१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

गाउँका क्याम्पसमा दरबन्दी अभाव

बागलुङ/दमौली — ढोरपाटन नगरपालिका–१ का टीकाराम कुमालले उमेरमा पढ्न पाएनन् । छोराछारीलाई समेत नजिकमा कलेज नहुँदा टाढा पठाउन सकेनन् । गाउँमा शिक्षाको विकास गर्नैपर्छ भनेर कुमाललगायतका केही व्यक्तिले कोदो रोप्ने जग्गा दान दिएपछि २०४८ सालमा निसीभुजी जनता क्याम्पस स्थापना भयो । दाताबाट चन्दा संकलन गरेर भवन पनि बन्यो ।

गाउँका क्याम्पसमा दरबन्दी अभाव

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यो क्याम्पसमा अधिकांश प्राध्यापक निजी स्रोतमा सञ्चालित छन् । क्याम्पस व्यवस्थापनले प्राध्यापकलाई लामो समयदेखि तलब खुवाउन सकेको छैन । हरेक वर्ष ३ सय ५० विद्यार्थी यहाँ पढ्छन् ।


बलेवास्थित कृष्णगण्डकी क्याम्पसमा नौ महिनादेखि प्राध्यापकले तलब खान नपाएको प्रमुख दीपेन्द्र खडकाले बताए । ‘गाउँका युवा गाउँमै रोक्ने भनेर क्याम्पस खोले पनि सञ्चालन गर्न सास्ती भएको छ’ खडकाले भने, ‘युवा रोकिए पनि दक्ष जनशक्ति अड्याउन सकिएन ।’ एकजना दरबन्दीका प्राध्यापक बाहेक ७ निजी स्रोतमा छन् । सबैले तलब नपाएका हुन् । तलब खुवाउनका लागि अक्षयकोष बनाउने भन्दै क्यामपस बचाऊ अभियान थालिएको अध्यक्ष कलमकुमार जिसीले बताए । गाउँले मिलेर महोत्सव गर्दै अक्षय कोषका लागि रकम संकलन गरिरहेका छन् । यहाँ एक सय विद्यार्थी अध्ययनरत छन् ।


जिल्लाका ११ क्याम्पसमध्ये १० वटाले आर्थिक संकट भोगेका छन् । सबै त्रिविबाट सम्बन्धन प्राप्त हुन् । बरेङस्थित सर्वोदय क्याम्पस, जैमिनी नगरपालिकाको शान्तिदीप बहुमुखी क्याम्पस, गलकोट बहुमुखी क्याम्पस, काठेखोला गाउँपालिकाको अमर क्याम्पस र भीमसेन क्याम्पस पनि यस्तै अवस्थामा छन् । यी सबै सामुदायिक क्याम्पस हुन् । सदरमुकाममै चलेका दुईवटा निजी क्याम्पस भने नाफामा चलेको सञ्चालकले बताए ।


अभिभावक र शिक्षक मिलेर पूर्वाधार र दिगो स्रोत नबन्दै सम्बन्धनका लागि धाउने प्रवृत्तिले यस्तो समस्या आएको धौलागिरी बहुमुखी क्याम्पसका प्रमुख रामप्रसाद उपाध्याय बताउँछन् । ‘आंगिक क्याम्पससमेत सञ्चालनमा कठिन भएका बेला सामुदायिक क्यामपस चलाउनु धेरै गाह्रो छ’ उपाध्यायले भने, ‘हाम्रोमा आउने विद्यार्थीभन्दा गेटमा खोलिएको कोरियन र जापानी भाषा कक्षामा धेरै युवा भएपछि क्याम्पस कसरी चल्छन् ?’ सैद्धान्तिक शिक्षाको प्रमाणपत्र पाए पनि व्यावहारिक शिक्षा अभावमा युवाहरूले भाषा सिकेर विदेशिएको उनले टिप्पणी गरे ।


ग्रामीण क्षेत्रका सामुदायिक क्याम्पसले अझै पनि कोष बनाएर विद्यार्थी टिकाउने योजना बुनेका छन् । ‘स्मार्ट क्याम्पसको अभियान चलाएर आकर्षण गर्न लागेका छौं,’ निसीभुजी क्याम्पसका अध्यक्ष चन्द्र अर्यालले भने, ‘दुई छाक खान नपाएका अभिभावकका छोराछोरीलाई हामीले गाउँमै पढाउँछौं ।’ अभिभावककै सहयोगमा बुर्तिबाङमा १२ रोपनी जमिन लिएर क्याम्पस भवन निर्माण भइसकेकाले सञ्चालन गर्न सकिने उनले दाबी गरे । गत कात्तिकमा उनीहरूले महायज्ञ गरेर दुई करोड रुपैयाँ संकलन गरेका छन् । उक्त कोषको ब्याजबाट क्याम्पस सञ्चालन गर्ने योजना बनाइसकेको अर्यालले बताए ।


प्रतिस्पर्धी बनाउन सूचना प्रविधि र कम्प्युटरलगायतको सेवा थप गर्न लागेको अर्याल बताउँछन् । स्मार्ट क्याम्पसका लागि पर्याप्त पूर्वाधार, उपकरण र सूचना प्रविधि पुगेको बनाउने क्याम्पसको योजना छ । धौलागिरि बहुमुखी क्याम्पसमा भने इतिहासका ४ जना, राजनीति शास्त्रका ३ जनालगायत प्राध्यापकको दरबन्दी छ । उनीहरूको कक्षा भने छैन । विद्यार्थी अभावमा ती विषय शून्य भइसकेका छन् । धेरै विद्यार्थी भएका व्यवस्थापन र विज्ञान संकाय भने आंशिक शिक्षकको भरमा चलेको छ । क्याम्पसले ३९ जना आंशिक शिक्षक राखेर पढाइ सञ्चालन गरिरहेको सहायक प्रमुख धु्रवराज गौतमले बताए । २ हजार २ सय विद्यार्थी पढ्ने यो क्याम्पससहित ग्रामीण तहका क्याम्पसमा पनि झन्डै दुई हजारकै हाराहारी विद्यार्थी पढिरहेका छन् । उनीहरूको शैक्षिक भविष्यका लागि राज्यले लगानी नगरेको अमर क्याम्पसका प्रमुख भीष्म कँडेलले टिप्पणी गरे । ‘हजारौं खर्चेर पढ्ने विद्यार्थीलाई गाउँमा सेवा दिएका छौं तर शिक्षक दरबन्दी भने पाइएन’ कँडेलले भने, ‘स्नातकसम्मको पढाइ नगर्ने हो भने बालबालिका र बूढाबूढी मात्र गाउँमा बाँकी रहन्छन् ।’


शून्य दरबन्दीबाट उत्कृष्ट नतिजा

चार वर्षअघि यहाँको धवलागिरि बहुमुखी क्याम्पसमा विज्ञान तथा प्रविधि संकाय स्थापना भयो । हरेक वर्ष ८० देखि ८५ प्रशितश उत्तीर्ण गराएर उत्कृष्ट नतिजा ल्याउन सफल छ ।


यो संकायमा ११ प्राध्यापक आवश्यक छ तर अहिलेसम्म एक जना पनि दरबन्दी पाएको छैन । आंशिक शिक्षकको भरमा सिंगो संकाय सञ्चालन भइरहेको छ । यो त्रिविको आंगिक क्याम्पस हो । चालु वर्षदेखि व्यवस्थापन संकायको बीबीए सञ्चालित छ । त्यसका लागि पनि आंशिक शिक्षककै भर छ । संकायतर्फ ५ जना दरबन्दीका प्राध्यापक भएकाले थप ७ जना आंशिक राखेर बीबीएस, बीबीए र एमबीएस सञ्चालनमा छ । तर ४ जना स्थायी दरबन्दी भएको इतिहास र ३ जना दरबन्दी भएको राजनीतिशास्त्रमा एकजना पनि विद्यार्थी छैनन् । ७ प्राध्यापकले एउटा पनि कक्षा नलिएरै तलब खाएका छन् । खचाखच विद्यार्थी भएको व्यवस्थापन र विज्ञानले दरबन्दी नपाउँदा आंशिक शिक्षकले छाडेको दिन पढाइ ठप्प हुन्छ । ‘हामीले पटक–पटक दरबन्दी मागेका छौं, पाइएको छैन’ क्याम्पस प्रमुख रामप्रसाद उपाध्यायले भने, ‘भीसी, रेक्टर र रजिष्ट्रारलाई भेट्न कतिपटक जाने, केही उपलब्धि हुँदैन ।’ बरु स्थायी प्राध्यापक अन्यत्र सरुवा भएपछि भएको पढाइमा पनि असर परेको उनले टिप्पणी गरे ।


मानविकीतर्फ समाजशास्त्र, मानवशास्त्रमा विद्यार्थी भए पनि शिक्षक आंशिक धेरै छन् । गणिततर्फ ३ जना स्थायी र ३ जना आंशिक छन् । अंग्रेजी विभागमा ६ स्थायी, १० आंशिक छन् । कुल ७६ प्राध्यापकमध्ये ३७ स्थायी र ३९ जना आंशिकले क्याम्पस चलेको छ । भएका स्थायीको कक्षा छैन, आंशिकले सबै संकाय र विषय धानेका छन् । त्रिविले एक वर्ष अनुभव भएका र सातामा १५ पिरियड पढाएका शिक्षकलाई करारमा नियुक्त गर्ने भन्ने निर्णय गरेको चार वर्ष बितिसक्दा पनि आफ्नै निर्णय पालना नगरेको आंशिक शिक्षक संघका अध्यक्ष विष्णु चापागाईंले बताए । संघले पटकपटक आंशिक शिक्षकले करार नियुक्तिको माग गर्दै केन्द्रीय तहसम्म आन्दोलनसमेत गरेको छ । आफ्नै निर्णय पालनाको माग गर्दा पनि सुनुवाइ नभएको उनीहरूले टिप्पणी गरे । साताको १५ पिरियड भने पनि ५८ पिरियडसम्म पढाउने प्राध्यापक छन् । उनीहरूको क्षमताको कदर नभएको, पेसाको सम्मान नगरिएको लगायत कारणले पनि पढाइ रोकेर धर्नामा बस्नुपरेको उनीहरूको भनाइ छ ।


आंशिक प्राध्यापकले काम नगर्दा समय–समयमा पढाइ पूर्ण रूपमा प्रभावित हुने गरको छ । आंशिक रूपमा पढाउने ४६ प्राध्यापकले धौलागिरी बहुमुखी क्याम्पसको नियमित पढाइ सञ्चालन भइहेको छ । आंशिक शिक्षककै कारण वार्षिक ३४ लाख घाटामा सञ्चालन गर्नुपरेको उपाध्यायले बताए । नियमित आम्दानी ३ करोड ९५ लाख ४१ हजार आय हुने क्याम्पसमा ५ करोड ११ लाख ६१ हजार रुपैयाँ खर्च भएको छ । आंशिक शिक्षकको तलब दिन नपरे घाटा नहुने उपाध्याले बताए । ‘क्याम्पसलाई अनुसन्धानमूलक बनाउने, दरबन्दीका शिक्षक भित्राउने चाहना भएर पनि पाउन सकेका छैनौं’ उपाध्यायले भने, ‘आंशिक साथीहरू नभए हामीले क्याम्पस सञ्चालन गर्नै सक्दैनौं ।’ हाल क्याम्पसमा २ हजार १ सय २७ विद्यार्थी अध्ययनरत छन् । क्याम्पस २०१९ सालमा स्थापना भएको हो ।


१७ वर्षपछि छात्रावास सञ्चालनमा

दमौली– निर्माण सुरु गरेको १७ वर्षपछि छात्रावास सञ्चालनमा आएको छ । तनहुँको व्यास–१ दमौली भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पस परिसरमा निर्माण गरिएको सहिद चन्द्र नेपाली छात्रावास सञ्चालनमा आएको हो । संसद् विकास कोष, शान्ति तथा पुनर्निर्माण मन्त्रालय, जिल्ला समन्वय समिति र व्यास नगरपालिकाको ३४ लाख रुपैयाँको लागतमा छात्रावास निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले बताए ।

‘छात्रावास निर्माण गर्न यत्रो वर्ष लाग्यो’, उनले भने, ‘बजेट अभावमा छात्रावास निर्माणमा ढिलाइ भयो ।’ १३ कोठे छात्रावास तयार भएको हो । यहाँ ३० विद्यार्थी राख्न सकिन्छ । छात्रावासमा बस्नका लागि धेरै विद्यार्थीले माग गरेका छन् । सयजना विद्यार्थी अट्ने छात्रावास बनाउने लक्ष्य राखेको र त्यसका लागि एक करोड ५० लाख रुपैयाँ बजेट आवश्यक पर्ने अनुमान छ । स्थानीय, प्रदेश र संघीय सरकारसँग बजेट माग गर्ने क्याम्पसले जनाएको छ । ३० जना क्षमतामध्ये १६ विद्यार्थी छात्रावास बसेका छन् । शैक्षिक सत्रको मध्य समयमा छात्रावास सञ्चालन भएकाले क्षमताभन्दा कम विद्यार्थी बसेका हुन् ।


‘विद्यार्थीले बजारमा भाडामा कोठा लिइसकेको समय पर्‍यो, उनले भने, ‘अर्को शैक्षिक सत्रका लागि अहिलेदेखि छात्रावासमा बस्न विद्यार्थीले माग गरेका छन् ।’ आर्थिक रूपमा विपन्न, पढाइमा जेहेन्दार, भौगलिक विकटता भएका विद्यार्थीलाई छात्रावासमा राख्ने व्यवस्था गरेको उनले बताए । क्याम्पसका उपप्रध्यापक एवम् शिक्षा विभागका प्रमुख कल्पना लम्साललाई छात्रावास प्रमुखको जिम्मेवारी दिइएको छ । छात्रावासमा गरिब, जेहेन्दार विद्यार्थी मात्र बसेको लम्सालले बताइन् । ‘विद्यार्थीसँग जम्मा एक हजार रुपैयाँ मात्र छात्रावास शुल्क लिएका छांै,’ उनले भनिन्, ‘यसले गरिब विद्यार्थीलाई धेरै राहत दिएको छ ।’ छात्रावासमा बस्ने विद्यार्थीले ६ महिनासम्मको नि:शुल्क छात्रवृत्तिको व्यवस्था मिलाइएको छ । यो सुविधा छात्रावासमा नबसेका विद्यार्थीले पाउँदैनन् । आवास, खाना, खाजा, इन्टरनेट, पुस्ताकलय, पानी, बत्ती र अतिरिक्त क्रियाकलापसमेत छात्रावासमा बस्ने विद्यार्थीलाई सुविधा छ । छात्रावास बस्ने व्यवस्था गर्दा गरिब विद्यार्थी खुसी छन् । क्याम्पस परिसरमा छात्रावास सुविधा पाउनु राम्रो भएको छात्रावासमा बसेकी विद्यार्थी मनीषा मिश्रले बताइन् । ‘छात्रावासले धेरै कुरामा सुविधा मिलेको छ,’ उनले भनिन्, ‘एक हजार छात्रावास शुल्क तिरेपछि खान, बस्न, लेखपढ गर्न र अन्य सुविधा पाएको छौं ।’ छात्रावास नभएको भए बाहिर बजारमा एक महिनामा कोठाभाडा मात्र तीन हजार रुपैयाँ तिर्नुपथ्र्यो । कोठा भाडा, खाना र अन्य खर्च गरी न्यूनतम पनि आठ हजार रुपैयाँ खर्च हुने र परिवारमा ऋण लाग्ने उनले बताइन् ।


छात्रावास सुविधाले गरिब विद्यार्थीका योभन्दा सुविधा के हुन सक्छ भन्दै विद्यार्थी फुरुङ्गिएका छन् । क्याम्पसमा धेरै सुविधाको अवसर दिएको छ तर छात्रावासमा सुरक्षा गार्ड छैनन् । छात्रावासको पछाडिको भागमा पर्खाल छैन । यसले अलि असुरिक्षत महुसुस भएको छ । क्याम्पस प्रशासनलाई सुरक्षा गार्ड र पर्खालको व्यवस्था गर्न भनिएको उनले बताइन् । यसैगरी छात्रावासमा पानीको सुविधा नभएकाले प्रबन्ध मिलाउनु पर्नेमा उनले जोड दिइन् ।


निर्मल माविको स्वामित्वमा रहेको दुई रोपनी क्षेत्रफलमा निर्माण गरिएको छात्रावासमा बर्सेनि दुईजना निर्मलका गरिब विद्यार्थी राख्नुपर्ने प्रवधान छ । राणा शासनविरुद्धको आन्दोलनमा तनहुँसुरका चन्द्रबहादुर सार्की सहिद भएका थिए । उनको सम्मानमा क्याम्पस परिसरमा छात्रावास निर्माण गरिएको हो ।

प्रकाशित : फाल्गुन ८, २०७५ ११:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?