३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

नगरपालिकाअगाडि दोहोरो पार्किङ

कान्तिपुर संवाददाता

बागलुङ — सदरमुकाम रहेको नगरको मुख्य बजार क्षेत्रभित्रका प्रमुख सडकमा दिउँसो मालबाहक सवारी भित्र्याउन नपाउने नियम छ । यहाँका व्यापारीले भने दिउँसो नगरपालिकाकै गेटमा साना सवारी पनि पस्नै नमिल्ने गरी ट्रक पार्किङ गर्ने गरेका छन् । 

नगरपालिकाअगाडि दोहोरो पार्किङ

दूरसञ्चार चोकदेखि ट्राफिक चोकसम्म ठूला सवारीले सिमेन्ट, छड र खाद्यान्नलगायतका सामग्री लोड–अनलोडका लागि घण्टौं बाटो अवरुद्ध गर्दै अएका छन् । नजिकैको ट्राफिक र नगरपालिका कार्यालय मुकदर्शक भएर बस्ने गरेको छ ।


अस्पतालका लागि आएका एम्बुलेन्स त्यस्तो अवरोधका कारण बाटो नपाएर घुमाउरो बाटो हिँड्न बाध्य छन् । बागलुङ नगरपालिकाका प्रमुखकै गाडीले साइड नपाएर घुमाएर आउँदा पनि केही बोल्दैनन् ।


ट्राफिक व्यवस्थापन अभावले जिल्ला सदरमुकामका गल्लीमा समेत घण्टांै सवारी जाम हुँदा पैदलयात्रीलाई पनि सास्ती हुने गरेको छ । सदरमुकामका चोक व्यवस्थापन गर्ने र ट्राफिक चिह्न राख्ने गरी बनाएको योजना पनि अलपत्र भएको जिल्ला ट्राफिक प्रमुख सुकबहादुर विकले बताए ।


‘कार्यक्रम ल्याउन पाए दोहोरो पार्किङ गर्नेलाई जरिबाना काटेर कारबाही गर्न सकिन्थ्यो,’ उनले भने, ‘नगरपालिकाले योजनाबारे वास्तै गरेको छैन ।’ हार्डवेयर र होलसेल पसलका सामान झार्न प्रयोग भएका मालबाहक सवारीसाधनले बाटोमा अवरोध पुर्‍याउँदा पनि नगरपालिकाले बेवास्ता गरिदिँदा सर्वसाधारणलाई सास्ती भएको उनको गुनासो छ ।


‘दुईतर्फ ट्रक पार्किङ गर्दा पैदलयात्रीले पनि काट्न नसकिने भयो,’ स्थानीय किरण आचार्यले भने, ‘गाडी छन् भनेर जे गरे पनि हुन्छ भन्ने लापरबाही गर्न भएन ।’ छेउका नालीसमेत ढाकेर सवारीसाधन रोकेर राख्दा धेरै अप्ठ्यारो रहेको उनले बताए ।


ट्राफिक कार्यालयले बजार व्यवस्थापनका लागि कार्ययोजनासहित नगरपालिकामा पेस गरेको १० बुँदे सुधार योजनालाई नगर कार्यपालिकाले छलफलमै लगेको छैन । नगरपालिकाले अहिलेसम्म व्यवस्थापकीय कामका लागि एक रुपैयाँ पनि बजेट नदिएको ट्राफिक प्रमुख विकले बताए ।


बजारमा जेब्राक्रस, फुटपाथ छुट्टयाउने, ठेला गाडा व्यवस्थापन तथा घुम्ती र चोकमा ऐना राख्ने काम गर्न सकिने ट्राफिकले पेस गरेको कार्ययोजनामा छ । ट्राफिक प्रहरी कार्यालयले तयार गरेको प्रतिवेदनअनुसार सदरमुकामका दर्जनौं चोकमा जेब्राक्रस राख्नुपर्ने आवश्यकता रहेको उल्लेख छ ।


तोकिएका स्थानमा मात्र विद्यालयका बस रोक्ने व्यवस्था गर्ने, केही सडक लाई प्रवेश निषेध र एकतर्फी बनाउने, विद्यालय, अस्पताल र क्याम्पस क्षेत्रमा हर्न निषेध गर्नेलगायतका काम तत्काल गर्नुपर्ने देखिएको छ ।


नगरप्रमुख जनकराज पौडेलले कार्ययोजनाको स्टिमेट बनाउन ट्राफिकलाई नै भनेको भन्दै उम्कने प्रयास गरे । ‘लागत स्टिमेट आएपछि कार्यपालिकामा लगेर निर्णय गराउने योजना हो,’ उनले भने, ‘कति लागत लाग्छ र हामीले कति लगानी गर्न सक्छौं भन्ने हिसाब आएपछि केही सुधार हुनेछ ।’


स्टिमेट बनाउन ट्राफिक कार्यालयमा प्राविधिक कर्मचारीको व्यवस्था छैन । नगरपालिकाले नै स्टिमेट बनाउनु सक्ने विकले बताए । आफ्नै प्रहरीसमेत राखे पनि नगरपालिकाले फुटपाथ व्यवस्थापन र अवरोध हटाउने काम गर्दैन ।


केही समयअघि फुटपाथका सामान हटाउने तयारी गर्दा व्यवसायीले अवरोध गरेपछि नगरका कार्यक्रम सुस्ताएको पौडेलले बताए ।

प्रकाशित : फाल्गुन ६, २०७५ ११:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?