बागलुङ — मध्यपहाडी लोकमार्गसँगैको गलकोट नगरपालिकामा विस्तारै सहरीकरण बढ्दो छ । यहाँ भएको पूर्वाधार विकाससँगै सवारी चाप पनि बढेको छ । बढ्दो सवारी चाप व्यवस्थापनका लागि यहाँ व्यवस्थित पार्किङस्थल छैन ।
नगरपालिकाले यसका लागि बजार क्षेत्रमा जग्गा व्यवस्थापन पनि गर्न सकेको छैन । नगरपालिकाको मुख्य केन्द्र रहेको हटिया बजारमा सार्वजनिक वा खरिद गर्ने जमिनसमेत नपाएर बसपार्क बनाउन नसकेको गलकोट–३ का वडाध्यक्ष वीरजंग भण्डारीले बताए ।
गाडीहरू सडकमै दोहोरो पार्किङ गरिन्छन् । यसले गर्दा यात्री र बटुवालाई सास्ती छ । ‘हामीले धेरै ठाउँमा जग्गा हेरिसकेका छौं, भनेजस्तो पाएका छैनौं’ वडाध्यक्ष भण्डारीले भने, ‘ट्राफिक व्यवस्थापनका लागि बजेट विनियोजन गर्न तयार छौं । जग्गा नै नपाएर समस्या भयो ।’ खाल्डेखोलामा अस्थायी बसपार्क बनाउने तयारी भइरहेको उनले बताए ।
मुख्य बजारभित्रै ट्याक्सी लस्करै राखिन्छन् । लामो दूरीका बस र जिपको जथाभावी पार्किङले व्यवस्थापनमा समस्या भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख शुकबहादुर विकले बताए । मध्यपहाडी लोकमार्ग भएर गुड्ने सबै सवारी हटिया बजारमा रोकिने गर्छन् । यात्री चढाउने र ओराल्नेबाहेक काउन्टरसमेत राखिएको छ । हटियाबाट नगरभित्रका ११ वटै वडामा छुट्ने बस, जिप र ट्याक्सीले सडकमै पार्क गर्छन् ।
पार्किङ गर्ने ठाउँ देखाउन नसक्दा जरिवानासमेत गराउन नसकिएको विकले गुनासो गरे । ‘भएकालाई कहिले पुरानो बजार कहिले नयाँ बजारमा पठाएर खाली गरेझैं गर्छौं’ विकले भने, ‘स्थायी व्यवस्थापन नभएपछि के भनेर जरिवाना गर्ने ?’ नगरपालिकाले जग्गा व्यवस्थापन गरिदियो भने अनिवार्य पार्किङमा कडाइ गर्ने उनले बताए । नगरपालिकाले हरिचौर, हटिया र आसपासको क्षेत्रमा जग्गा खोजी गरिरहेको छ । मध्यपहाडी लोकमार्गको छेउ भएकाले अधिकांश जमिन घडेरीको रूपमा बिक्री भइरहेको छ ।
हटिया बजारमै गलकोट मावि र गलकोट बहुमुखी क्याम्पससमेत छन् । नजिकै स्वास्थ्य केन्द्र रहेकाले दैनिक आउने बिरामी र विद्यार्थीको चापले बजार अस्तव्यस्त हुने गरेको हो । बढ्दो बजार भएकाले घर बन्ने क्रम र निर्माण सामग्रीको जथाभावी भण्डारणले झनै ट्राफिक व्यवस्थामा असर परेको हो ।
हरिचौर र नगरपालिकाको कार्यालयतर्फ जाने सडकको गौंदी खोलामा वर्षौंदेखि निर्माणाधीन पुलसमेत बनिनसक्दा सबै गाडी शिवालयचोक नजिकै पार्किङ गरिन्छ । साँघुरा गल्ली भएकाले पुरानो बजारका लागि ल्याइएका खाद्यान्नलगायतका सामग्री पनि मुख्य सडकमै ‘लोड–अनलोड’ गरिँदा बजार साँघुरिएको स्थानीय मनबहादुर खत्रीले बताए ।
गलकोटमा दैनिक ५० भन्दा बढी ट्याक्सी, सयवटा जिप र दर्जनभन्दा बढी बस नियमित चल्छन् । ती सबै सवारीसाधन सडक छेउमै पार्किङ गर्ने गरिएको छ । ट्रक र ट्रयाक्टरसहित निर्माण सामग्री ओसार्ने सवारी पनि हटियाकै मुख्य सडकमा यत्रतत्र रोकिरहेको भेटिन्छ । त्यसै पनि सडक साँघुरो छ । जथाभावी गाडी रोकेर राख्दा झन् समस्या छ ।
प्रकाशित : माघ २८, २०७५ ०९:३४