१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

मनाङका स्थानीय तह प्रविधिमैत्री

आश गुरुङ

लमजुङ — भौगोलिक विकटको मनाङ प्रविधिमैत्री बन्दै गएको छ । प्रविधिका माध्यमबाट सूचना आदानप्रदान तथा कार्यसम्पादन समेत हुन थालेको छ ।

मनाङका स्थानीय तह प्रविधिमैत्री

साविकको १३ गाविसको मनाङलाई ४ स्थानीय तहमा विभिाजन गरिएको छ । मनाङ ङिस्याङ, चामे, नार्पाभूमि र नासों गाउँपालिका गरी ४ स्थानीय तह छन् । चारैवटा स्थानीय तहका वेभसाइट अद्यावधिक (अपडेट) छन् ।


सवै गाउँपालिकाले मोवाइल एप बनाएको छ । सवै गाउँपालिकाले फेसबुक र टीटर अकाउन्ट खोलेका छन् । गाउँपालिकाले गरेका क्रियाकलापको जानकारी र तस्बिर वेभसाइट, मोवाइल एप, फेसबुक र टीटरबाट सार्वजनिक गर्ने गरिएको छ । यी सवै संचालनका लागि हरेक स्थानीय तहमा सूचना प्रविधि अधिकृत राखिएका छन् ।


नागरिकलाई स्थानीय तहको सेवासुविधाबारे जानकारी दिन डिजिटल बडापत्र राख्न थालिएको छ । कार्यालयका कर्मचारीले विद्युतीय हाजिरी गर्न थालेका छन् । डिजिडल बडापत्र र विद्युतीय हाजिरी मेशिन राख्ने क्रममा रहेको स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीले बताएका छन् । नासों गाउँपालिका अध्यक्ष चन्द्र घलेका अनुसार गाउँपालिकालाई प्रविधिमैत्री बन्दै लगिएको छ ।


कार्यालयको वेभसाइट, मोवाइल एप, फेसबुक, टीटरमार्फत गाउँपालिकाका कामबारबाहीको जानकारी दिने गरिएको उनले बताए । उनका अनुसार कर्मचारीको हाजिरी विद्युतीय मेशिनबाट गर्न थालिएको छ । तीन गाविस मिलेर बनेको नासों गाउँपालिका अन्य ३ वटा भन्दा केही सुगम छ । लमजुङको मस्र्याङदी गाउँपालिकासंग जोडिएको छ ।


७ गाविस मिलेर बनेको मनाङ ङिस्याङ गाउँपालिकामा विद्युतीय हाजिरी मेशिन ल्याउने तयारी गरिएको अध्यक्ष कान्छा घलेले बताए । उनका अनुसार डिजिटल बडापत्र राखिएको छ । फेसबुक र टीटर अकाउन्ट, मोवाइल एप र वेभसाइटमार्फत गाउँपालिकाले गर्दै आएका कामकारबाहीबारे जानकारी दिने गरिएको छ ।


चामे गाउँपालिका अध्यक्ष लोकेन्द्र घलेका अनुसार डिजिटल बडापत्र र विद्युतीय हाजिरीको तयारी भइरहेको छ । गाउँपालिकाले गर्ने कामकारबाही मोवाइल एप, वेभसाइट, फेसबुक तथा टीटर अकाउन्टबाट जानकारी गराउँदै आएको उनले बताए । चामे गाउँपालिका यसअघिको एउटै गाविस हो ।


मनाङमा सवैभन्दा विकट मानिने नार्पाभूमि गाउँपालिकाले समेत मोवाइल एप, टीटर, फेसबुक पेज र वेभसाइट संचालन गरेको छ । यी चारवटै सञ्जाल सक्रिय रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद बाँस्तोलाले बताए ।


‘हामीले गाउँघरका खबरलाई फोटो तथा भिडियोका माध्ययमबाट फेसबुक पेजमा राख्ने गरेका छौं । हामीले गर्दै आएका कामकारबाहीको बारे छँदै छ,’ उनले भने । स्थायी कार्यालय नार्पाभूमिमा रहेको र अस्थायी रुपमा चामेमै कार्यालय रहेकाले अन्य व्यवस्थापनमा समस्या भएको उनले बताए । नार्पाभूमि गाउँपालिका यसअघिको नार र फू गाविस मिलेर बनेको हो ।


प्रविधिका यी सञ्जालमा स्थानीय तहका कार्यक्रम तथा परियोजना, सूचना तथा जानकारी, सुझाव तथा गुनासो, समस्या दर्ता, वडा विवरण, महत्वपूर्ण स्थानहरू, आपतकालिन नम्बरहरू राखिएका छन् । जनप्रतिनिधि र कर्मचारीको फोटोसहितको सम्पर्क विवरण राखिएका छन् ।


नागरिकले घरघरै बसेर आफ्ना समस्या तथा गुनासा समेत दर्ता गर्न सक्ने मनाङ ङिस्याङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाबहादुर गोदारले बताए । ‘हाम्रो प्रविधिको सञ्जालले नागरिकलाई सरल र सहज तरिकाबाट सेवा पाउन मद्दत पुग्छ,’ उनले भने ।

प्रकाशित : फाल्गुन २, २०७५ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?