कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नगरमा सडक धमाधम

कान्तिपुर संवाददाता

पर्वत — कुश्मा नगरपालिकाले नगरभित्रका मुख्य तथा भित्री सडकको स्तरोन्नति र कालोपत्रेको कामलाई तीव्रता दिएको छ । नगरभित्रको ३ किलोमिटर सडक चालु आर्थिक वर्षभित्रै सक्नेगरी शिवालयचोक, धनेश्वरचोक, मैत्रीचोक, मेलमिलापचोकलगायतका क्षेत्रमा सडक विस्तार र कालोपत्रेको कामलाई तीव्रता दिइएको हो ।

नगरमा सडक धमाधम

बजारक्षेत्रका मुख्य सडक ८ मिटर चौडा पारेर कालोपत्रे गर्न सहरी विकास तथा पूर्वाधार विकास विभागबाट स्वीकृति लिएको नगरपालिकाले मुख्य बजारक्षेत्रमा मापदण्ड कायम गरी काम सुरु गरेको हो । मुख्य बजारमै भएको साँघुरो सडक र स्थानीयले सडक मिचेर बनाएका पेटी भत्काएर फराकिलो पार्दै नाली निर्माणको काम अहिले अघि बढेको छ । नगरको मुख्य र भित्री बजारका सबैजसो सडक न्यूनतम ८ मिटर चौडा बनाउनेगरी सडक विस्तारमा जुटेको नगरपालिकाले जनाएको छ ।


यसअघि मुख्य तथा शाखा सडक मिचेर बनाएका घरटहरा भत्काएर सबैजसो सडक चौडा पारिसकेको नगरपालिकाले अहिले दोस्रो चरणको पक्की नाली र कालोपत्रेको काम सुरु भएको जनाएको छ । पहिलो चरणमा रिङरोडको सडकका घरटहरा भत्काइसकिएकाले अब सडक चौडा पारेर मुख्य काम सुरु गरिएको नगर प्रमुख रामचन्द्र जोशीले बताए । ‘बजारका सबै सडकको न्यूनतम मापदण्डअनुसार चौडा पार्ने काम सकियो,’ उनले भने, ‘अहिले दोस्रो चरणका काम अघि बढेका छन् । वर्षाभित्रै नगरवासीलाई चिल्लो सडक दिने लक्ष्य छ ।’


शाखा सडकहरूको कालोपत्रेका लागि सर्वेक्षण सकिएकाले सबैजसो सडक कालोपत्रे गर्ने योजना बनाइएको उनले बताए । शाखा सडकहरू यसअघि ५ मिटर कायम गरिएकोमा नगरपालिका कार्यान्वयनपछि ८ मिटरको मापदण्ड बनाएर फराकिलो पार्ने योजना थियो । उक्त काममा केहीले विरोध गरेपछि केही समय रोकिएको थियो ।


पछिल्लो समय सहरी विकास आयोजनाले काम सुरु गरेपछि विरोध गर्नेले पनि स्वस्फूर्त रूपमा घरटहरा भत्काएर नगरपालिकालाई सहयोग गरेका छन् । कुश्माको सबै सडक कालोपत्रे गर्न सहरी विकास आयोजना मार्फत कुश्माका सबैजसो सडक कालोपत्रेका लागि आवश्यक रकम विनियोजन भइसकेको नगरपालिकाले जनाएको छ ।


यसअघि कुश्माको मुख्य बजारक्षेत्रको करिब ६ किलोमिटर सडक मात्रै कालोपत्रे थियो । सबै सडक कालोपत्रे गर्दा सदरमुकामको मुख्य बजारक्षेत्रको करिब ११ किलोमिटर सडक कालोपत्रे हुने कुश्मा–५ का वडाध्यक्ष चित्रकला शर्मा भारतीले बताइन् । पहिलो चरणको ३ किलोमिटर कालोपत्रेको जिम्मा लिएका निर्माण व्यवसायी दीपक श्रेष्ठले आगामी जेठको अन्तिमसम्ममा सबै काम सकिने दाबी गरे । ‘वैशाखभित्र नालीको काम सकेर एक महिनामा कालोपत्रे गर्ने लक्ष्यअनुसार अघि बढेका छौं,’ श्रेष्ठले भने, ‘जेठ मसान्तभित्र सबै काम सकेर नगरपालिकालाई जिम्मा लगाउने हो ।’


बजारको कुश्माको बान्द्रेबिंडी, खरेहा, लोकतन्त्रचोक, मेलमिलापचोकलगायत कुश्मा ४, ५, ६ र ७ नम्बर वडाभित्र पर्ने सबैजसो सडक कालोपत्रेको चरणमा रहेको नगरपालिकाले जनाएको छ । ‘अघिल्लो वर्षबाटै नगरका सडकको न्यूनतम मापदण्ड बनाउने योजना थियो,’ कुश्मा–७ का वडाध्यक्ष सुवासचन्द्र पौडेलले भने, ‘अहिले सबै नगरवासीको सहयोग भएकाले काम गर्न सहज भएको छ ।’


नगरपालिकाले चाक्लेको डिल, बौद्ध गुम्बा, उद्योग वाणिज्य संघ, कल्लेरी जाने बाटो, मेलमिलापचोक, लभ्लीडाँडालगायतमा सडकको मापदण्ड पूरा गरिसकेको जनाएको छ । नगरपालिका कायम हुनुअघि निर्माण भएका स्थायी संरचनामा समेत फेरबदल गरेर सडकको सबै स्वरूप नयाँ बनाउन लागेको हो ।


बजारका पुराना र मापदण्डबाहिर बनेका घरमा पेटी, पुराना नाली, विद्युत्, खानेपानीका पाइप, टेलिफोन, विद्युत् र केबलका तारसमेतको व्यवस्थापन गरी बजारलाई नयाँ स्वरूप दिन लागिएको हो । नगरपालिकाका प्राविधिकहरूका अनुसार सम्भव भएसम्म मुख्य सडक १० र शाखा सडक ८ मिटर बनाउनेगरी मापदण्ड बनाइएको छ ।


कुश्मामा निर्मित कीर्तिमानी अग्ला पुल, यान्त्रिक पुल, बन्जी जम्पलगायतका कारण पछिल्लो समय यहाँ आउने पर्यटकको चाप बढदो छ । पर्यटकको चाप बढेसँगै नगरभित्रका सडकमा सवारी संख्या बढ्ने भएकाले सडक फराकिलो पार्नैपर्ने देखिएको जोशीले बताए ।

प्रकाशित : फाल्गुन ७, २०७५ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?