कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

बेनीको फोहोर व्यवस्थापन निजी क्षेत्रलाई

घनश्याम खडका,

म्याग्दी — सदरमुकाम बेनी बजार र नगर क्षेत्रबाट उत्सर्जन हुने फोहोर व्यवस्थापन अब निजी क्षेत्रले गर्ने भएको छ । 
नगरपालिकाको बेनी, गलेश्वर र तातोपानी क्षेत्रबाट निस्कने फोहोर व्यवस्थापन गर्न पोखरा–५ को मिसन फर वेष्ट मेनेजमेन्ट प्रालिसँग सम्झौता भएको हो ।

बेनीको फोहोर व्यवस्थापन निजी क्षेत्रलाई

सम्झौताअनुसार फोहोरमैला बापत नगरपालिकाले संकलन गर्ने वार्षिक १७ लाख रकम दोस्रो पक्षले दुई किस्तामा पाउने भएका छन् ।


जिम्मेवारी लिएको मिसन फर वेष्ट मेनेजमेन्ट प्रालिले संकलित फोहोरलाई कुहिने, नकुहिने र अस्पतालजन्य गरी वर्गीकरण गर्नु पर्नेछ । संकलित फोहोरबाट पुनः प्रयोग हुने वस्तु झिकेर छुट्याउने, सड्ने फोहोरलाई कम्पोस्ट मल बनाउने र बाँकी वस्तुलाई नगरपालिकाले उपलब्ध गराएको सेतीपहिरोस्थित फोहोर संकलन केन्द्रमा विर्सजन गर्नेछ । फोहोर विर्सजन गर्दा आगो लगाउन नपाइने सम्झौतामा उल्लेख छ ।


‘अघि आएको प्राइभेट फर्मले फोहोर संकलन र व्यवस्थापन राम्रोसँग गर्छौं भनेपछि जिम्मेवारी दिएका हौं,’ बेनीका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले भने, ‘हामीले फोहोर व्यवस्थापन प्रभावकारी तरिकाले गरेर त्यसबाट लाभ लिने योजना बनाएका छौं ।’


नगरपालिकाको फोहोरमैला व्यवस्थापन शाखाका अनुसार बेनीबाट दैनिक औद्योगिक ३ मेट्रिक टन, स्वास्थ्य निकायहरूबाट २ टन र घर तथा पसलहरूबाट ५ टन हाराहारी फोहोर निस्कन्छ । दैनिक निस्कने फोहोरमध्ये रबर, छाला १ प्रतिशत, धातुजन्य २ प्रतिशत, कपडा २ प्रतिशत, सिसाजन्य ३ प्रतिशत, कागज ९ प्रतिशत, प्लास्टिकजन्य ११ प्रतिशत, अन्य ७ प्रतिशत र बाँकी ६५ प्रतिशत वस्तु जैविक फोहरमैला हुने गरेको छ ।


सम्झौताअनुसार फोहोर व्यवस्थापन गर्न नगरपालिकाले प्रयोग गर्दै आएको कम्प्रेसर र ट्र्याक्टरलाई दोस्रो पक्षले प्रयोग गर्नेछ । फोहोरमैला संकलन गरेबापत कम्पनीले हाल नगरपालिकाले लिइरहेको भन्दा छुट्टै शुल्क लिन पाउने छैन । नगरपालिकाले हाल भुइँतले घरको १ सय ५० र थप तलाको प्रतितला ५० रुपैयाँको दरले जोडेर शुल्क लिने गरेको छ ।


‘उपयुक्त डम्पिङ साइट फेला नपरेको कारण देखाउँदै नगरपालिकाले १५ वर्षदेखि फोहोरमैला कालीगण्डकी नदी किनारमा फाल्दै आएको थियो । नयाँ व्यवस्थापकले पनि सोही स्थानमा निर्माण गरिएको संकलन केन्द्रमा पुर्‍याई वर्गीकरणपछि उपयोग गर्न नमिल्ने वस्तु मात्र विर्सजन गर्ने भएकाले प्रदूषण न्यून हुने नगरपालिकाले जनाएको छ ।


‘अब बेनीको फोहोर पहिलेजस्तो नदी किनारामा खुला फालिने छैन । संकलन भवनभित्र पुर्‍याई वर्गीकरणपछि रिसाइकल गर्ने, कुहिने फोहोर झिकेर बाँकी फोहोर मात्र विर्सजन हुनेछ’ बेनी–८ का वडाध्यक्ष रामकृष्ण बराइलीले भने ।


फोहरमैला व्यवस्थापन ऐन २०६८ ले फोहरमैलाको व्यवस्थापन गर्न, स्थानान्तरण केन्द्र, ल्यान्डफिल साइट, प्रशोधन प्लान्ट, कम्पोस्ट प्लान्ट, बायोग्यास प्लान्टलगायत फोहरमैलाको संकलन, अन्तिम विर्सजन तथा प्रशोधनका लागि आवश्यक पूर्वाधार एवं संरचनाको निर्माण र सञ्चालन गर्ने जिम्मेवारी स्थानीय तहलाई तोकेको छ ।


ऐनले हानिकारक, स्वास्थ्य संस्थाजन्य, रासायनिक र औद्योगिक फोहरमैलाको व्यवस्थापन सम्बन्धित व्यक्ति वा संस्थालाई जिम्मेवार बनाएको भए पनि बेनी नगरपालिका र मिसन फर वेष्ट मेनेजमेन्ट प्रालिबीचको सम्झौतामा रासायनिक तथा विकीरणयुक्त फोहोरमैला व्यवस्थापनका विषयमा भने केही उल्लेख छैन ।

प्रकाशित : फाल्गुन ९, २०७५ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?