३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

‘हेलो मुख्यमन्त्री’ मा बढ्दो गुनासो

प्रदेश सरकारले ‘हेलो मुख्यमन्त्री’ कक्ष सञ्चालन गरेको ५ महिनाको अवधिमा २८५ जनाको निवेदन
कान्तिपुर संवाददाता

कास्की — जनताको गुनासो सुन्न गण्डकी प्रदेश सरकारले व्यवस्था गरेको ‘हेलो मुख्यमन्त्री’ कक्ष सञ्चालन आएयता २ सय ८५ जनाको निवेदन परेको छ । सञ्चालन भएको ५ महिनामा ३२ मागपत्र, २० सुझाव, ४ ज्ञापनपत्र, ३ आपतकालीन सहायता माग र अपराध नियन्त्रणको एउटा निवेदन परेको छ । 

निवेदनमध्ये १ सय ५१ वटा फछ्र्यौट गरिएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । १९ मागपत्रको विषय टुंगो लगाइएको छ भने सबै ज्ञापनपत्रको विषय छिनोफानो गरिएका छन् । फोन, एप्स र इमेलमा आएका सुझावमध्ये १९ वटा फछ्र्योट गरिएका छन् । सडक सुधार, भौतिक पूर्वाधार, सामाजिक विषयवस्तु र आवश्यक कारबाही सम्बन्धमा गुनासो र निवेदन आउने गरेको मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बताए ।


‘जे जे विषयमा उजुरी, निवेदन आउँछन् त्यसलाई सम्बन्धित मन्त्रालय र मातहतका विभाग र कार्यालयमा पठाउँछौं ।’ मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा ४० निवेदन परेका छन् । त्यसमा २६ वटा फछ्र्योट भइसकेको उनले बताए ।


आर्थिक मामिला तथा योजना मन्त्रालयसँग सम्बद्ध ११ निवेदनमध्ये ९ फछ्र्योट गरिएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयमा १ सय २० पठाइएकोमा ७३ फछ्र्योट भइसकेको छ । भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा पुगेका १४ मध्ये ९ वटा फछ्र्योट भएका छन् ।


आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँग सम्बन्धित ५८ मा १४ वटा फछ्र्योट भएको छ । सामाजिक विकास मन्त्रालयमा पठाइएका ६५ निवेदनमा ५९ फछ्र्योट भएको छ । उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालयमा पठाइएका ४२ वटामा १६ वटा फछ्र्योट भएका छन् । पोखरा महानगरपालिका सम्बद्ध ३८ मा १४ वटा फछ्र्योट भएको जानकारी हेलो मुख्यमन्त्री कक्षमा छ ।


सर्वसाधारण नागरिकको गुनासो सुनुवाइका लागि गत भदौबाट ‘हेलो मुख्यमन्त्री’ सञ्चालनमा ल्याइएको थियो । पैसा नलाग्ने १०९४ नम्बरमा फोन गर्नुका साथै इमेल गरी गुनासो टिपाउन सकिने कार्यालयले जनाएको छ ।

प्रकाशित : फाल्गुन १, २०७५ १२:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?