कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सामाजिक सुरक्षा भत्ता पाउन सास्ती

कान्तिपुर संवाददाता

म्याग्दी — ‘छोरा–नातिको पिठ्युँमा बोकिएर बैंक गयो पैसा छैन भन्छ । वडामा सोध्यो, खातामा जम्मा भाछ भन्छन् । हामी बूढाबूढीले सास्ती पाएम्’ बेनीनगरपालिका–६ छापाका वृद्ध चक्रबहादुर कार्कीले भने, ‘सरकारले दिएको भत्ता पनि सबैले आँखा लाउँछन् । समयमा र सजिलोसँगै कहिल्यै पाएनौं । चर्को घाम र चिसो हिउँदमा पनि दिनभर लाइन लगाएर बस्नुपर्ने हुन्छ ।’

बैंकले भुक्तानी नगर्दा बेनी नगरपालिकाका जेष्ठ नागरिक, एकल महिला, दलित र विधवाले समयमै भत्ता पाएनन्


बैंकले भुक्तानी नगर्दा बेनी नगरपालिकाका जेष्ठ नागरिक, एकल महिला, दलित र विधवाले समयमै सामाजिक सुरक्षा भत्ता र उपचार खर्च समयमा पाउन सकेका छैनन् । नगरपालिकाले दोस्रो चौमासिकको रकम समयमै निकासा पठाए पनि भुक्तानी जिम्मा पाएको कृषि विकास बैंकले सामाजिक सुरक्षा भत्ता रकमलाई ‘होल्डिङ’ मा राखेको आरोप छ ।


नगरपालिकाको लेखा शाखाका अनुसार एक चौमासिकमा सामाजिक सुरक्षा भत्ताबापत कृषि विकास बैंकमा एक करोड ५० लाखभन्दा बढी रकम निकासा दिने गरिएको छ । ‘हामीले माघ तेस्रो साताको अन्तिम रकम बैंकमा निकासा दिएका छौं । निजी क्षेत्रका दुवै बैंकले समयमै सेवाग्राहीको खातामा जम्मा गरे पनि सरकारी स्वामित्वको कृषि विकास बैंकले फागुन ६ गतेसम्म भुक्तानी गरेको छैन’ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले भने, ‘सामाजिक सुरक्षा भत्ता सेवाग्राहीले समयमा नपाएको गुनासो आएको छ । होल्ड गर्नु न्यायोचित होइन ।’


नगरपालिकाको १० मध्ये ८ वडाका जेष्ठ नागरिक (अन्य), जेष्ठ नागरिक (दलित) एकल महिला र विधवालाई उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ता वितरण कृषि विकास बैंकले जिम्मा लिएको छ । वडा २ ज्यामरुककोटका सेवाग्राहीले कैलाश विकास बैंक, वडा १० पात्लेखेतले ग्रिन डेभलपमेन्ट बैंकबाट भत्ता बुझ्ने गरेका छन् । त्यसैगरी अपांगता र अति अशक्त भत्ता बैंक अफ काठमाण्डौले वितरण गर्ने गरेको छ ।


सामाजिक सुरक्षा शाखाका अनुसार नगरपालिकामा जेष्ठ नागरिक (अन्य) एक हजार, पाँच सय ७४, जेष्ठ नागरिक (दलित) चार सय ४४, एकल महिला २ सय ६५ र पाँच सय ८९ जना विधवाले भत्ता पाउँदै आएका छन् ।


नगरभित्रका प्राय: लाभग्राहीको भत्ता एउटै बैंकमा केन्द्रित हुँदा समयमा भुक्तानी नपाएको गुनासो बढेपछि नगरपालिकाले सम्बन्धित वडा कार्यालयको पायक पर्ने स्थानको बैंकको नाम संकलन सुरु गरेको छ ।


नगरपालिकाको बेनीबजारमा पर्ने ७ र ८ वडाका लाभग्राहीले भने खाता रहेको बैंकमा नै भुक्तानी व्यवस्था मिलाउने नगरपालिकाले जनाएको छ । ‘एउटै बैंकमा सबै भत्ता जम्मा गर्दा वृद्धवृद्धाले समयमा भुक्तानी नपाएको गुनासो सम्बोधन गर्न बढीमा दुई वडालाई एक बैंक पर्ने गरी वडा कार्यालयको सिफारिसमा पायक पर्ने स्थानको बैंक छनोटमा लागेका छौं’ बेनी नगरपालिका–६ का वडाध्यक्ष कृष्णबहादुर बानियाँले भने, ‘तेस्रो चौमासिकको रकम अब कृषि विकास बैंकबाट झिकेर अन्य पायक पर्ने बैंकमा घरदैलोमा पुगेर भुक्तानी दिनेगरी भत्ता वितरण गर्दैछौं ।’

प्रकाशित : फाल्गुन ८, २०७५ ११:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?