कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

विकासका काम निजी क्षेत्रलाई : पूर्वप्रधानमन्त्री भट्टराई

प्रकाश बराल

बागलुङ — नयाँ शक्ति पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले देशमा विकासका काम निजी क्षेत्रलाई दिनुपर्ने बताएका छन् । बागलुङ उद्योग वाणिज्य संघमा शनिबार आयोजित अन्तरक्रियामा उनले विश्वको अर्थतन्त्रको विकासले त्यो प्रमाणित गरिसकेको टिप्पणी गरे ।

विकासका काम निजी क्षेत्रलाई : पूर्वप्रधानमन्त्री भट्टराई

कम्युनिस्ट मोडलबाट विकासमा फडको मार्न नसकिने बताउँदै वर्तमान दुई तिहाईको सरकारको कामबाट पनि त्यो प्रमाणित भएको उनको तर्क थियो । कम्युनिस्टको सरकार रहँदा अहिले व्यापार घाटा बढेको र लगानी घटेको आरोप उनले लगाए । आफ्नो पार्टीको मध्यपहाडी लोकमार्ग केन्द्रीत असल राजनीति र समावेशी विकासका लागि जनसञ्चार अभियानका क्रममा उनी बागलुङ आएका हुन् ।


उनले आर्थिक विकासका लागि माक्र्सको मोडल पुरानो भएको पनि टिप्पणी गरे । आधारभूत विकासका लागि मात्र माक्र्सवाद उपयुक्त भएको उनको भनाइ थियो । उनले उच्च स्तरको विकास मोडल बनाउनुपर्ने आवश्यकतामा जोड दिए । त्यसका लागि पुँजीवाद र समाजवादको बीचको मोडल चाहिने उनको तर्क छ । ‘अब कम्प्युनिस्टजस्तो सबै राज्यको भन्न पनि मिल्दैन,’ उनले भने, ‘विकासका काम निजी क्षेत्रलाई दिनुपर्छ ।’ पूर्वाधार, शिक्षा, स्वास्थ्य र वित्तीय व्यवस्थापनको जिम्मा सरकारले लिएर अरू बजारलाई जिम्मा दिनुपर्ने उनले बताए ।


आफू प्रधानमन्त्री हुँदा ल्याइएको मध्यपहाडी लोकमार्गको निर्माण छिटो पूरा गर्न उनले सरकारको ध्यानाकर्षण पनि गराए । ‘अब मध्यपहाडी लोकमार्ग छिटो सञ्चालनमा ल्याउन सकेनौं भने पहाडी जनसंख्या बसाइँ सरेर सकिन्छ,’ उनले भने, ‘सडकको पहुँच बढाएर उद्योग र व्यवसाय पनि चलाएर अर्थतन्त्र उकास्नुपर्छ ।’ सुगौली सन्धिको पालामा नेपालले आयातको पाँच गुणा निर्यात गरेकोमा अहिले निर्यातको १७ गुणा आयात गरेको उनले बताए । यो अवस्थाको अन्त्यका लागि मध्यपहाडको विकास आवश्यक भएको उनले सुझाव दिए ।


मध्यपहाडी लोकमार्गको छेउमा १० वटा सहर विकास गर्ने पुरानो कामसँगै दर्जनौं औद्योगिक क्षेत्र बनाउनुपर्ने उनको सुझाव छ । ‘अब कृषि, उद्योग र पर्यटनबाट नेपाल समृद्ध बनाउन सकिन्छ,’ उनले भने, ‘त्यसका लागि एक पटक सबैले बैंकमा राखेको पैसा झिकेर कृषि क्षेत्रमै लगानी गर्नुपर्छ ।’ विदेशी वस्तु किनेर नखाने अभियान सञ्चालन गर्नुपर्ने समेत उनले बताए ।


‘श्रमको संस्कार बसाल्न नेताहरू सक्रिय हुनुपर्छ । कार्यकर्ता अब पूर्णरूपमा व्यावसायिक बन्नुपर्छ,’ उनले भने, ‘जनताबाट लेवी उठाएर पार्टी चलाउने होइन ।’ राज्य व्यवस्था परिवर्तनका लागि सबै होमिए पनि अब व्यवसायमा लाग्नैपर्ने उनको जोड थियो । राज्यव्यवस्था परिवर्तन भइसकेकाले आर्थिक विकासका लागि श्रमको सम्मान गर्ने संस्कृति थालनी गर्न उनले आग्रह गरे ।


ओली सरकारले पानीजहाजको कुरा गरेर समृद्धि नआउने उनको टिप्पणी थियो । ‘पहिला सबै बस्तीमा सहजै पुग्ने बाटो बनाऔं, शिक्षा र स्वास्थ्य सेवा दिऊँ,’ भट्टराईले भने, ‘अहिले पानीजहाज ल्याएर मात्र समृद्धि भित्रने होइन ।’ समृद्धिका लागि जनता धनी बनाउन उत्पादन र उद्योग बढाउनुपर्ने उनको भनाइ छ ।


एकीकृत बस्ती विकासका लागि उनले राष्ट्रिय सहमति चाहिएकाले संसदमा पनि आवाज उठाउने प्रतिबद्धता जनाए । मध्यपहाडी लोकमार्ग निर्माणमा भएका सबै ढिलासुस्तीको वास्तविकतासहितको प्रतिवेदन सरकार र संसदमा लैजाने उनले आश्वासन दिएका छन् ।

प्रकाशित : फाल्गुन ५, २०७५ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?