कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

घुम्टे पुग्न पदमार्ग

गलकोट नगरपालिका–७ मल्मको आँगखेतदेखि घुम्टेसम्म पुग्ने पदमार्ग व्यवस्थित बनाउन स्थानीयको अग्रसरता 
प्रकाश बराल

बागलुङ — पर्यटकको आकर्षण गर्ने गलकोट क्षेत्रको अग्लो डाँडा घुम्टेसम्म पुग्ने पदमार्ग निर्माण सुरु भएको छ । गलकोट नगरपालिका–७ मल्मको आँगखेतदेखि घुम्टेसम्म पुग्ने पदमार्ग व्यवस्थित बनाउन स्थानीयले अग्रसरता लिएका हुन् ।

घुम्टे पुग्न पदमार्ग

राम्चेढुंगासम्मको सडक स्तरोन्नति गरेर त्यसपछिको भागमा सिँढी र रेलिङ निर्माण गरेपछि घुम्टे सहजै पुग्न सकिने व्यवस्था गर्न लागिएको घुम्टे युवा समाजका अध्यक्ष थम्मन थापाले बताए । चालु वर्ष नगरपालिकाले ६० लाख रुपैयाँ विनियोजन गरेर राम्चेढुंगा हुँदै पाण्डवखानीसम्म दुई लेनको सडक बनाउने योजना अगाडि सारेको छ ।


उक्त रकमले नपुगे पनि आगामी वर्षसम्म थप बजेट लगाएर सडक स्तरोन्नति गरिने नगर उपप्रमुख रेणुका काउचाले बताइन् । घुम्टे पुग्नका लागि हरिचौरको टेउवातर्फ र पाण्डवखानीतर्फ दुईवटा बाटो छन् । राम्चेढुंगाबाट निर्माण गरिने पदमार्ग सबैभन्दा छोटो हुने थापाले दाबी गरे ।


राम्चेढुंगा पर्यटन प्रवद्र्धन समितिले अन्य पूर्वाधार निर्माणलगायतका कामका लागि काम थालिसकेको छ । समितिकै अगुवाइमा डीपीआर निर्माणका लागि कन्सल्टेन्सी खोजी भइरहेको अध्यक्ष विष्णु थापाले बताए । स्थानीयले पहाडैपहाड टुप्पोमा पुग्ने मार्गको रेखांकन गरिसकेका छन् ।


‘यो पदमार्ग निर्माण नगरको गौरवको योजना हुनेछ,’ उनले भने, ‘पदमार्ग बनेपछि सडकमार्ग छाडेर २ घण्टामा चुचुरोमा पुग्न सकिन्छ ।’ यसअघि हरिचौरको बाटो जाँदा ५ घण्टाको यात्रापछि मात्र घुम्टे पुगिन्छ । घुम्टेको टाकुरोमा बर्सेनि वैशाख पूर्णिमा, वैशाख १ र लालीगुराँस फुलेको समयमा मेला लाग्ने गर्छ ।


त्यस्तै टुप्पोमा रहेका सिद्धवराह र अन्य धार्मिक मठ मन्दिरमा पुगेर मागेको वर पाइने स्थानीयको विश्वास छ । त्यही विश्वासका कारण बर्सेनि लालीगुराँस महोत्सव गर्ने गरिन्छ । घुम्टेमा लालीगुराँसबाहेक अन्य प्रजातिका गुराँस पनि फुल्ने स्थानीय रुपा खड्काले बताइन् ।


गर्मीमा शीतलको मज्जा लिन जानेहरू घुम्टेमा बास बस्ने गरी जान्छन् । गलकोटेहरूमा धार्मिक विश्वास बढी भएकाले सिद्ध वराहको भाकल गरेर पूजा गर्न जानेहरू पनि धेरै छन् । घुम्टे जिल्लाको अग्लो पहाड र रमणीय क्षेत्र पनि हो । हरिचौर, हिल, पाण्डवखानी, मल्म, ताराखोलालगायत दर्जनौं गाउँको केन्द्र घुम्टे एघार हजार १ सय ९० फिट अग्लो छ । धेरै प्रकारका जडीबुटी पाइने भएकोले जैविक विविधताको खानी समेत भएको स्थानीय बताउँछन् । यो लेकमा पुग्दा देश–विदेशका पर्यटक पनि लोभिन्छन् । छिटफुट विदेशी पर्यटक पनि यहाँ बेलाबेला पुग्ने गरेका छन् ।


केही वर्षअघि काठमाडौंको भृकुटी मण्डपदेखि घुम्टेसम्म साहसिक साइकल यात्रासमेत भएको थियो । १ सय जनाले यो यात्रामा भाग लिएका थिए । पर्यटन क्षेत्रको रूपमा विकास गर्ने, जडीबुटी संकलन केन्द्र स्थापना गरी उद्योग सञ्चालन गर्ने लगायतका योजन बनाएर समितिले नगरपालिका र प्रदेश सरकारमा बुझाएको छ ।


घुम्टेको टुप्पोमा पर्यटक बसाल्ने पार्टी र खानेपानीको व्यवस्थापनका लागि समितिले योजना बनाएको हो । ‘लामो इतिहास बोकेको गलकोट र घुम्टेका धार्मिक मठमन्दिरलाई पदमार्गले चिनाउने छ’ थापाले भने, ‘पर्यटन क्षेत्रको रूपमा घोषणा भएमा जिल्लाको विकासलाई पुग्ने रोयल्टी संकलनमा हामीले अगुवाइ गर्नेछौं ।’ पर्यटन क्षेत्र घोषित भएमा बर्सेनि हजारौंले उक्त क्षेत्रको भ्रमण गर्ने सम्भावना रहेको उनले बताए ।


केही वर्षअघि पर्यटन मन्त्रालयको १३ लाख रुपैयाँले हरिचौरतर्फको सडक सुधारको काम भएको थियो । आवश्यक पूर्वाधार बनाउने र पर्यटकलाई सहजै पुग्न सक्ने बनाउने काममा नगरपालिकाले सहयोग गर्ने प्रमुख भरत शर्मा गैह्रेले बताए ।


‘मार्ग दुवै तर्फ बनाए पनि छोटो र सजिलो हुने ठाउँमा लगानी बढाउँछौं’ गैह्रेले भने, ‘बजेटको सदुपयोग गर्न सकियो भने पर्यटकीय गन्तव्य बनाउन सकिन्छ ।’ नगरपालिका र समितिले विस्तृत गुरु योजना बनाएर लगानीकर्ताको खोजीसमेत गर्ने तयारी गरेका हुन् । पर्यटक बढाउनकै लागि गत महिना समितिले राम्चेढुंगा पर्यटन मेलासमेत आयोजना गरेको थियो ।

प्रकाशित : फाल्गुन ४, २०७५ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?