कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

हिंसा रोक्न आत्मरक्षा तालिम

कान्तिपुर संवाददाता

कास्की — आठ कक्षा पढ्ने १४ वर्षीया छात्रा । झट्ट सुन्दा यस्ती किशोरीले के तालिम देलिन् भन्ने लाग्न सक्छ । पोखराको रंगशालाको कभर्डहलमा सय जनाभन्दा बढी विद्यार्थीलाई आइसा लामिछानेले आत्मरक्षा तालिम दिइरहेकी छन् । तेक्वान्दो खेलाडीको पोशाकमा रहेकी उनीसँगै अरू प्रशिक्षक पनि छन् । 

हिंसा रोक्न आत्मरक्षा तालिम

तालिम दिन काठमाडौंबाट उनी एक साताको बिदा लिएर यहाँ आएकी हुन् । ‘बालबालिका र महिलामाथि भएका हिंसा घटना रोकथाम गर्न आत्मरक्षाको तालिम जरुरी छ,’ उनी भन्छिन्, ‘आत्मरक्षाको सीप सिक्नु भनेको अरूलाई आक्रमण गर्ने क्षमता बढाउनु नभई आत्मबल बढाउनका लागि हो ।’


प्रतिरोध गर्न नसक्दा वा नगर्दा महिला र बालबालिका हिंसाका घटनामा पीडित हुने उनले बताइन् । ‘मनैबाट इच्छा गरेर आए जो कोहीले सिक्न सक्छ,’ उनले भनिन् । कुन अवस्थामा कसरी प्रतिकार गर्ने भन्नेबारे एक हप्तामा सिक्न सकिने उनले बताइन् । ‘आत्मरक्षा तालिमका लागि घरपरिवारले पनि साथ दिनुपर्छ,’ उनले भनिन्, ‘हरेक स्कुलमा आत्मरक्षा तालिम सञ्चालन गर्नुपर्ने आवश्यकता छ । यति भए हिंसा न्यूनीकरण गर्न सकिन्छ ।’


लामिछानेले १० वर्षको उमेरदेखि तेक्वान्दो सिक्दै आएकी हुन् । उनले करातेको विधा योङबुदो पनि सिक्ने अवसर पाइन् । काठमाडौंमा बिदाका समयमा बालबालिका र महिलालाई तालिम दिंदै आएको उनले बताइन् ।


पोखरामा जारी तालिममा किशोरकिशोरीको उल्लेख्य सहभागिता छ । सहभागी मध्येकी लेकसाइडकी ११ वर्षीया सुरक्षा खडकाले आफ्नो रक्षाका लागि तालिम लिन आएको बताइन् । ‘तालिम लिएपछि आफ्नो सुरक्षाका लागि ढुक्क हुन सकिन्छ भन्ने लागेको छ,’ सहभागी आकृति अधिकारीले भनिन् । अकी सहभागी सन्ध्या थापा बालिकामाथि भएका हत्या र हिंसाका घटनाको खबर

सुन्दा सबैले प्रतिकार गर्नसक्ने सीप सिक्नु आवश्यक रहेछ भन्ने लागेको बताउँछिन् ।


तालिमको आयोजना तेक्वान्दो संघ गण्डकी, प्रदेश प्रहरी कार्यालय र नोज आर्क स्पोट्र्स साइन्स कलेज लगायतले संयुक्त रूपमा गरेका हुन् । सहभागीलाई लामिछानेसँगै तेक्वान्दो संघका वरिष्ठ प्रशिक्षक डा. नमरजंग गुरुङ, अच्युतम लामिछाने र कोरियाबाट आएका प्रशिक्षकले तालिम दिइरहेका छन् ।


महिला तथा बालबालिकामाथि भइरहेका हिंसाका घटना रोकथामका लागि आत्मरक्षा तालिम आयोजना गरिएको तेक्वान्दो संघ गण्डकीका अध्यक्ष जगन गुरुङले बताए ।

प्रकाशित : फाल्गुन ५, २०७५ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?