सडकका योजना मुख्य प्राथमिकतामा

जैमिनी र ढोरपाटन नगरपालिका सबै वडामा सडक सञ्जाल लगेर चक्रपथ बनाउने योजनामा
कान्तिपुर संवाददाता

बागलुङ — पूर्वाधारको कामेपछि मात्रै विकासका योजनालाई गति दिने भन्दै यहाँका दुई नगरपालिकाले चक्रपथ निर्माणको योजना अघि बढाएका छन् ।

सडकका योजना मुख्य प्राथमिकतामा

जैमिनी र ढोरपाटन नगरपालिकाले सबै वडामा सडक सञ्जाल लगेर चक्रपथ पनि बनाउने योजनासहित काम थालेको हुन् ।


ढोरपाटन नगरपालिकाले चालु वर्षभित्रै नगरका सबै बस्तीलाई सडक सञ्जालले जोडिसक्ने लक्ष्यसहितको योजना अघि बढाएको छ । जैमिनी नगरपालिकाले खोलिएका पुराना सडक विस्तार र थप ट्रयाक खोलेर चक्रपथको रूप दिन लागेको हो ।


ग्रामीण सडकहरूलाई व्यवस्थित बनाउने र केही नयाँ मार्गले जोडा चक्रपथको स्वरूप लिने नगरप्रमुख इन्द्रराज पौडेलले बताए । सडक बनाउँदा सबै विद्यालय र सबै स्वास्थ्य संस्थामा पहुँच अनिवार्य हुनेगरी डिजाइन गरिएको छ ।


‘बिरामीले गाडी चढेर उपचार गर्न जान पाउनुपर्छ । त्यसका लागि सहज सडकको योजनालाई पहिलो प्राथमिकता राखेका हौं,’ उनले भने, ‘विद्यालयमा पुग्न सहज बनाउन सडकको ट्रयाक खोल्ने नीति लिएका छौं ।’ भौगोलिक कठिनाइले यहाँका धेरै गाउँमा पैदलै जानुपथ्र्यो ।


ढोरपाटन नगरपालिकाले पनि सडकको ट्रयाक सबै वडाका मुख्य बस्तीमा पुर्‍याएपछि आगामी वर्षदेखि स्तरोन्नतिको काम थाल्ने योजना बनाएको हो । बुर्तिबाङदेखि ढोरपाटनसम्मको सडक गौरवको आयोजनामा परे पनि निर्माणमा ढिलाइ भएपछि आयोजनामा दबाब दिएका नगर प्रमुख देवकुमार नेपालीले अन्य ग्रामीण सडक निर्माणमा भने कमी हुन नदिने बताएका छन् ।


‘ढोरपाटन–सालझन्डी सडकको बागलुङ खण्डमा लगानी गरेर स्तरीय बनाउन दबाब दिएका छौं,’ उनले भने, ‘हामीले लगानी गरेर बनाउने कुनै पनि ट्रयाकमा काम बाँकी राख्दैनौं ।’


आर्थिक रूपमा विपन्नहरूको बढी बसोबासको क्षेत्र भएकाले नगरका अधिकांश वडामा नगरकै अगुवाइमा सडक बनाउन लागेको उनले बताए । नगरपालिकाको अधिकारीचौर, बोबाङ र खुंगाका ग्रामीण बस्तीमा सडक लैजाने योजना चालु वर्ष सञ्चालनमा छन् ।


तीमध्ये बाहुनगाउँमा केही समयअघि ट्रयाक खुलिसकेको छ । जैमिनीको पूर्वी खण्डमा कालीगण्डकी करिडोरले चिरेपछि भूगोल केही सहज भएको छ । जैदी, छिस्ती र अर्जेवाका पूर्वी खण्डमा सहजै यात्रा गर्न सकिने भएपछि अन्य सडक करिडोरमै जोडिनेगरी निर्माण थालिएको हो ।


‘राष्ट्रिय गौरवको आयोजना भएकाले फराकिलो र सहज यात्रा गर्न सकिने खालको हुनेछ भनेर अरू सडक करिडोर लक्षित गरेका हौं,’ ८ नम्बरका वडाध्यक्ष विजय अधिकारीले भने, ‘जनप्रतिनिधि आएको अनुभूति यातायातबाटै दिन खोजेका छौं ।’ ग्रामीण बस्तीबाट सहर पस्न सडककै सास्ती परेकाले सबैको माग सडकमात्रै भएको उनले बताए । करिडोरको बागलुङ खण्ड चालु वर्ष चौडा र स्तरोन्नतीको जिम्मा सेनाले लिइसकेको छ ।


ढोरपाटन नगरपालिकाले पनि सालझन्डी–ढोरपाटन खण्डलाई आधार बनाएरै नगर क्षेत्रभित्र सडकको ट्रयाक खोलिरहेको छ । बाहुनगाउँ, नाथुरी, रिनाम र खुंगालगायत गाउँ पुग्न मुख्य सडककै आड लिएर निर्माण भइरहेको हो । ढोरपाटन उपत्यकामा संचालन गर्न सकिने धेरै परियोजनाका लागि समेत यो सडक तत्काल सक्न नगरपालिकाले आयोजनालाई दबाब दिएको छ ।


‘हरेक वर्ष दक्षिणमा जिरो बनाएर बजेट खर्चेर हामी अन्यायमा परेका छौं,’ नगरप्रमुख नेपालीले भने, ‘अबको बजेट ढोरपाटनलाई जिरो बनाएर काम गर्न दबाब दिएका छौं ।’ यो सडक पुरा भएपछि उत्तरगंगा जलविद्युत् आयोजनासहितका काम छिटो सुरु हुने उनले बताए ।

प्रकाशित : फाल्गुन ६, २०७५ ११:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?