नक्कली नोटसहित दम्पति पक्राउ
लेखनाथ — नक्कली नोट र नोट छपाइ गर्ने रङ्गिन प्रिन्टर सहित एक दम्पतिलाई प्रहरीले पक्राउ गरेको छ । ३२ वर्षीय नरेश लामा र उनकी पत्नी २५ वर्षीया सरस्वती बलामीलाई प्रहरीले पोखराबाट सोमबार नियन्त्रणमा लिएको हो ।
उनीहरूको साथबाट एक हजार रुपैयाँका १९ थान नक्कली नोट,नोट बनाउन प्रयोग हुने १ थान कलर प्रिन्टर, एनटीसी र एनसेलका ९० हजार रुपैयाँ बराबरको रिचार्ज कार्ड, एउटा ल्यापटप, दुई मोबाइल र केही भारतीय नोट बरामद गरिएको प्रहरीले जनाएको छ ।
मकवानपुरको हेटौंडा घर भएका उनीहरू हाल पोखरा महानगरपालिका–५ पस्र्याङ धारामार्गमा डेरा गरी बसिरहेका थिए । पोखरा–१६ अर्मलाका विभिन्न किराना पसलमा नक्कली पैसा दिई रिचार्ज कार्ड लिएर फरार भएको सूचना पाएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।
अनुसन्धानका क्रममा उनीहरूको साथबाट ग १४ प ३५४ नम्बरको डुक मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । उनीहरूमाथि थप अनुसन्धान चलिरहेको कास्की प्रहरीले जनाएको छ ।
प्रकाशित : फाल्गुन ६, २०७५ १९:११