कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

परम्परागत पेसाबाट पर्यटनतर्फ

नवीन पौडेल

नवलपुर — पुर्ख्यौली पेसाका रूपमा खोलानालामा माछा मारेर जीविकोपार्जन गर्ने पूर्वी नवलपरासीका बोटे र मुसहर समुदायका युवा पराम्पराभन्दा भिन्न अन्य पेसाव्यवसायतर्फ आकर्षित हुन थालेका छन् । होटल तथा पर्यटकीय व्यवसायतर्फ आकर्षित भएका हुन् । 

परम्परागत पेसाबाट पर्यटनतर्फ

कावासोती नगरपालिकाको पर्यटकीय क्षेत्र अमलटारी, बाघखोर र शेरगन्ज लगायतका स्थानमा धमाधम होटल तथा पर्यटक गाइडका रूपमा यस क्षेत्रका बोटे, मुसहर, थारू समुदायका युवाले आफ्नो व्यवसाय चलाइरहेका छन् ।


परम्परादेखिको जीवनशैलीबाट भिन्न पेसाव्यवसायको अभ्यासले आर्थिकरूपमा सबल बन्दै गएका छन् ।

कावासोती–१५ का ज्ञानबहादुर बोटेले आफ्नै लगानीमा २ वर्षदेखि बोटेगाउँ रिसोर्ट सञ्चालन गरिरहेका छन् । ५२ लाखको लगानीमा सञ्चालन गरिएको रिसोर्टमा यस समुदायका १० जनाले रोजगारी पाएका छन् ।


चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रको अवलोकनका साथै थारू तथा बोटे समुदायको संस्कृति बुझ्न आउने पर्यटक उनीहरूका पाहुना हुन् । ‘हाम्रो समुदाय पिछडिएको समुदाय हो । तर, हामी बसोबास गरेको क्षेत्र जैविक विविधताले भरिपूर्ण छ,’ उनले भने, ‘पर्यटकीय दृष्टिकोणले सुन्दर आफ्नै गाउँमा व्यवसायका लागि रिसोर्ट चलाएको हुँ । बाहिरबाट यहाँ आएकाहरूले होटल, रिसोर्ट चलाइरहेको देख्दा हामीले पनि केही गर्नुपर्ने रहेछ भन्ने लागेको हो ।’


स्नातकोत्तर उत्तीर्ण गरेका उनले नदीखोलामै केन्द्रित आफ्नो समुदायमा सचेतना प्रवाह गर्दैर् आएका छन् । बोटे समुदायको संस्कृति रिसोर्टमा आन्तरिक तथा बाह्य पर्यटक रिझाउने काइदा पनि बनेको छ । ज्ञानबहादुर मात्र होइन स्थानीय तजबिज बोटेले पनि होटल व्यवसायसँगै इन्टरनेट व्यवसाय सुरु गरेका छन् ।


पुर्खाले गरेको कामलाई नै निरन्तरता दिनुभन्दा समयानुकुल व्यवसाय गर्नका लागि सबैलाई आग्रह गर्दै आफ्नो परम्परा र वेशभूषाको संरक्षण गर्दै आर्थिक प्रगतिको बाटोमा लम्कनुपर्ने उनको भनाइ छ । ‘युवाहरू प्राविधिक र आर्थिक पक्षमा लाग्नु पर्दछ । ’उनले भने, ‘म मात्र होइन अन्य युवायुवती पनि उच्च शिक्षादेखि व्यावसायिक क्षेत्रमा लागिरहेका छन् । ’


माझी मुसहर बोटे कल्याण सेवा समितिका अगुवा लालबहादुर बोटेले विभिन्न सीपमूलक तालिम तथा जनचेतनाको कारण पछिल्लो समय निर्वाहामुखी माछा पाल्ने, निउरो टिप्ने पेसा छाडेर अन्य व्यवसायमा युवायुवती लागि परेको बताए ।


थारू महिलाको अतिथिगृह

पूर्वी नवलपरासीकै कावासोती–१५ गोडारमा थारू महिलाहरूले सुविधासम्पन्न होटल सञ्चालन गरेका छन् । थारू महिला समूहले एक करोड रुपैयाँको लागतमा उक्त प्रतिष्ठान सञ्चालनमा ल्याएका हुन् ।


‘थारू सांस्कृतिक अतिथिगृह’ नाम दिइएको उक्त होटल स्थानीय थारू समुदायका २९ जना महिला मिलेर होटल सञ्चालन गरेका हुन् । दुई बिघा क्षेत्रफल जमिन भाडामा लिएर होटल सञ्चालन गरिएको छ । थारू समुदायको परम्परागत संस्कृति झल्कने घर निर्माण गरिएका छन् ।


पाहुनालाई लाठी र झम्टालगायत परम्परागत नाचगान देखाइन्छ । हरेक कोठा तथा होटल परिसरमा थारू संस्कृति झल्कने माटोको जाँतो, चुल्हो, डेहरी र भाडाकुँडा सजाएर राखिएको छ । खानामा थारूले बनाउने चिंचर, घोंगी, लिटी, सोझुवा रोटी, हाँसको मासु र माछाका परिकार मुख्य परिकारहरू बनाउने गरिएको समूहकी देउकुमारी मुखियाले बताइन् ।

प्रकाशित : फाल्गुन ९, २०७५ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?