१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

कहिले खुल्ला मनाङको बाटो ?

हिउँले गर्दा अन्दाजको भरमा हिंड्नुपर्ने बाध्यता
आश गुरुङ

लमजुङ — घरेलु तथा साना उद्योग विकास समिति मनाङका उद्योग अधिकृत प्रदीप न्यौपाने मंगलबार मुस्किलले चामे पुगे । बेंसीसहरबाट उनलाई चामे पुग्न २ दिन लाग्यो । एकतर्फी जिपमा ६ देखि ७ घण्टा लाग्ने बाटोको तिमाङदेखि चामेसम्मको हिउँ छिचोल्न उनलाई आधा दिन नै लाग्यो ।

कहिले खुल्ला मनाङको बाटो ?

‘बाटोमा मान्छे हिँड्नसमेत गाह्रो छ । जताततै हिउँ छ । टेक्ने ठाउँ कहाँ हो थाहा छैन । अन्दाजको भरमा हिँडेर पार गरियो,’ चामे पुगेपछि टेलिफोनमा उनले भने । उनका अनुसार तिमाङ र थान्चोकबीचको स्याक्र्युखोला नजिकै ठूलो ढुंगा झरेपछि बाटो अवरुद्ध छ । तिमाङबाट सवारी साधन अघि बढ्न सकेको छैन । ‘ठूलो ढुंगा छ । यो ढुंगा फुटाउन छिटो पहल गरिदिए हुन्थ्यो,’ उनले भने ।


अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङमा कार्यरत कैलाशबाबु तिवारी केही दिनअघि माथिल्लो मनाङबाट बेंसीसहर झरे । करिब ९ घण्टामा एकतर्फी यात्रा गर्न सकिने माथिल्लो–बेंसीसहरबाटो पार गर्न उनलाई ३ दिन लाग्यो ।


उनका अनुसार माथिल्लो मनाङदेखि चामे र चामेदेखि तिमाङसम्म हिउँ छ । हिउँ पग्लिँदै गएको ठाउँ पूरै पानी भएर हिँड्न मुस्किल छ । ‘त्यत्रो दिन हिउँ पर्दा मनाङमै थुनिएँ । जबर्जस्ती आइयो । बाटो कहिले खुल्छ ? त्यसपछि फर्किनुपर्ला,’ उनले भने ।


न्यौपाने र तिवारी उदाहरण मात्र हुन् । चक्रीय अन्नपूर्ण पदमार्गमा पर्यटक आवागमन बिस्तारै बढ्न थाल्दासमेत स्थानीय प्रशासनलगायत सम्बन्धित निकायले बाटो छिटो खुलाउने पहल नगरेको यात्रुको गुनासो छ । हिमपातसँगै माघ ८ गतेदेखि बन्द तिमाङदेखि माथिल्लो मनाङसम्मको सडक बन्द हुँदा सबैखाले ढुवानी ठप्प छ । ३ सातासम्म ढुवानी बन्द हुँदा मनाङमा खाद्यान्न अभाव सुरु भएको स्थानीयले बताएका छन् । बाटोमा ढुंगामुढा खस्नुका साथै स–साना पहिरो गएको र रूखहरू ढलेको उनीहरूको भनाइ छ ।


मनाङमा बस्ती ढाकिने गरी ३ दिनयता हिमपात नभएको स्थानीय बताउँछन् । हिमपात रोकिएपछि सामान्यतर्फ उन्मुख स्थानीय जनजीवन सडक र पदमार्ग बन्द रहेकाले अझै सहज नभएको स्थानीय दुखेसो गर्छन् । नेपाली सेनाको रणदल गण, सशस्त्र प्रहरीको ३२ नं. गुल्म, नेपाल प्रहरीलगायतले दैनिक बाटो सफा गरिरहे पनि बाटो सहज बनेको छैन ।


मंगलबार नासों गाउँपालिकाको दानाक्युबाट तिमाङसम्म उक्त क्षेत्रमा जलविद्युत् आयोजना निर्माण थालेको चिनियाँ कम्पनीको एक्साभेटरले सफा गरेको छ । मनाङ ङिस्याङ गाउँपालिकाको भ्राताङबाट एग्रो मनाङ प्रालिको एक्साभेटरले करिब ७ किलोमिटरको हिउँ हटाएर चामे आएको छ ।


प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले चामेसम्म आएको मेसिन स्याक्र्युसम्म गएको बताए । उनका अनुसार पूरै हिउँ पाल्न नसकिए पनि ठूला ठूला हिउँ फालेको उनले बताए । ‘मेसिनको चेन पछ्याएर गए मात्रै, सहज रूपमा सवारी चल्न त अझै १/२ दिन लाग्ला,’ उनले भने । उनका अनुसार सबैभन्दा ठूलो समस्या स्याक्र्युखोला नजिकैको ढुंगा खसेको हो ।


उक्त ढुंगामा बम पडाउँदा माथिबाट पहिरो झर्ने र काम झन थपिने समस्या हुन सक्ने उनले बताए । ‘हामी तलबाट खनेर ढुंगा पल्टाउने, बम पडाउने वा ढुंगाको पछाडिबाट बाटो बनाउने भन्ने विषयमा यही गर्ने भन्ने निष्कर्षमा पुगेका छैनौं । छिट्टै निर्णयमा पुगेर काम गर्छौं,’ उनले भने ।

प्रकाशित : फाल्गुन १, २०७५ १२:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?