कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

विद्यालयमा खोलाको जोखिम

बागलुङ — भवन बनाउन अभिभावकले जग्गा खोजी गर्दा खोला पारीको भेट्टाए । बस्ती नजिक जमिन नपाएपछि त्यसैमा तीनकोठे भवन बनाइयो । 

विद्यालयमा खोलाको जोखिम

गलकोट नगरपालिका–७ मल्मको सप्ताहघाटको प्रगति आधारभूत विद्यालयमा खोला वारी र पारी भवन भएपछि विद्यार्थी जोखिम मोलेर पढ्न बाध्य छन् । खोलमा बर्सेनि काठको पुल बनाउने गरिन्छ ।


तर, वर्षातमा काठ मक्किएपछि दुर्घटनाको खतरा बढ्ने गरेको छ । गएको वर्षामा बनाइएको काठे पुल यतिबेला फेरि कुहिएर मक्किएको छ । उक्त पुलबाट दैनिक विद्यार्थी आउजाउ गर्नुपर्दा दुर्घटनाको खतरा भएको प्रधानाध्यापक नगेन्द्र मल्लले बताए । ‘काठको पुलमा जतिबेला पनि दुर्घटनाको खतरा छ, पक्की पुलका लागि सहयोग मागेको कतैबाट पाइएन’ मल्लले भने, ‘पटक–पटक स्थानीय विकास अधिकारी, जिल्ला शिक्षा अधिकारीहरूले आश्वासन दिएर गए पनि काम भने भएन ।’ यो पुल तरेर कक्षा ५, ६ र ७ ले अध्ययन गर्छन् । साथै विद्यालयमै जोडिएकाले सबै विद्यार्थी आउजाउ गरिरहँदा जोखिम बढेको हो ।


खोलाले बर्सेनि कटान गर्दा दुवैतर्फको पर्खालसमेत भत्काउने गरेको छ । अभिभावकको चन्दा संकलन गरेर दोहोरा पर्खाल लगाएर खोला व्यवस्थापन गर्ने काममा लाखौं खर्च भइरहेको अध्यक्ष रामबहादुर थापाले बताए ।


‘सप्ताहघाटदेखि विद्यालय सम्मको ५ सय मिटर खण्ड जहिले पनि जोखिममा परेको छ,’ उनले भने, ‘बाढी पस्यो भने हामीले कल्पनै नगर्ने दुर्घटना हुनेछ ।’ प्रगति बाल विकास केन्द्र माथिल्लो भागमा छ । तल्लो भागमा विद्यालय छ । बालविकास केन्द्रमा २० जना बालबालिका छन् । विद्यालयमा १ सय ३० बालबालिका पढ्छन् ।


विद्यालयले यो खण्डमा तटबन्धन गर्न र पक्की पुल बनाइदिन नगरपालिकामा समेत माग गरेको छ । तर अहिलेसम्म चासो नभएको हो । ‘चालु वर्षका लागि यहाँ पुल बनाउने कार्यक्रम छैन’ वडाध्यक्ष लोकबहादुर थापाले भने, ‘वडा तहबाट माग गरिएको थियो, नगरपालिकाले योजनामा समावेश गरेन ।’ आगामी वर्षका लागि भए पनि बजेट विनियोजन गरेर विद्यालयको सुरक्षा गर्न प्राथमिकताको योजनामा राखेको उनले बताए ।


विद्यालयको भवनसमेत पुरानो छ । आधुनिक भवन नभएको, खेल मैदान सानो भएकोले खोला पारीका दाताले दिएको जग्गा प्रयोग गरेर भवन बनाउनुपरेको थापाले गुनासो गरे । ‘समितिले व्यवस्थापकीय काम हेर्ने हो, भवन बनाउने, तटबन्धन गर्ने र बाढी आयो भने कुरेर बस्न पनि भ्याइन्न,’ थापाले भने, ‘कम्पाउन्ड सुरक्षा गरेर पक्की पुल बनाउन सकियो भने ढुक्क भइन्थ्यो ।’


विद्यालयमा ११ जना निजी स्रोतका शिक्षक राखेर अंग्रेजी माध्यममा पढाइएको छ । दरबन्दीका दुईजना शिक्षक छन् । प्रअ मल्ल र कृष्ण गौतम मात्र दरबन्दीका शिक्षक हुन् । अभिभावकले चन्दा उठाएर शिक्षक पालेका हुन् ।


नगरपालिकाले आगामी वर्षभित्र एक–दुईजना दरबन्दी मिलाइदिने आश्वासन दिएको छ । उक्त आश्वासन पूरा भयो भने चन्दाको रकम निर्माणमा लगाउन सकिने थापाले बताए । गत वर्ष सप्ताहघाटमा आएको बाढीले विद्यालयको पर्खालसहित आसपासका किसानको खेतसमेत बगाएको थियो ।

प्रकाशित : माघ २९, २०७५ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?