कोटकालीमा चिरञ्जीवी चिन्तन

कान्तिपुर संवाददाता

गोरखा — नेपाली राजनीतिमा कांग्रेसका प्रभावशाली हस्ती मानिने चिरञ्जीवी वाग्ले यतिबेला हराएका जस्तै छन् । २०३४ मै कांग्रेस गोरखाका सभापति भएका वाग्ले पञ्चायतकालमा पटकपटक गरी ६ वर्ष जेल परेका थिए ।

२०४५ मा पार्टीको केन्द्रीय सदस्य भएका उनी २०४८, ०५१ र ०५६ मा लगातार सांसद मात्रै भएनन्, आपूर्ति, सञ्चार, स्थानीय विकास र समाज कल्याणमन्त्रीसमेत भए ।

२०६७ साल चैत ३ बाट उनी भ्रष्टाचार मुद्दामा १३ महिना जेल परे । मुक्त भएपछि उनको राजनीतिक यात्रामा ब्रेक लागेको छ । न उनी पार्टीका कार्यक्रममा हुन्छन्, न त सभासम्मेलनमा । साबिकको बुंकोट–६ चापाबोट घर भएका उनी यतिबेला फुर्सदिला छन् । सोमबार उनी पुख्र्यौली थलो सहिद लखन गाउँपालिका–८ बुँकोटको कोटकाली भूमे मन्दिर परिसरमा थिए ।

कोटकालीको संरक्षणसँगै यसको प्रवद्र्घनमा वाग्लेले विगतदेखि नै सक्रियता देखाउँदै आएका थिए । भौतिक योजना मन्त्री हुँदा उनले मनकामना आएका धार्मिक पर्यटकलाई बुंकोटको कोटकाली हुँदै गोरखकालीसम्म पुर्‍याउन पदमार्ग निर्माणको खाका यहाँका स्थानीयलाई सुनाएका थिए । ती योजनाहरू उनी सत्तामा छँदा योजनाका रूपमा अघि बढेनन् । तर, उनका कुरा रमाइलो मानेर सुन्न बुंकोटका गाउँले अझै मन पराउँछन् ।

गत मंसिरमा उनले बुढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्रमा पर्ने जग्गाबाट आएको मुआब्जा सोही मन्दिर संरक्षणका लागि अक्षयकोष स्थापना गरे । साबिकको अश्राङ गाविस–५ को कित्ता नम्बर १४२४ को ६ रोपनी क्षेत्रफलबाट आएको २२ लाख १८ हजार ४ सय ४० रुपैयाँ मुआब्जा रकमको चेक मन्दिरको कोषलाई दिएका हुन् ।

मन्दिरमासुरु गरिएको सप्ताहमा सक्रियरूपमा उनी सहभागी छन् । तीन दिनयता बुंकोटमा रहेका उनले भने, ‘मेरो परिवार, बडा, मन्दिर सञ्चालक समितिले संयुक्त रूपमा सप्ताह लगाएका हौं । गाउँका मान्छे र देशलाई अशान्ति नहोस् भन्ने हाम्रो कामना छ ।’

सप्ताह लगाउने तयारी बैठकमा कथा वाचनका लागि वाग्लेलाई पनि लगाउने सहमति गाउँलेले गरेका थिए । त्यसअनुसार वाग्लेले मंगलबार २ घण्टा कथा वाचनसमेत गर्नेछन् । ‘म पनि पण्डितकै छोरो, भोलि २ घण्टा पण्डितकै काम गर्दैछु,’ उनले भने । धार्मिक महोत्सवको अवधिभर आफू बुंकोटमै रहने उनले बताए ।

ऐतिहासिक स्थलको रूपमा परिचित कोटकाली मन्दिर क्षेत्रलाई पर्यटकीयस्थलका रूपमा परिचित गराउन सञ्चालन समिति छ । ‘हाम्रो उद्देश्य भनेकै पर्यटकीय स्थलको रूपमा परिचित गराउनु हो,’ सचिव नेत्र खनालले भने, ‘यहाँ पर्यटक भित्र्याउन प्रचारप्रसारकै आवश्यकता छ ।’ सँगै संरचना निर्माणलाई प्राथमिकतामा राखिएको उनले बताए । ‘हटियाका केही घरमा होमस्टे सेवा सञ्चालन गर्ने तयारी पनि गरिरहेका छौं,’ उनले भने ।

कोटकालीमा नवरात्रि, चैतेदसैं र अक्षय तृतीयामा तीनपटक विशेष पूजा हुन्छ । ‘वर्षमा तीनपटक गोरखकालीमा जस्तै यहाँ पनि वैदिक विधिपूर्वक पूजा हुन्छ,’ वडाध्यक्ष काशी अंगाईंले भने । मन्दिरमा पूजा व्यवस्थापनका लागि वाग्ले र स्थानीयहरूबाट संकलित करिब २५ लाखलाई बढाएर अक्षयकोष ४० लाख पुर्‍याउने योजना रहेको उनले बताए ।

‘वाग्लेले उपलब्ध गराउने जग्गाको मुआब्जा रकममा अझै १६ लाख आउनै बाँकी छ,’ उनले भने, ‘त्यो पनि जम्मा गर्छौं । अक्षयकोषबाट आएको ७५ प्रतिशत ब्याज नित्य पूजा, दसैं पूजा र नगरा लगाउने कर्मचारीलाई ज्याला उपलब्ध गराउँछौं ।’

२५ प्रतिशत ब्याज अक्षयकोषमै थप हुँदै जाने विधान बनाइएको छ । तीन शताब्दी पुरानो मानिएको मन्दिरको संरचनाको जीणोद्धारका लागि गत वर्ष पुरातत्त्व विभागले १० लाख रुपैयाँ उपलब्ध गराएको थियो । कोटकाली सँगै रहेको भूमे मन्दिरमा पूजा गर्दा कृषि उपजको उत्पादन बढ्नेर दैवी विपत्ति नआउने स्थानीयकोविश्वास छ ।

प्रकाशित : माघ २९, २०७५ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

अख्तियारमा स्थानीय तहकै उजुरी धेरै

कान्तिपुर संवाददाता

पोखरा — अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयमा सबैभन्दा बढी स्थानीय तहका उजुरी आउने गरेका छन् ।

आयोगको स्थापना दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयतर्फ बढी उजुरी आएको जनाइएको हो ।

कार्यालयका सूचना अधिकारी रमेश ढकालका अनुसार चालु आर्थिक वर्षको माघ २६ सम्ममा अघिल्लो आवका जिम्मेवारी सरेका २ सय ८७ सहित ५ सय ९४ उजुरी परेका थिए । चालु आवको सोही माघ २६ सम्म जम्मा ३ सय ७ उजुरी परेकामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत विभिन्न स्थानीय तहसँग सम्बन्धित २ सय १७ उजुरी परेको ढकालले बताए ।

‘उजुरीको प्रवृत्ति हेर्दा स्थानीय तहसँग सम्बन्धित धेरै छन्’ उनले भने, ‘विकास निर्माणमा अनियमितता, ढुंगा, गिटी, बालुवा, सार्वजनिक बाटो, घरजग्ग अतिक्रमणलगायतका बढी उजुरी आउँछन् ।’ कार्यालयका अनुसार स्थानीय तहपछि शिक्षा, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात, स्वास्थ्य तथा जनसंख्या र वन तथा वातावरण मन्त्रालयका उजुरी आउने गरेका छन् ।

जिल्लागत रूपमा आयोगको कार्यालय रहेको कास्कीबाट सबैभन्दा बढी उजुरी आउने गरेका छन् । माघ २६ सम्म कास्कीबाट ३ सय १३ उजुरी परेका छन् । त्यसपछि पर्वत, तनहुँ, बागलुङ, स्याङ्जा, लमजुङ, म्याग्दी, गोरखा र मुस्ताङबाट उजुरी आएको कार्यालयले जनाएको छ ।

मनाङबाट भने अहिलेसम्म एउटै उजुरी आएको छैन । आयोगको कार्यक्षेत्र गण्डकी प्रदेशको पूर्वी नवलपरासीबाहेक १० जिल्ला (साबिकका गण्डकी र धौलागिरी अञ्चल) रहेका छन् । आयोगको पोखरा कार्यालय २०७० असोज १ देखि सञ्चालनमा आएको हो ।

स्थापनादेखि माघ २६ सम्म ३ हजार ८८ उजुरी परेकामा २ हजार ७ सय ८५ फछ्र्योट भएको कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षमा ४ वटा स्टिङ अपरेसन भएको र ३६ उजुरीको विस्तृत अनुसन्धान भइरहेको ढकालले बताए ।
विधिको शासन भए भ्रष्टाचार न्यूनीकरण
पोखरामा आयोजित कार्यक्रमका वक्ताले विधिको शासन भए भ्रष्टाचार न्यूनीकरण हुने बताएका छन् । गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले देशको सेवा गर्छु भनी शपथ खाएकाबाटै अख्तियारको दुरुपयोग हुने र यसले भ्रष्टाचारलाई बढाएको बताए ।

विधिको शासन भएमा भ्रष्टाचार पनि न्यूनीकरण हुने भन्दै उनले तर आज नेपालमा विधिमाथि व्यक्तिले शासन गर्ने र सुशासन खोज्ने प्रवृत्ति हाबी भएकाले भ्रष्टाचार मौलाएको जनाए ।

गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीराम पौडेलले अख्तियारले मात्र सुशासन दिन नसक्ने भन्दै सरकारी, गैरसरकारी निकाय, नागरिक समाजलगायतको सहयोग अपरिहार्य रहने बताए । उनले सार्वजनिक पदमा बसेकाहरू डराउने भनेको अख्तियारसँग मात्र भएकाले सोही अनुसार काम गर्नुपर्नेमा जोड दिए ।

सुशासनका लागि नागरिक समाजका अध्यक्ष प्राडा वेदनाथ शर्माले सुशासनका लागि केन्द्रबाटै सबै कामको थालनी हुनुपर्ने बताए । पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले सबैको आत्माबाटै प्रतिबद्धताको खाँचो अाैंल्याए भने ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका पूर्वउपाध्यक्ष आनन्दराज मुल्मीले भ्रष्टाचाररहित समाज निर्माणमा आयोगले प्रभावकारी रूपमा भूमिका निर्वाह गर्नुपर्ने बताए ।

आयोग पोखरा कार्यालयका प्रमुख काशीराज दाहालले सबैको साथसहयोगले मात्र भ्रष्टाचार न्यूनीकरण र सुशासनमा सहयोग मिल्ने बताए ।

प्रकाशित : माघ २९, २०७५ १०:१७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT