१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

फोहोरमैला वर्गीकरण गरेर संकलन

कान्तिपुर संवाददाता

दमौली — व्यास नगरपालिकाले दमौली बजारलाई सरसफाइयुक्त राख्न वर्गीकरण गरेर फोहोरमैला संकलन गरिरहेको छ । 

फोहोरमैला वर्गीकरण गरेर संकलन

फोहोरलाई कुहिने, नकुहिने र अस्पतालजन्य गरी तीन प्रकारमा वर्गीकरण गरेर संकलन थालिएको हो । वर्गीकरण गरिएपछि व्यास नगर क्षेत्रका २, ३ र ४ नम्बर वडामा फोहोरमैलाको संकलन तालिका बनाएर गर्न थालिएको छ ।


‘वर्गीकरण गरेपछि उपयोग हुनसक्ने र नसक्ने छुट्टियो,’ नगरपालिकाका सरसफाइ शाखाका प्रमुख विमल गिरीले भने, ‘संकलन र व्यवस्थापनको तरिकाबारे हाम्रा कर्मचारी पनि सचेत भए । अलग–अलग भाँडामा नगरवासीले राख्ने फोहोर सोहीअनुसार व्यवस्थापन तालिका मिलाइएको उनले बताए ।


तरकारी, फलफूल, खानेकुरा, घाँसपात आदि कुहिनेलाई कमपोस्ट मल बनाउने व्यवस्था मिलाइएको छ । सिसा, रबर, प्लास्टिक, धातु आदि नकुहिने फोहोर बिक्री गर्ने व्यवस्था मिलाइएको छ भने औषधि, सिरिन्ज आदि अस्पतालजन्य फोहोरमैलालाई लगेर पुर्ने व्यवस्था गरिएको छ ।


फोहोरमैला व्यवस्थापनमा सघाउन नगरवासीलाई पनि आग्रह गरिएको प्रमुख गिरीले बताए । ‘फोहोर जम्मा पारेर राख्नुपर्छ, त्यसलाई नगरपालिकाको गाडीले उठाउँछ,’ उनले भने, ‘जथाभावी फालेको पाइए नगरपालिकाको फोहोरमैला ऐन २०७४ अनुसार पाँच सयदेखि ५० हजार रुपैयाँसम्म दण्ड जरिवनाको व्यवस्था छ ।’


वर्गीकरण अनुसारका फोहोर संकलन गर्न ब्यानर, झण्डा र सूचनासहित दमौली बजारका टोलटोलमा दैनिक टिपर र ट्रयाक्टर पुग्छ । कुहिने फोहोर उठाउने सवारीसाधनमा हरियो र नकुहिने उठाउनेमा रातो झण्डा राख्ने गरिएको छ ।


कुहिने फोहोरमैलालाई मादी नदीको भटेरीमा ठूलो खाल्डो खनेर कम्पोस्ट मल बनाउनले गरिएको छ । नकुहिने फोहोर मैलालाई पुन: प्रयोगमा ल्याउन कबाडी संकलकलाई ठेक्का दिइएको छ । नकुहिने फोहोरमैलाबाट नगरपालिकाले मासिक ४५ हजार रुपैयाँ आम्दानी गर्न थालेको छ । नकुहिने फोहोरमध्ये ६० प्रतिशत पुन: प्रयोगमा आउने खालका हुन्छन् ।


दमौली बजारबाट मात्र दैनिक उल्लेख्य परिमाणमा फोहोर संकलन हुन्छ । भित्री सडक, पृथ्वीराजमार्ग र दमौली बजार क्षेत्रका टोलबाट बढी फोहोर निस्कन्छ । नगर क्षेत्रबाट संकलित फोहोर व्यवस्थापनका लागि हालसम्म स्थायी ल्यान्डफिल साइट छैन । स्थायी प्रबन्ध नहुँदासम्मका लागि नगरपालिकाले मादी नदी किनारको भटेरीमा तह लगाउँदै आएको हो ।


फोहोर संकलनका लागि नगरपालिकामा तीनवटा ट्रयाक्टर र दुईवटा टिपर छन् । फोहोर तह लगाउन एउटा जेसीभी र डिस्पोज ट्यांकर उपयोग गरिएको छ । फोहोर संकलन र व्यवस्थापन गर्न २१ जना कर्मचारी खटिएका छन् ।


स्थायी ल्यान्डफिल साइट बनाउन नगरपालिकाले ५ नम्बर वडाको टेकन थुम्की सामुदायिक वन क्षेत्रमा एउटा ठाउँ छनोट गरेको छ । वातावरणीय प्रभाव मूल्यांकन समितिको प्रतिवेदनले उक्त ठाउँ ल्यान्डफिलका लागि उपयुक्त भएको जनाए पनि यसको प्रक्रिया अघि बढिसकेको छैन ।

प्रकाशित : फाल्गुन ६, २०७५ ११:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?