कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

चार दशकदेखि भाइको पर्खाइ

भीम घिमिरे

पोखरा — लामो समयदेखि बेपत्ता रहेकाहरू ४०/५० वर्षपछि घर खोज्दै फर्केका खबर पढ्न–सुन्न पाउँदा बुद्धिबहादुर अधिकारीलाई आफ्नो भाइ पनि अवश्य फर्कन्छ भन्ने लाग्छ । तर, बेपत्ता रहेको ३९ वर्ष बितिसक्यो । यो अवधिमा गाउँ, सहर र देशका पूर्वाधार विकासमा थुप्रै परिवर्तन आए । 

चार दशकदेखि भाइको पर्खाइ

२०३६ मंसिरमा १४ वर्षको छँदा हराएको भाइ कृष्णबहादुरको न चिठी न त खबर आएको छ । हराएको सात वर्षपछि कतैबाट बहिनीलाई एउटा पत्र आएको थियो । ठाउँ–ठेगाना नभएको खाममा प्राप्त भएको उतिबेलाको फोटो बोकेर अहिले बुद्धिबहादुर प्रहरी र सञ्चारमाध्यमका कार्यालय चहार्दै छन् ।


‘परिवारमा म जेठो, कृष्ण माइलो हो । दुवै ६ कक्षामा पढ्थ्यौं,’ कास्कीको साबिक भलाम गाविस–१ हालको पोखरा–२० देउरालीका बुद्धिबहादुर भन्छन्, ‘हराएको ४०/५० वर्षपछि घर खोज्दै फर्किएकाहरूको खबर सुन्न पाउँदा मेरो भाइ कसरी नफर्केला जस्तो लाग्छ ।’ भाइ हराएको चार दशकको अवधिमा बुद्धिबहादुर र उनको परिवारमा सदस्य संख्या घटबढ भइसकेको छ । कान्छो भाइ बेग्लै व्यवसाय गरेर सपरिवार बस्छन् । बहिनीको आफ्नै घरजम छ ।


अधिकारी परिवारका अभिभावक टंकबहादुर अधिकारी पनि छोरा हराएको दुई वर्षपछि नै बेपत्ता भए । भारतको जमसेदपुरमा टाटा कम्पनीमा कार्यरत उनी घर आउजाउ गरिरहन्थे । २०३८ सालमा छुट्टी मिलाएर आउँछु भनेर गएपछि फर्किएनन् । बुद्धिबहादुरका काका हर्कबहादुर दाजु काम गर्ने कारखाना र त्यो सहरमा गएर निकै खोजी पनि गरे । पत्ता नलागेपछि निराश भएर फर्किए ।


‘बुबाको उमेर सम्झँदा अब त के जीवितै हुनुहोला भनेर हामीले आस मारिसक्यौं तर भाइको अझै आस लाग्छ,’ बुद्धिबहादुर भन्छन्, ‘भाइ यतिबेला ५३ वर्ष पुग्थ्यो । हामीले त्यो जता गए पनि २/४ वर्षमा घुमेर फर्किएला भन्ने ठानेका थियौं । त्यसैले त्योबेला खोज्न जाने पनि कता जाने भनेर अन्योल भयो ।’ भाइ कृष्णले अंशमा पाउने घडेरी र खेत अझैसम्म सुरक्षित राखेको उनले बताए । बुद्धिकी आमा नन्दकुमारी ७३ वर्षकी भइन् । रोगले च्यापेर उनी यतिबेला ओछ्यान परेकी छन् । सुताइदिनु–उठाइदिनुपर्छ ।


एउटा वित्तीय संस्थामा सुरक्षा गार्डको काम गर्दै रहेका बुद्धिबहादुर गत माघ तेस्रो साता वडा प्रहरी कार्यालय बगरमा पुगेका थिए । प्रहरीले हुलियाबारे जानकारी लिएर मानिस हराएको सूचीमा कृष्णबहादुरको तस्बिर र विवरण त राखेको छ तर त्यसयता के खोजी भइरहेको छ भन्ने बताइदिएको छैन । सञ्चारमाध्यममार्फत खोजी भइरहेको खबर पाए भाइ फर्किन्थ्यो कि भन्ने बुद्धिबहादुरलाई लाग्छ । ‘हामीबीच अंश र धनसम्पत्तिको झगडा पनि होइन,’ उनी भन्छन्, ‘भाइ एकपटक मात्रै आइदिए पनि आमाले मुख देख्न पाउनुहुन्थ्यो भन्ने लाग्छ ।’


नेपाल प्रहरीको केन्द्रीय र प्रादेशिक कार्यालयहरूका वेबसाइटमा हराएका र बेपत्ता रहेकाहरूका तस्बिरसहित विवरण र सम्पर्कविहीन रहेको मिति राख्ने गरिएको छ । ४ नम्बर प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कास्कीमा पनि हराएकाहरूको सूची लामो छ ।


प्रहरीको दर्ता सूची लामो छ । तर निकै थोरै व्यक्तिको विवरण वेबसाइटमा राखिएका छन् । ‘बेपत्ता खोजी गरिपाउँ भनेर निवेदन दिनेले पनि सम्पर्कमा रहिरहनुपर्छ,’ ४ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता डीएसपी गोविन्द पुरी भन्छन्, ‘पुलिसको कुनै पनि युनिटमा परेको त्यस्तो निवेदनको जानकारी जिल्ला, प्रदेश हुँदै हाम्रो प्रधान कार्यालयसम्म पनि पुग्छ ।’


घर छाडेर हिँडेपछि लामो समयदेखि सम्पर्कविहीन रहेकाहरूको खोजी गर्नेले आफैंले पनि सम्भावित ठाउँ र आफन्तमा सोधीखोजी गर्नैपर्ने उनले बताए । ‘कतिपय केसमा हराएको निवेदन पर्छ, भेटिएपछि परिवारले भन्दैनन् तर, भेटदै नभेटिएकाहरूको हकमा बेवारिसे शवहरूको हुलियासँग विवरण दाँज्ने काम प्रहरीले गर्छ,’ उनले भने, ‘देशभित्रै छ भने प्रहरीको जहाँ कतैको युनिटले फेला पारे पनि विवरण प्राप्त भइहाल्छ ।’ विदेश गएकाहरूका हकमा भने लामो समय बितेपछि खोजी गर्न गाह्रो हुने उनले बताए ।

प्रकाशित : फाल्गुन ५, २०७५ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?