८ रोपनीको तरकारी उखेलेर उपद्रो

हरिराम उप्रेती

गोरखा — गोरखा– सहिद लखन गाउँपालिका–८ बुंकोट ज्यादुल फाँटस्थित छबीसेको तरकारी खेतीमा अज्ञात समूहले नोक्सानी पुर्‍याएको छ । 

गोरखाको सहिद लखन–८ बुंकोटको छबीसेमा आलु बालीमा अज्ञात समूहले पुर्‍याएको क्षति हेर्दै किसान ।तस्बिर : हरिराम/कान्तिपुर

शनिबार राति करिब आठ रोपनी क्षेत्रफलको खेती उखलेर नाश पारेको किसानहरूले बताए । ‘आइतबार घाँस काट्न खेतमा आएका छिमेकीले बाँदरले आलु खोस्रियो भनेर खबर गरे,’ स्थानीय बद्री थापाले भने, ‘हतार–हतार खेत पुगें । गोडमेल गर्ने बेला भएको आलु उखेलेर छोडिदिएछन्, मुला उखेलेर चाङ बनाएर राखिदिएछन् । बाँदरले भए खान्थ्यो होला, दिनभर केही नभएको बारीमा राति के बाँदर लाग्नु, मान्छेको पाइला नै पाइला छन् ।’ उछृङ्खल समूहले खेती नष्ट गरेको किसानहरूकोभनाइ छ ।

भीमसेन थापा गाउँपालिका–८ को चालिसे फाँटको तरकारी खेतीमा पनि त्यस्तै उपद्रो भएको छ । ‘पुसमा लगाएको आलु फागुन अन्तिमतिर खन्ने बेला हुन्छ,’ थापाले भने, ‘उखलेपछि त सिद्घिगयो नि, अब दाना पनि बढ्दैन, कुहिन थाल्छ । अब फेरि त्यही खेती दोहोर्‍याएर गर्ने समय पनि सकियो । यो वर्षको परिश्रम र लगानी त्यसै खेर गयो ।’

आठजना किसानले लगाएको तरकारी खेतीमा नोक्सानी पुगेको हो । ‘बन्दा भाँचेर छाडिदिएछन्, केराउ माडेर, बकुल्ला सिमीका मुन्टा निमोठिदिएपछि कसरी उत्पादन दिन्छ,’ स्थानीय मीनबहादुर थापाले भने, ‘एक हल गोरुको दिनमा १५ सय लिन्छन्, मल हाल्दा नगद पनि खर्च हुन्छ । दु:खको त कुरै छाडौं, लगानी पनि खेर गयो ।’

यो वर्ष आलुको उत्पादन बढ्ने अनुमान गरेका किसान खेतीमा नोक्सान पुगेपछि चिन्तित छन् । ‘तीन दिनअघि यहींको तल्लो फाँटमा तीन थुन्से काउली चोरी भयो । कसले लग्यो थाहा नै भएन,’ सानुकाजी थापाले भने, ‘अहिले फेरि यतिका नोक्सान पुगेपछि किसानको मनोबल घटेको छ ।’

घरायसी प्रयोजन र बिक्रीका लागि लगाएको खेतीमा क्षतिले किसान हैरान छन् । ‘अस्ति भर्खर गोडमेल सकेको, यो वर्ष मुला साह्रै राम्रो थियो । आलु पनि पोहोरभन्दा धेरै फल्छ भन्ने लगेको थियो,’ बद्रीले भने, ‘हिजो आएर हेर्दा ड्याङको हालत यस्तो छ ।

फेरि एकपल्ट गोडमेल गर्ने तयारीमा थिएँ, अब यही अवस्थामा गोडमेल गर्ने नगर्ने पनि सोच्न सकेको छैन ।’ नोक्सान पुर्‍याउने समूहलाई पहिचान गरेर कारबाही नगरे फेरि खेती गर्न नसकिने गाउँलेले बताए । ‘यति ठूलो उपद्रोले घाटा त भइहाल्यो,’ थापाले भने, ‘अब मकै, धान लगाउने बेला भयो । बोट समातेर बस्ने कुरा आएन, यस्तै नोक्सान हो भने दु:ख गर्नुको के अर्थ भयो र ।’

नोक्सान गर्नेलाई कारबाहीको माग गर्दै बुंकोट प्रहरी चौकीमा किसानहरूले सोमबार उजुरी दिएका छन् । आलु, बन्दा, काउली, केराउ र बकुल्ला बाली चोरी हुनुका साथै उखेली नष्ट पार्नेलाई खोजी गरी कारबाही गरिनुपर्ने उजुरीमा उल्लेख छ । आलु मात्र करिब ५० क्विन्टल नोक्सानी पुगेको किसानको दाबी छ ।

सोमबार नै प्रहरी टोलीले घटनस्थल पुगेर स्थलगत निरीक्षण गरेको छ । शंकरबहादुर थापा, सूर्यबहादुर थापा, बद्रिबहादुर थापा, नरबहादुर परियार, उमा परियार, मीनबहादुर थापा, तुलप्रसाद अंगाई र चोलानाथ अंगाईले संयुक्त रूपमा उजुरीदिएका हुन् ।

प्रकाशित : माघ २९, २०७५ १०:२१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

विद्यालयमा खोलाको जोखिम

कान्तिपुर संवाददाता

बागलुङ — भवन बनाउन अभिभावकले जग्गा खोजी गर्दा खोला पारीको भेट्टाए । बस्ती नजिक जमिन नपाएपछि त्यसैमा तीनकोठे भवन बनाइयो । 

बागलुङको गलकोट नगरपालिका–७ सप्ताहघाटमा रहेको प्रगति आधारभूत विद्यालय र काठको कच्ची पुल । तस्बिर : प्रकाश बराल/कान्तिपुर 

गलकोट नगरपालिका–७ मल्मको सप्ताहघाटको प्रगति आधारभूत विद्यालयमा खोला वारी र पारी भवन भएपछि विद्यार्थी जोखिम मोलेर पढ्न बाध्य छन् । खोलमा बर्सेनि काठको पुल बनाउने गरिन्छ ।

तर, वर्षातमा काठ मक्किएपछि दुर्घटनाको खतरा बढ्ने गरेको छ । गएको वर्षामा बनाइएको काठे पुल यतिबेला फेरि कुहिएर मक्किएको छ । उक्त पुलबाट दैनिक विद्यार्थी आउजाउ गर्नुपर्दा दुर्घटनाको खतरा भएको प्रधानाध्यापक नगेन्द्र मल्लले बताए । ‘काठको पुलमा जतिबेला पनि दुर्घटनाको खतरा छ, पक्की पुलका लागि सहयोग मागेको कतैबाट पाइएन’ मल्लले भने, ‘पटक–पटक स्थानीय विकास अधिकारी, जिल्ला शिक्षा अधिकारीहरूले आश्वासन दिएर गए पनि काम भने भएन ।’ यो पुल तरेर कक्षा ५, ६ र ७ ले अध्ययन गर्छन् । साथै विद्यालयमै जोडिएकाले सबै विद्यार्थी आउजाउ गरिरहँदा जोखिम बढेको हो ।

खोलाले बर्सेनि कटान गर्दा दुवैतर्फको पर्खालसमेत भत्काउने गरेको छ । अभिभावकको चन्दा संकलन गरेर दोहोरा पर्खाल लगाएर खोला व्यवस्थापन गर्ने काममा लाखौं खर्च भइरहेको अध्यक्ष रामबहादुर थापाले बताए ।

‘सप्ताहघाटदेखि विद्यालय सम्मको ५ सय मिटर खण्ड जहिले पनि जोखिममा परेको छ,’ उनले भने, ‘बाढी पस्यो भने हामीले कल्पनै नगर्ने दुर्घटना हुनेछ ।’ प्रगति बाल विकास केन्द्र माथिल्लो भागमा छ । तल्लो भागमा विद्यालय छ । बालविकास केन्द्रमा २० जना बालबालिका छन् । विद्यालयमा १ सय ३० बालबालिका पढ्छन् ।

विद्यालयले यो खण्डमा तटबन्धन गर्न र पक्की पुल बनाइदिन नगरपालिकामा समेत माग गरेको छ । तर अहिलेसम्म चासो नभएको हो । ‘चालु वर्षका लागि यहाँ पुल बनाउने कार्यक्रम छैन’ वडाध्यक्ष लोकबहादुर थापाले भने, ‘वडा तहबाट माग गरिएको थियो, नगरपालिकाले योजनामा समावेश गरेन ।’ आगामी वर्षका लागि भए पनि बजेट विनियोजन गरेर विद्यालयको सुरक्षा गर्न प्राथमिकताको योजनामा राखेको उनले बताए ।

विद्यालयको भवनसमेत पुरानो छ । आधुनिक भवन नभएको, खेल मैदान सानो भएकोले खोला पारीका दाताले दिएको जग्गा प्रयोग गरेर भवन बनाउनुपरेको थापाले गुनासो गरे । ‘समितिले व्यवस्थापकीय काम हेर्ने हो, भवन बनाउने, तटबन्धन गर्ने र बाढी आयो भने कुरेर बस्न पनि भ्याइन्न,’ थापाले भने, ‘कम्पाउन्ड सुरक्षा गरेर पक्की पुल बनाउन सकियो भने ढुक्क भइन्थ्यो ।’

विद्यालयमा ११ जना निजी स्रोतका शिक्षक राखेर अंग्रेजी माध्यममा पढाइएको छ । दरबन्दीका दुईजना शिक्षक छन् । प्रअ मल्ल र कृष्ण गौतम मात्र दरबन्दीका शिक्षक हुन् । अभिभावकले चन्दा उठाएर शिक्षक पालेका हुन् ।

नगरपालिकाले आगामी वर्षभित्र एक–दुईजना दरबन्दी मिलाइदिने आश्वासन दिएको छ । उक्त आश्वासन पूरा भयो भने चन्दाको रकम निर्माणमा लगाउन सकिने थापाले बताए । गत वर्ष सप्ताहघाटमा आएको बाढीले विद्यालयको पर्खालसहित आसपासका किसानको खेतसमेत बगाएको थियो ।

प्रकाशित : माघ २९, २०७५ १०:१९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT