कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

प्रजातन्त्र दिवसमा प्रदेश सरकारको उपहार

कान्तिपुर संवाददाता

पोखरा — गाउँमा मोटरबाटो पुगेको २३ वर्ष भयो । स्थानीय फुस्रेखोलामा पुल नहुँदा भने सधंैको सास्ती । गाउँमा उत्पादन हुने दूध, तरकारी र फलफूल बजार पुर्‍याउनै हम्मे भइरहेका बेला मंगलबार पुलको शिलान्यास कार्यक्रम भइरहँदा स्थानीय कमलबहादुर रेग्मी खुसी देखिए । ‘अब दु:खका दिन जालान् नि’ उनले भने, ‘सडक पनि पिच भएर बाह्रैमास चल्नसक्ने भए गाउँ उत्पादित कृषिजन्य बस्तुले सहजै बजार पाउँथ्यो ।’

प्रजातन्त्र दिवसमा प्रदेश सरकारको उपहार

६९ औं प्रजातन्त्र दिवसको अवसरमा गण्डकी प्रदेश सरकारले पोखरा २२ र २१ वडा जोड्ने फुस्रेखोला चिसापानी पक्की पुल आफ्नै लगानीमा बनाउन थालेपछि स्थानीय खुसी भएका हुन् । प्रदेश सरकारको एकल बजेटमा बन्न लागेको पुलको मुख्यमन्त्री पृथ्वीसुब्ब गुरुङले मंगलबार शिलान्यास गर्दै प्रजातन्त्र दिवसमा विकास निर्माणको काम थाल्ने योजना अनुसार यही पुल छनोट गरिएको बताए ।


‘प्रदेश सरकार गठन भएको एक वर्ष कानुनलगायत अन्य संरचनाको जग हाल्नमा वितेको र अब देखिने गरी कामको परिणाम आउनेछ’ उनले भने, ‘पुल तोकिएको समयभन्दा अगाडि नै सकेमा बजेट अभाव हुँदैन ।’ एउटै कानुन, भौतिक संरचना र बजेट नहुँदा पनि प्रदेश सरकारकाले काम थालेको भन्दै उनले अब संघीयताको आभास हुनेगरी कामले गति लिने दाबी गरे ।


छोरेपाटन–खाल्से–कुभिन्डे सडक खण्डको फुस्रेखोलामा सडक बनेको २३ वर्षपछि पुल बन्न लागेको हो । पोखरासँगै जोडिएर पनि पिछाडिएको बेला प्रदेश सरकारले चासो देखाएर पुल बन्ने वातावरण बन्नु खुसीको कुरा रहेको स्थानीय लीलाधर पौडेलले बताए ।


भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालय कास्कीले पुल बनाउन लागेको हो । मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहट्ठाका अनुसार ३ करोड ९८ लाख ४८ हजार ८ सय ६७ रुपैयाँको लागतमा पुल बन्नेछ । सोमबारमात्रै श्री गीता–सिमरन जेभीसँग १८ महिना अर्थात् ६ जेठ २०७७ मा सम्पन्न हुनेगरी सम्झौता भएको उनले बताए । ३८ मिटर लम्बाइ र ६ मिटर चाक्लो पुलको दुवैतर्फ फुटपाथ पनि रहनेछ ।


भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले प्रदेशभित्र प्रदेश सरकारले ७० वटा पुल बनाउने योजना रहेकोमा यो पहिलो भएको बताए । ‘प्रदेश सरकारकै बजेटबाट बन्न लागेको यो पुल पहिलो हो’ उनले भने, ‘टेन्डर हुने काम नहुने प्रवृत्तिको अन्त्य गर्दै समयमै काम सक्न निर्माण कम्पनीलाई निर्देशन दिन्छु ।’ उनले उक्त सडकको स्तरोन्नति पनि गरिने आश्वासन दिए ।


पुलका लागि दुवै किनारामा स्थानीय टीकाराम बराल र सनत श्रेष्ठले व्यक्तिगत जग्गा उपलब्ध गराएका छन् । छोरेपाटनदेखि कुभिन्डेसम्म सिद्धार्थ राजमार्ग १३ किलोमिटर रहेकोमा यो सडक भने जम्मा ८ किमि मात्रै रहेको छ । मजुवा, खाल्सेलगायत गाउँबाट दैनिक २/३ ट्रिप तरकारी, सयौं लिटर दूध र सुन्तलालगायत कृषिजन्य उत्पादन पोखरा जाने गर्छ । पुल बनेपछि किसानलाई सहजै बजारसम्म पुग्न सजिलो हुने स्थानीय दुर्गादत्त बास्तोलाले बताए ।

प्रकाशित : फाल्गुन ८, २०७५ ११:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?