लमजुङमा अझै हात्तीपाइले संक्रमित

आश गुरुङ

लमजुङ — लमजुङमा हात्तीपाइले संक्रमितलाई थप तीन वर्ष औषधि खुवाइने भएको छ । संक्रमितले लगातार ६ वर्ष औषधि सेवन गर्दा पनि रोग निवारण नभएपछि थप औषधि खुवाउन लागिएको हो । 

लमजुङमा अझै हात्तीपाइले संक्रमित

लगातार ६ वर्ष औषधि सेवन गरेपछि हात्तीपाइले रोग निवारण हुने स्वास्थ्यकर्मी बताउँछन् । ३ वर्ष थप औषधि सेवन गर्दा पनि यसको निवारण हुन नसकेपछि पुन: औषधि खुवाइने भएको छ । सरकारले पहिलो पटक सन् २००३ देखि ६ वर्षसम्म नियमित औषधि सेवन गर्ने अभियान थालेको थियो । कम प्रभावित भन्दै लमजुङमा भने सन् २००९ देखि सन् २०१५ सम्ममा उक्त कार्यक्रम लागू गरेको थियो ।


हात्तीपाइले रोग निवारण हुन १ प्रतिशतभन्दा कम प्रकोप दर हुनुपर्छ । पाँचौं पटक खुवाएपछि सन् २०१४ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पहिलो प्रि–टास (रोग सर्ने दरको अध्ययन सर्वेक्षण) गर्‍यो । २ दशमलब ८३ प्रतिशत प्रकोप दर देखियो ।


सातौं पटकपछि सन् २०१६ मा गरेको अध्ययन सर्वेक्षणमा प्रकोप दर बढेर ५ दशमलव ३२ प्रतिशत पुग्यो । सन् २०१८ मा गरिएको तेस्रो प्रि–टासले २ दशमलव ५० प्रतिशत प्रकोप दर देखाएको छ । महाशाखाले सबैभन्दा बढी प्रभावित राइनास नगरपालिकाको साविक चक्रतीर्थ र धमिलिकुवा गाविसका ६ सय जनाको नमुना अध्ययन सर्वेक्षण गरेको थियो ।


अध्ययन सर्वेक्षणअनुसार चक्रतीर्थको ३ सय जनामध्ये ३ जना र धमिलिकुवाका ३ सय जनामध्ये १२ जनामा हात्तीपाइले रोग देखिएको थियो । गएको भदौमा गरिएको अध्ययन सर्भेका क्रममा हात्तीपाइले रोगबाट संक्रमित केहीले रगत परीक्षण गर्न नमानेको स्रोतले बतायो ।


आर्थिक वर्ष २०७५/०७६ को तथ्यांकअनुसार लमजुङमा १ लाख ७१ हजार ४ सय ३० जनसंख्या छ । दुई वर्षमुनि र गर्भवतीको संख्या १० हजार रहेको अनुमान छ । हालको प्रकोप दरअनुसार अझै पनि जिल्लाका ३ हजार ५ सय बढीमा हात्तीपाइले रोगको लक्षण रहेको अनुमान गर्न सकिने चापागाईले बताए ।


लमजुङमा सन् २००७ मा होप इन्टरनेसनल कलेज ललितपुरका बीपीएच दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीले गरेको स्वास्थ्य निरुपण कार्यक्रममा चक्रतीर्थ गाविसमा मात्रै ५५ जनामा हात्तीपाइले रोगको लक्षण देखिएको थियो । स्वास्थ्य कार्यालयका अनुसार सुरुको तथ्यांकमा चक्रतीर्थ र धमिलिकुवामा मात्रै २ सय जनामा लक्षण देखिएको थियो ।


सरकारी अभियान सकेर पनि रोग निवारण नभएपछि लजुङका नागरिकलाई दसौं चरणअन्तर्गत फागुन १५ देखि हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने बेंसीसहर नगरपालिका स्वास्थ्य शाखा प्रमुख परमेश्वर पियाले बताए । यसअघि स्वास्थ्य स्वयंसेविका मार्फत खुवाएकोमा निवारणका लागि चाहिने प्रकोप दरको लक्ष्य नभेटेपछि यस पटक स्वास्थ्यकर्मी परिचालन हुने उनले बताए ।


जिल्लाभरका स्थानीय तहबाट ४ सय ७२ जना स्वास्थ्यकर्मी खटिनेछन् । ६ सय ५७ जना स्वास्थ्य स्वयंसेविकाले प्रचारप्रसारमा खटिनेछन् । पहिलो दिन स्वत:स्फूर्त नागरिकलाई खुवाइने र त्यसपछि फागुन महिनाभर स्वास्थ्यकर्मी घरघरै पुग्ने चापागाईले बताए । अघिल्ला वर्षको ३ दिने कार्यक्रम प्रभावकारी नभएर यस पटक कम्तीमा १५ दिन अभियान सञ्चालन हुनेछ ।


सरकारले सन् २०२० सम्ममा नेपालबाटै हात्तीपाइले रोग उन्मूलन गर्ने लक्ष्य लिएको छ । रोग निवारण हुन नसक्दा सरकारले थप अभियान सञ्चालन गर्नुपर्ने देखिएको चापागाई बताउँछन् । उनका अनुसार सन् २०२० मा औषधि खुवाएपछि चौथो पटक प्रि–टास हुनेछ । यसमा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले अध्ययन गर्नेछ । प्रकोप दर १ प्रतिशतभन्दा कम नदेखिए पुन: २/२ वर्षको फरकमा सन् २०२६ सम्म टास (रोग सर्ने दरको परीक्षण) गरी निवारणका लागि अर्को कदम चाल्नुपर्नेछ ।


लमजुङ जिल्ला सामुदायिक अस्पतालका मेडिकल अफिसर डा. हिक्मत भण्डारीले हात्तीपाइले रोगविरुद्ध डाई इथाइल कार्बामाजिन (डीईसी) र अल्वेन्डाजोल चक्की खानुपर्ने बताए । उक्त औषधि दुई वर्ष नपुगेका केटाकेटी, गर्भवती र ७ दिनसम्मका सुत्केरी, सिकिस्त बिरामी, क्यान्सर, मुटु, कलेजो, मृगौला, फोक्सोका दीर्घरोगी साथै छारे रोग, २४ घण्टाभित्रमा ज्वरो आएको, कडा कुपोषण भएका, २ वर्षमुनिका बालबालिकालाई खुवाउन हुँदैन । ७० वर्षभन्दा माथिका वृद्धवृद्धालाई राम्रोसँग स्वास्थ्य जाँच गरेर मात्रै खुवाउनुपर्छ । ‘यो औषधि पूर्णत: सुरक्षित छ । खाली पेटमा खानु हुँदैन,’ उनले भने । ।

प्रकाशित : फाल्गुन ५, २०७५ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?