सिमसिमे पानीमा र्‍याली

कान्तिपुर संवाददाता

लमजुङ — बिहानैदेखि पानी सिमसिम परिरहेको थियो । बिहानीको समय झन् बढी पर्न थाल्यो । केहीबेरमा मानिसहरू बेंसीसहरको मनाङे चौतारामा जम्मा भए ।कोही छाता ओढदै थिए । कोही यत्तिकै थिए । ६९ औं प्रजातन्त्र दिवस र तेस्रो निर्वाचन दिवस एकै दिन मंगलबार ।

दिवस मनाउन गठित मूल समारोह समितिले साढे ७ बजे बोलाइएका सहभागी निर्धारित समयमै मनाङे चौतारा पुगे । निमत्याइएका अतिथि, राजनीतिक दल, सहभागी सेना, प्रहरी, कार्यालयका प्रमुख तथा प्रतिनिधि, केही स्थानीय कोही छाता ओढदै हिँडे, कोही शरीर भिजेरै र्‍यालीमा निस्किए । बजार वरपरका बासिन्दा भने र्‍याली हेरिरहेका थिए । उनीहरू बाहिर निस्केनन् । ‘पानी परे पनि र्‍याली कार्यक्रम राम्रो भयो’ जिल्ला निर्वाचन कार्यालयका निमित्त प्रमुख जीवाखर शर्माले भने ।


मनाङे चौताराबाट छुटेको र्‍याली जिल्ला समन्वय समितिको हलमा पुगेर सभामा परिणत भयो । सहभागीले दिवसीय कार्यक्रमहरू कर्मचारी, सेना, प्रहरीको मात्रै भएजस्तो गरी नागरिक सहभागी नभएको टिप्पणी गरे । गण्डकी प्रदेश सांसद धनञ्जय दवाडीले प्रजातन्त्र विधि र पद्धति भएकाले यसलाई संस्थागत गर्नुपर्नेमा जोड दिए । ‘गणतन्त्र, लोकतन्त्र, प्रजातन्त्र जे भने पनि जनताले शासन चलाउने व्यवस्था हो । निर्वाचनले यसलाई संस्थागत गर्छ’ उनले भने, ‘हामीले लोकतन्त्र, गणतन्त्र, प्रजातान्त्रिक अभ्यासबाटै समृद्ध नेपाल निर्माण गर्नुपर्छ ।’


बेंसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले निर्वाचनले प्रजातन्त्रलाई बलियो बनाउने बताए । नेकपा जिल्ला संयन्त्र सदस्य सुनील सुनारले प्रजातन्त्रबाट लोकतन्त्र हुँदै गणतन्त्रसम्म आएकाले समयानुकूल परिस्कृत हुँदै जानुपर्ने र लगिनुपर्नेमा जोड दिए । कांग्रेस सभापति भेषबहादुर पौडेलले नागरिकले प्रजातन्त्रको आभास गर्न नपाएको आरोप लगाए । ‘सरकार र सरकारका मान्छेले अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित पार्न खोजेको छ । सरकारको विरोध गर्न नपाइने भन्दै बन्देज लगाएको छ । यो सह्य होइन,’ उनले भने ।


कार्यक्रममा नेपाल पत्रकार महासंघ लमजुङ शाखाका अध्यक्ष आश गुरुङले ‘आवधिक निर्वाचन : लोकतन्त्रको आधार’ विषयक कार्यपत्र प्रस्तुत गरे । गणतान्त्रिक मुलुकमा नागरिकले आफ्नो पदाधिकार प्रयोग गर्न दिनभर हिँड्नुपर्ने, राजनीतिक दलको खर्चिलो तथा भडकिलो प्रचारप्रसार, कर्मचारी परिचालनमा राजनीतिक दलको हस्तक्षेप, सुरक्षा चुनौतीलगायत विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रकाशित : फाल्गुन ८, २०७५ ११:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?