कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

सहिदका परिवार चिन्दैनन् नेता

नेताहरू १६ वर्षसम्म पनि सहिद परिवारभन्दा टाढै रहे
प्रकाश बराल

बागलुङ — छोरालाई सुरक्षा फौजले गोली हानेर मारेको घटनापछि धेरैपटक गाउँ आएका नेताहरूले सोधीखोजी नगरेरै १६ वर्ष बितेको उनको अनुभव छ । बागलुङ नगरपालिका–७ कालीमाटीका गौरीशंकर बिकलाई बुधबारको जनयुद्ध दिवस कार्यक्रममा निम्ता आयो । हतार हतार सदरमुकाम झरे ।

सहिदका परिवार चिन्दैनन् नेता

कार्यक्रममा उनलाई अबिर लगाएर सम्मान गरियो । उनको कान्छो छोरा दीपकको २०५९ साल जेठ ८ मा गोली हानेर हत्या गरिएको थियो । यसअघि उनीहरूको पीडा सुनिदिने र राहतका लागि पहल गरिदिने नागरिक अगुवाहरू थिए ।


उनीहरूकै सहयोगबाट छोराको हत्याको ५ वर्षपछि राहत सहयोग पाएका थिए । त्यही पैसाले जीवन चलाउन मद्दत मिलेको उनले बताए । कान्छो छोराको हत्यापछि जेठोले घरजग्गा बेचेर खाएको र माइलो काम खोज्न भनेर हिंडेको नफर्केको बिकले गुनासो गरे । अहिले श्रीमती आँखा देख्दिनन्, आफू पनि बिरामी छन् । मजदुरी गरेर खान नसक्ने भएकाले जीवन कटाउन सास्ती भएको उनले गुनासो गरे ।


यस्तै घटना तित्याङकी माया नेपालीको पनि छ । मायाकी २१ वर्षीया छोरीको २०६० सालमा हत्या भयो । छोरीका लागि न्यायको खोजीमा अझै उनी लागिरहेकी छन् । बुधवारको जनयुद्ध दिवस मनाइरहँदा सत्ताधारी नेकपाका जिल्लास्तरीय कार्यकर्तापछि उनीहरूलाई राखिएको थियो । ‘बोलाएर आएको हुँ । टिका लगाईदिए, मेरो छोराको रगतले न्याय पाओस्,’ बिकले भने, ‘सहिदको रगतले आएको गणतन्त्र खतरामा पार्न भएन ।’ पार्टी एकताको एक बर्ष नपुग्दै झगडा सुरु भएको खबर सुन्दा नरमाइलो लागेको उनले बताए ।


अमलाचौरकी प्रभालक्ष्मी ढकालले छोरा गुमाएको पनि १७ वर्ष पुग्यो । आइएससी पढ्दै गरेका छोरा गणेशको २०५९ जेठमा रुपन्देहीमा मृत्यु भएको थियो । छोराको मृत्युको केही समयमै श्रीमानको ह्दयघातले निधन भएपछि ढकाल एक्लिएकी छन् । छोराको आत्माले शान्ति पाउने गरी दलहरू मिलेर गणतन्त्र र संघीयता सफल बनाउनुपर्ने उनले सुझाव दिइन् । दुइतिहाईको सरकार भएकोले आफ्नै क्षमताले काम गर्नुपर्ने उनको तर्क छ । ‘अब आफ्नो दल मात्र हैन विपक्षीलाई पनि मिलाएर जानुपर्छ,’ ढकालले भनिन्, ‘निरंकुशताविरुद्ध लडेकाहरूले आफ्नै सहकर्मीको विरोध गरेर सफल भइन्न ।’


सत्ताधारी नेपाल कम्युनिस्ट पार्टीले बुधबार जनयुद्ध दिवश मनाउँदा सहिद परिवार भन्दै उनीहरूको सम्मान गरेको थियो । सम्मानकै क्रममा जिल्ला तहसम्म पार्टी एकता भइनसकेकामा जिल्ला स्तरीय कार्यकर्ताको पनि आक्रोस थियो ।


‘भावनात्मक र संगठनात्मक एकता भनसकेकाले सहिद, घाइते र अन्य योद्दालाई हेर्ने दृष्टिकोण र सहयोग अझै समान भएको छैन,’ नेकपा जिल्ला संयन्त्र सदस्य ज्ञामनाथ गैह्रेले भने, ‘छिट्टै एकता टुंग्याएर साझा कम्युनिस्ट पार्टी निर्माणमा लाग्नुपर्छ ।’ उनको टिप्पणीमा नेकपाका केन्द्रीय सदस्य गोविन्द नेपालीले एकदुई महिनाभित्रै पार्टी एकीकरण वडा तहमा पुग्ने दाबी गरे । ‘अब सहिद परिवार, घाइते र बेपत्ताहरूलाई समेटेर आर्थिक समृद्धिको योजना बन्छ,’ नेपालीले भने, ‘भोलिका युवाले नेपाली कम्प्युनिस्टको इतिहास पढेर थप योगदान गर्ने बनाउनुपर्छ ।’


विप्लव समूहको मार्चपास

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बुधबार बागलुङ बजारमा सयौं युवाको मार्चपास गराएको छ । जनयुद्ध दिवसको अवसर पारेर मार्चपास र सार्वजनिक सभासमेत गरेको हो ।


बैज्ञानिक समाजवाद निर्माणका लागि सबै एकपटक युद्ध मोर्चामा होमिनुपर्ने नेताहरूले बताए । ‘जनयुद्ध र जनआन्दोलनले मात्र नपुगेकोले एकीकृत जनक्रान्ति आवश्यक भयो,’ जिल्ला इन्चार्ज विकिरण क्षेत्रीले भने, ‘हामीले दबाबमूलक अभियानबाटै जनक्रान्तिको बाटो रोजेका छौं, आवश्यक पर्दा युद्ध के हो देखाइदिन सक्छौं ।’ सत्ताधारी नेकपाले बन्द कोठामा मनाएको दिवस विप्लव नेतृत्वको पार्टीले भने सार्वजनिक स्थानमा मनाएको हो । मार्चपासमा सयौं युवा सहभागी थिए ।


मनाइयो जनयुद्ध दिवस

स्याङ्जा (कास)– दसवर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनपश्चात् मुलुक शान्ति प्रक्रियामा आएको छ । शान्ति प्रक्रिया भएको १२ वर्ष बितिसक्दा नेपालका ठूला कम्युनिस्ट पार्टी एक ढिक्का भएका छन् ।


पार्टी एकीकरणसँगै उनीहरूले पहिलो पटक जनयुद्ध दिवस मनाएका छन् । स्याङ्जामा पनि नेकपाले बुधबार २४ औं जनयुद्ध दिवस मनाएको छ । जिल्लाका एघारवटै स्थानीय तहमा नेकपाको आयोजनामा दिवस मनाइएको थियो । पुतलीबजार नगरस्तरीय नेकपाको जिल्ला पार्टी कार्यालयमा मनाउदै गर्दा जनयुद्ध गर्नुको प्रमुख जड नेपाली कांग्रेस रहेको बताए । तत्कालीन प्रधानमन्त्री र कांग्रेस पार्टीकै कारण युद्धमा होमिनुपरेको आरोप उनीहरूको थियो ।


नेकपाका गण्डकी प्रदेश सदस्य शैलेन्द्र घिमिरले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष केही माग राखिएको र प्रमले संबोधन गर्न नमानेकै कारण मुलुक युद्धमा होमिएको बताए । ‘त्यो बेलासम्म मुलुकमा माओवादी थिएन’ उनले विगत स्मरण गर्दै भने, ‘कम्युनिष्टको नाताले केही माग गरिएको थियो । तत्कालीन प्रम देउवाले सिधै तपाईहरूको माग सम्बोधन गर्दिन भनेपछि त्यो बेलाको प्रचण्ड नेतृत्व युद्धमा प्रवेश गर्‍यो ।’ प्रचण्ड नेतृत्वका मानिस माओवादी नामले चिनिदै ४० बुँदे माग प्रम देउवाको हातमा राखेर जनयुद्ध थालिएको उनले बताए ।

प्रकाशित : फाल्गुन २, २०७५ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?