ५० रुपैयाँ प्रतिक्विन्टल ढुवानी अनुदान सरकारले उपलब्ध गराएको हो ।

सिर्दिबास र माछाखोला डिपोमा रहेको चामल वडाअध्यक्षको सिफारिसमा स्थानीयहरूलाई उपलब्ध गराउने प्रावधान छ । उत्तरी गोरखाका स्थानीय मुख्य खाद्य बालिका रूपमा गहुँ, जौ, आलु खेती गर्ने गर्छन् । उक्त क्षेत्रमा धान खेती नहुँदा तल्लो क्षेत्रबाट चामल ढुवानी गर्नुको विकल्प छैन ।

प्रकाशित : माघ २७, २०७५ ०९:०३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्