१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

स्थानीय तह भाडाका घरमा

प्रकाश बराल

बागलुङ — स्थानीय तहका कार्यालय सञ्चालनका लागि मात्र वार्षिक ३७ लाख रुपैयाँ घर भाडामा खर्च गरिरहेका छन् । वडा समितिका कार्यालयहरू पनि अधिकांश भाडाकै घरबाट सञ्चालन हुँदा घरभाडामा मात्रै स्थानीय तहको खर्च वार्षिक करिब एक करोड छ । 

स्थानीय तह भाडाका घरमा

साबिकका गाविस कार्यालय रहेका भवनहरू अधिकांश ध्वस्त भएकाले स्थानीय तहले कार्यालय राख्न आफ्नै ठाउँ नपाएका हुन् । कार्यालय सञ्चालनका लागि आफ्नै भवन नहुँदा आवश्यकताभन्दा धेरै महंगो भाडा तिर्नुपरेको छ ।


सदरमुकाम रहेको बागलुङ नगरपालिका, ताराखोला र तमानखोला गाउँपालिकाले मात्र कार्यालयको भाडा तिर्दैनन् । अरू सबैमा लाखौं रुपैयाँ खर्च हुने गरेको छ । कर्मचारी र प्राविधिकसहित संख्या बढेपछि फराकिलो कार्यालयका लागि घर भाडामै लिनुपरेको वडाध्यक्षहरूको भनाइ छ ।


सबैभन्दा धेरै भाडा जैमिनी नगरपालिकाले तिर्छ । मासिक ९५ हजार ६ सय ६० रुपैयाँ भाडा तिरेर कार्यालय सञ्चालन भइरहेको प्रमुख इन्द्रराज पौडेलले बताए । वडा तहको खर्च त्यसमा समावेश छैन । ‘सरकारी संयन्त्र वा भवन केही पनि नभएकाले सबै भाडाकै भरमा चल्नु परेको हो,’ उनले भने, ‘वार्षिक १२ लाख खर्च रोक्न सकिएको छैन ।’


ढोरपाटन नगरपालिकाले पनि मासिक ९४ हजार ५ सय रुपैयाँ भाडा तिर्छ । बुर्तिबाङ बजारमा सार्वजनिक जग्गा नभएकाले भाडाकै घरमा कार्यालय सञ्चालन गर्नुपरेको नगरप्रमुख देवकुमार नेपालीले बताए । ‘हामीले नगरपालिकाको कार्यालयका लागि जग्गा किनेर आफ्नै भवन बनाउने योजना पनि बनायौं तर खोजेको जस्तो जग्गा पाइएन,’ उनले भने, ‘बस्ती विकास मादपडण्डसमेत लागू गर्न नसकिने गरी बजार बढिसकेको छ ।’ तमान र भुजीखोलाले बजारक्षेत्रमा कटान गरिरहेकाले भएकै बजार संरक्षणमा पनि चुनौती भएको उनले बताए ।


गलकोट नगरपालिकाले मासिक ८४ हजार भाडा तिरेर कार्यालय राखेको छ । त्यही भवन पनि अहिले साँघुरो भएर सेवा प्रवाहमा असर परेको नगरप्रमुख भरत शर्मा गैरेले बताए । केही सार्वजनिक भवन भएको हरिचौर बजारमा इलाका स्तरीय कार्यालय छन् ।


सार्वजनिक तथा खरिद गर्ने जग्गा अभावमा कार्यालय व्यवस्थापनसहित बसपार्क र फोहोर व्यवस्थापनको काम पनि गर्न नसकिएको उनले बताए । गलकोट नगरभित्र बसपार्क नहुँदा अधिकांश सवारी सडकमै पार्किङ गरिन्छन् । गाउँपालिकाहरूका वडा र मुख्य कार्यालय रहेका कतिपय ग्रामीण बजारमा बसाइँसराइले कतिपय घर खाली पनि छन् । त्यस्ता घर पनि लिन खोजे सम्बद्ध धनीले महँगो भाडा असुल्ने गरेका छन् ।


भाडा कम गराएर लिनेमा जनप्रतिनिधिको ध्यान पुगेको छैन । शिक्षा, कृषि, पशुसेवा, महिला तथा बालबालिका र वनलगायत साबिक कार्यालय स्थानीय तहमा विषयगत इकाइका रूपमा गाभिएपछि कर्मचारी संख्या थपिएका छन् । स्थानीय तहका कार्यालयलाई अबको आवश्यकता अनुसारको भौतिक पूर्वाधारयुक्त सरकारी भवन छैनन् । कार्यालय भाडाका घरमा राख्नु बाध्यता भएको तर्क जनप्रतिनिधिहरूको छ ।


निसीखोला गाउँपालिकाले तीनवटा कच्ची घर भाडामा लिएर कार्यालय सञ्चालन गरेको छ । गाउँपालिका अध्यक्ष तारानाथ पौडेलका अनुसार त्यसका लागि पनि मासिक ३४ हजार भाडा तिर्नु परिरहेको छ । काठेखोला गाउँपालिकाले ३४ हजार, बडिगाड गाउँपालिकाले मासिक ३५ हजार रुपैयाँ भाडा तिरेको छ । सबैभन्दा कम भाडा तिरेको बरेङ गाउँपालिकाले पनि मासिक १५ हजार तिरिरहेको अध्यक्ष कृष्णप्रसाद शर्माले बताए । बरेङमा केही पुराना सरकारी भवन पनि प्रयोगमा ल्याइएको छ ।


तमानखोला गाउँपालिकाले पुरानो स्वास्थ्यचौकी भवन प्रयोगमा ल्याएको छ । स्वास्थ्यचौकीको नयाँ भवन बनेकाले पुरानोलाई मर्मत गरेर गाउँपालिकाको कार्यालय राखिएको अध्यक्ष जोकलाल बुढाले बताए । ‘कार्यालय राख्न चाहिनेजस्तो मापदण्डको घर भाडामा लिन्छौं भन्दा पनि पाइने अवस्था छैन, साँघुरो भवनमा भए पनि काम चलाएका छौं,’ उनले भने, ‘विषयगत कार्यालयहरूसमेत कर्मचारीको डेरा बसेका घरमा सीमित छन् ।’ प्रशासकीय फाँट, लेखा र बैठक कक्षसमेत अप्ठ्यारोसँग चलेको उनले बताए ।


ताराखोला गाउँपालिकाले साबिकको अर्गल गाविसको भवनमा कोठा थपेर कार्यालय चलाएको छ । ‘केही खुला जमिन र संरचना थियो, त्यसमा लगानी गरेर भवन बनायौं,’ अध्यक्ष प्रकाश घर्तीले भने, ‘केन्द्र सञ्चालनपछि चहलपहल पनि बढेको छ ।’ स्थानीयले घरका कोठा थप्न थालेकाले कर्मचारीले डेरा पाउन भने केही सजिलो हुन थालेको उनले बताए ।


बागलुङ नगरपालिकाको आफ्नै भवन वडा नम्बर ३ को रात्माटामा थियो । तर, टाढा भएको भन्दै सदरमुकामको कृषि ज्ञान केन्द्र, महिला विकास र भूसंरक्षण कार्यालयका भवनमा सारेर कार्यालय राखेको छ । ती भवनमा पनि पर्याप्त कोठा नपुगेको भन्दै कृषिकै आवास भवनमा थप कोठा व्यवस्थापनको काम भइरहेको प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुँवरले बताए ।


तर, नगरपालिकाको आफ्नै भवन भने केही महिनादेखि खाली छ । उक्त भवनमा शिक्षा र स्वास्थ्य शाखा मात्र सञ्चालनमा छन् । अन्य कोठा खाली भएका हुन् । आफ्नै भवन खाली भए पनि नगरप्रमुख जनकराज पौडेल भने भाडाको घरमा बस्छन् । नजिकै घर भए पनि उनले मासिक २० हजार रुपैयाँ तिरेर बजारमै डेरा लिएका छन् । उक्त रकम नगरपालिकाले भुक्तानी गर्छ ।


वडा कार्यालय पनि भाडामै

जिल्लामा ४ नगर ६ गाउँपालिकाका ८५ वडा वडा छन् । अधिकांश वडा कार्यालयहरू पनि भाडाकै घरबाट सञ्चालित छन् । केही वडा समितिले सदरमुकाममा सम्पर्क कार्यालय पनि राखेका छन् । सबैका कार्यालय सञ्चालन गरिएका घरको भाडा स्थानीय तहबाटै भुक्तानी हुने गरेको छ ।

साबिकका केही गाविसका भवन भएका ठाउँमा मात्र वडा समितिले कार्यालय राख्न पाएका छन् । सदरमुकामस्थित बागलुङ नगरपालिकाभित्रका १४ वटा वडा समितमध्ये आधाले अझै भाडाकै घरमा कार्यालय चलाएका छन् ।


४ नम्बर वडा समितिले भाडा तिर्न छाडेर तत्कालीन जिविसको ऊर्जा शाखामा कार्यालय सारेको छ । ५ नम्बर वडा समितिले साबिकको मालिका गाविसको भवन प्रयोगमा ल्याएको छ । जैमिनी, गलकोट र ढोरपाटन नगरपालिकामा पनि अधिकांश वडा समितिका कार्यालय भाडाकै घरमा चलेका छन् ।


गाउँपालिकातर्फ पनि आधाभन्दा बढी वडा भाडाकै घरमा रहेको वडाध्यक्षहरूले बताए । ती सबैको खर्च जोगाउन सक्दा लाखौं रुपैयाँ बचत हुने जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगानाले बताए ।

प्रकाशित : फाल्गुन ६, २०७५ ११:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?