स्थानीय उत्पादनलाई प्राथमिकता

कान्तिपुर संवाददाता

स्याङ्जा — आँधीखोला महोत्सवले स्थानीय उत्पादन प्रवद्र्धन गर्न प्रतिस्पर्धाका आधारमा २ लाख रुपैयाँ पुरस्कार दिने भएको छ । आगामी फागुन १७ देखि डेढ साता सञ्चालन हुने प्रथम स्याङ्जा आँधीखोला महोत्सवमा गुणस्तरीय स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न पुरस्कारको व्यवस्था गरिएको आयोजक स्याङ्जा चेम्बर अफ कमर्सले जनाएको छ । 

‘हाम्रो जिल्लाका कृषि उत्पादनको स्तर र अवस्था पनि महोत्सवबाट अझ प्रस्ट हुनेछ,’ आयोजक संस्था अध्यक्ष तथा महोत्सव संयोजक नन्दकुमारी लम्सालले भनिन्, ‘यसरी कृषि उत्पादनलाई प्रतिस्पर्धा गराएर गहकिलो पुरस्कार दिन लागिएको महोत्सव यो नै पहिलो हुनेछ ।’


कुखुरा प्रदर्शनीमा ७५ हजार, ताजा तरकारी, मह, माछा र कफी प्रदर्शनीमा उत्कृष्टलाई ५०/५० हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको उनले बताइन् । पुतलीबजार–१ मालेबगर खेलमैदानमा हुने महोत्सवबाट ७० लाख आम्दानी र ५० लाख खर्च हुने अनुमान आयोजकको छ ।


पुतलीबजार–१४ सतौंचण्डीमा पत्रकार सम्मेलन आयोजकले महोत्सवको मिति र कार्यक्रम घोषणा गरेका हुन् । श्रवणकुमार उनका अन्धाअन्धी बुबाआमाको ऐतिहासिक एवं धार्मिक पृष्ठभूमि, स्याङ्जाली सभ्यता र साझा पहिचानको रूपमा रहेको आँधीखोलाको महत्त्वको प्रचारमा पनि होत्सवले सघाउने आयोजकले जनाएका छन् ।


‘महोत्सवले व्यापार मात्रै नगरेर हाम्रो जिल्लामा उत्पादित वस्तुको प्रचार र बजारीकरणमा पनि टेवा पुग्ने वातावरण सृजना गर्नेछ,’ अध्यक्ष लम्सालले भनिन्, ‘पर्यटकीय र धार्मिक स्थलहरूको प्रचारप्रसार पनि हुन्छ ।’ पत्रकार सम्मेलनमा सहभागी जिल्ला समन्वय समिति प्रमुख सीता सुन्दास, पुतलीबजार नगरप्रमुख सीमा क्षत्री, वडाध्यक्षहरू अमृत श्रेष्ठ र शेषराज ढकाललगायतले महोत्सवलाई सफल पार्न प्रतिबद्ध रहेको बताएका थिए ।

प्रकाशित : फाल्गुन १, २०७५ १२:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?