कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

बाँदरले खाएको ‘मकैको बिमा हुनुपर्‍यो’

आश गुरुङ

लमजुङ — बेंसीसहर नगरपालिकाका स्थानीयले मकैको बिमाको माग गरेका छन् । बाँदरले मकै र अन्नबाली खाएर दु:ख दिएपछि बिमा हुनुपर्ने माग गरेका हुन् ।

बाँदरले खाएको ‘मकैको बिमा हुनुपर्‍यो’

‘गएको भदौमा बाँदरले बोटको मकै सबै खाइदियो । घरका परिवार पालैपालो गरी रुँघ्दा पनि बाँदरले टेरेन । मेरो मात्रै होइन छिमेकीका पनि सबै खाइदियो । रातसाँझै बाँदर पसेर हैरान,’ बेंसीसहर नगरापलिका–३ दनाईंगाउँकी मन्दिरा दनाईं भन्दै थिइन्, ‘यो बाँदरलाई कि सखाप बनाउनुपर्‍यो । होइन भने बाँदरले खाएको मकैको बिमा गरिदिनु पर्‍यो ।’


बेंसीसहरमा आइतबार आयोजित एउटा कार्यक्रममा दनाईंले बारीमा लगाएको मकै तथा अन्नबाली खाएको बेलिविस्तार भन्दै बिमा गरिदिन आग्रह गरिरहँदा सहभागीबीच हाँसो फुट्यो । उनले आफ्नो हाँसो सम्हाल्दै उनले जिज्ञासा राखिन्, ‘म कार्यापालिका सदस्य पनि हुँ । हामी आफैं खानका लागि मकै रोप्छौं । बाँदरलाई केही गरी धपाउन सक्दैनौं । अनि हामी भोकै बस्ने ?’ उनी मात्रै होइन, बेंसीसहर नगरपालिका–६ चण्डीस्थानकी राममाया खत्रीले गाउँमा लगाएको मकैबालीलगायत खाद्यान्न तथा तरकारीबाली बाँदरले सखाप बनाएको बताइन् । बाँदरले मात्रै होइन, दुम्सीले पनि खाइदिने गरेको उनले बताइन् ।


‘गाउँमा केही खेती पाक्न लाग्यो कि बाँदर आउँछ । सबैभन्दा बढी मकैबालीमा पल्किएको छ’ हलबाहिर निस्किएपछि उनले भनिन्, ‘किसानसँग जोडिएका, जनजीविकासँग जोडिएका यस्ता खाद्यान्न बालीको बिमा भएको भए सहज हुन्छ । हामी खेती गर्ने, बाँदरका लागि हुने हो भने हामी भोकै बस्ने ? बिमा हुनु पर्दैन ?’ आफ्नो बाली बाँदर वा दुम्सीले खाओस् भनेर कसैले नभन्ने तर खाइसकेपछि यसको क्षतिपूर्ति दिने को ? भनेर उनले जिज्ञासा राखिन् । गाउँमा गरिएको गोलभेडा खेतीसमेत बाँदरले खाएर सताउने गरेको उनले बताइन् ।


स्थानीय तहसँग बिमा समितिले गरेको अन्तरक्रियामा बेंसीसहर –७ की श्रद्धा घिमिरे पौडेल खत्रीले भनिन्, ‘मैले २० वटा बाख्रा पालेकी छु । बिरामी हुन्छन् । जिउँदैमा बिक्री गर्दाभन्दा उपचारमा बढी खर्च लाग्छ । यस्तो अवस्थामा बिमाले किन नहेरेको ? हेर्नलाई बाख्रा मर्नै पर्ने ? उपचार खर्चको व्यवस्था हुनु पर्दैन ?’


उनले किसानलाई जसरी पनि घाटा नै घाटा परेको बताइन् । बेंसीसहर नगरपालिका पशु सेवा शाखा प्रमुख चिरञ्जीवी कुँवरले बाघले मारेको पशुको बिमा दाबी गर्दा समस्या भएको बताए । ‘बिमा कम्पनीले बाघले खाएको वा मारेको प्रमाण खोज्छ । बाघैले खाएको हो । बाघले खाँदै गरेको फोटो खिच्न सकिँदैन । बाघले खाएको प्रमाण छोडदैन’ उनले भने, ‘यस्ता समस्या धेरै छन् । बिमालाई सहज र सरल बनाउन आवश्यक छ ।’


लगत्तै बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले भने, ‘अहिलेसम्म कुनै पनि वन्यजन्तुले खेतीबालीमा गराएको क्षति सम्बन्धी बिमाको अवधारणा छैन । स्थानीय तहसँग मिलेर कसरी यसलाई न्यूनीकरण गर्न सकिन्छ भन्नेतर्फ योजना बनाउँm ।’ निर्जीवन कम्पनी ग्रामीण भेगमा पुग्न उनले निर्देशन दिए । भने, ‘कम्पनी खोल्दा गाउँमुखी, कृषि, पशुको बिमा गर्ने भनेर खोल्ने । अहिले अप्ठ्यारो भयो, असहज भयो भने ठूला किसान र धनीको पछि लागेर हुन्छ ?’ हुने खाने वर्गमा बिमाको सेवा पुगे पनि ग्रामीण भेगमा बिमा कम्पनी नपुगेको उनले बताए । उनका अनुसार बिमा कम्पनीको दायरा १७ प्रतिशत जनसंख्यामा मात्रै छ ।


प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालका अनुसार निर्जीवन बिमा कम्पनी ग्रामीण भेगसम्म पुग्न सकेको छैन । ग्रामीण भेगका साधारण किसान बिमाको पहुँचभन्दा बाहिर छ । ‘कृषि र पशु बिमा हुन आवश्यक छ । सेवालाई ग्रामीणमुखी बनाउन आवश्यक छ’ उनले भने, ‘एकीकृत र पुनर्बिमितको अवधारणाअनुसार अघि बढाऊँ । नियमनकारी निकायले कडाइ गरौं ।’


बिमा कम्पनीहरू धनीका पछि लाग्ने गरेको उनले आरोप लगाए । बेंसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले राज्यले बिमालाई सहज र आकर्षित बनाउन नसकेको बताए । बिमा कम्पनी उद्देश्यअनुरूप अघि नबढी अनुचित फाइदा लिनतर्फ प्रेरित हुँदै गएको उनले आरोप लगाए ।


‘बैंकिङ पहुँच र सूचनालाई सबै नागरिकसमक्ष पुर्‍याउनुपर्छ । धेरै कम्पनी खोलेरभन्दा सेवा प्रभावकारी हुनुपर्छ,’ उनले भने । सबैखाले सम्पत्तिको बिमा गर्ने परिपाटी भएमा मात्रै कृषि, पशु, जीवन, निर्जीवन बिमा हुने उनले बताए । ‘हामीले कृषि, पशु तथा स्वास्थ्यको क्षेत्रमा बिमा गराउन बजेट विनियोजन गरेका छौं । हाम्रो कार्यक्रम छ । अझै अर्को वर्ष बढी बजेट विनियोजन गर्छौं,’ उनले भने ।

प्रकाशित : फाल्गुन ६, २०७५ ११:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?