१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

कालिका मन्दिरले विवाहलाई कडाइ

प्रकाश बराल

बागलुङ — विवाहको लगन भएका महिनामा पाँच सय जोडीसम्मले बागलुङ कालिका मन्दिरमा विवाह गर्छन् । मन्दिरमा विवाह गर्दा एक–दुईजना साथी लिएर आएकादेखि दुईजना मात्र आएर गर्ने पनि हुन्छन् । यसरी आएका कसरी आएका हुन्, यसअघि विवाह भएका हुन् वा होइनन् थाहा नभएपछि कालिका भगवती गुठी व्यवस्थापन समितिले विवाहमा कडाइ गरेको छ । 

विवाहका लागि आएका जोडीले कम्तीमा अभिभावक र विवाह नभएको कुनै प्रमाण ल्याउन भनेको हो । ‘मन्दिरमा आएर विवाह गर्न भन्दै छुट दिँदा कुनै अपराधमा संलग्न, बहुविवाह गर्ने र उमेर नपुगेकाहरू परेको अनुमान गरियो’ समितिका अध्यक्ष राजु खडकाले भने, ‘मन्दिरमा विवाह गरेको प्रमाणसमेत नराखेकाले नाटक मात्र गर्न सक्ने खतरासमेत बढेको छ ।’ यसरी आएकाहरूमा धेरैले उमेर नपुगेरै विवाह गरेको भेटिएको उनले बताए ।


नेपालको कानुनले २० वर्ष पुगेपछि मात्र विवाह गर्न योग्य मानेको छ । तर मन्दिरमा आएर विवाह गर्न खोज्नेहरू कम उमेरको भेटिएको उनले टिप्पणी गरे । ‘बालविवाह अन्त्यका लागि अभियान चलिरहेकै बेला मन्दिरमा अवसर दिन सकिँदैन’ खडकाले भने, ‘सबै मिलेर बालविवाहको अन्त्य गरौं ।’ मन्दिरमा आएको निहुँ पारेर अधिकांशले बहुविवाह गरेको भेटिएको समेत उनले बताए । मंसिर, माघ, फागुन, वैशाखलगायतका महिनामा मन्दिरमा ५ सयवटासम्म विवाह हुने गरेको रेकर्ड छ । विवाहका लागि आएकाहरूले आसपासमा बसेका पण्डित बोलाउने गर्छन् ।


बालविवाह बढेपछि तमानखोला गाउँपालिकाले भने कानुनी रूपमै हटाउने अभियान थालेको छ । गाउँपालिकाले डकुमेन्ट्री समेत बनाएको अध्यक्ष जोकलाल बुढाले बताए । गाउँपालिकाले बालविवाह भएमा बदर गर्ने नीतिसमेत लिएको हो । ‘केही केसमा हामीले बदर पनि गराएका छौं’ बुढाले भने, ‘विवाह भनेको २० वर्ष काटेपछि मात्र गर्नुपर्छ भन्ने सन्देश दिनका लागि पहल भएको छ ।’ अहिलेसम्म ११ जोडीको विवाह बदर भइसकेको उनले बताए । विद्यालय तहमा पनि चेतना विकासका अभियान चलाउन शिक्षकलाई प्रशिक्षण दिइएको छ ।


‘लैङिक हिंसा तथा जातीय छुवाछुत अन्त्य गर्ने चुनौती पूरा गर्न सबैको सहयोग चाहिएको छ’ बुढाले भने, ‘भौतिक विकास जस्तै सामाजिक विकासको जागरण चलाउनुपर्ने बाध्यता छ ।’ सामाजिक विकासबिना भौतिक विकासले मात्र अगाडि बढ्न नसकिने पनि उनले बताए । बालविवाहबाट खुंखानी, बुंगादोभान, खुंगालगायतका गाउँमा धेरै समस्या आउने गरेको स्वास्थ्यकर्मी बताउँछन् ।


‘अभिभावकले बालबालिकाको शिक्षा र स्वास्थ्यमा ध्यानै नदिएकाले सानै उमेरमा आमा बन्नेहरूमा तल्लो पेटको समस्या धेरै छ’ महिला स्वास्थ्य स्वयंसेविका ज्ञानकुमारी छन्त्यालले भनिन्, ‘सुत्केरी गराउन स्वास्थ्य संस्थामा आउने पनि धेरै कम छन् ।’ विवाह भएपछि पढाइ छाड्ने क्रम सबै विद्यालयमा रोग बनेको शिक्षक बताउँछन् ।

प्रकाशित : फाल्गुन ८, २०७५ ११:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?