१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

माहुरीलाई चरन अभाव

दिप्ती सिलवाल

पर्वत — मोदी गाउँपालिका–२ देउपुरका टीकाराम तिमिल्सिनालाई यतिबेला माहुरीको खाना जुटाउनै मुस्किल परेको छ । उनले पालेका ७० घार माहुरीलाई खानेकुरा नभएपछि हिजोआज बिहानैदेखि उनले चिनीको लेदो बनाएर दिन थालेका छन् ।

माहुरीलाई चरन अभाव

व्यावसायिक माहुरी पालेका जिल्लाभरका किसान यतिबेला माहुरीका लागि खाद्यान्न जुटाउन नसकेर चिनीको आहारा बनाइरहेका छन् ।


माहुरीका लागि यो सिजनको मुख्य खाना तोरी हो । फागुन महिना गाउँका फाँटभरि लहलह तोरीका फुलले पँहेलै हुनुपर्ने हो । तर, केही वर्षयता गाउँघरमा तोरी खेती गर्ने क्रम विस्तारै घट्दो छ । किसानले तोरी लगाउन छाडेपछि माहुरीपालक किसान समस्यामा छन् । तोरी लगाएर तेल निकाल्ने समयसम्मको झन्झट, उत्पादन घट्दो क्रममा हुनु र गाउँमा कृषि कर्म गर्ने जनशक्तिको कमीलगायतका कारणले तोरी खेती गर्ने किसान घटेका हुन् ।


माहुरीले तोरीको फूलको रसबाट यो सिजनमा उल्लेख्य मह निकाल्न सक्ने भए पनि तोरीको उत्पादन घटेसँगै माहुरीको चरन अभाव हुँदै गएको हो । बिहादी–१ बाच्छाका माहुरीपालक किसान उत्तम परियारले ५–६ वर्षयता हिउँदका ५ महिना माहुरीलाई चरनको अभाव भएको बताए । ‘पहिलो यहाँको फाँटैभरि तोरी लहलह हुन्थ्यो,’ परियारले भने, ‘हिजोआज तोरी लगाउनै छाडे । भएको खेतबारीमा हिउँदे तरकारी लगाउँछन् । तरकारीमा हाल्ने विषादीले माहुरीलाई झनै असर गर्छ ।’


विभिन्न प्रकृतिका विषादीको प्रयोगले माहुरी मर्ने र घारै रित्तिनै समस्या बढदै गएको उनले बताए । किसानले जैविक मल र विषादीको प्रयोग गरेर हिउँदे बाली लगाउने बेलासम्म माहुरी फस्टाउने गरेकोमा हिजोआज उन्नत प्रजातिका बिउबिजन, रासायनिक मल, अनधिकृत विषादीलगायतका कारणले माहुरीको जैविक प्रणालीमा समेत गम्भीर असर परेको किसानले बताएका छन् ।


मोदी–२ कुँडुलेका हेमनाथ चापागाँइले घर वरपर एक दर्जन घारका माहुरीलाई पनि चरनको अभाव भएको बताए । कुँडुलेमा १४–१५ परिवारले व्यावसायिक माहुरी पालन गर्छन् । स्थानीयका अनुसार थाप्लाबारी, कुँडुले, कँडेनलगायतका गाउँ माहुरीका लागि उपयुक्त क्षेत्र छ ।


वरपर घना जंगल, बाह्रै महिना फूल फुल्ने, गाउँभर सुन्तलाको बगैंचालगायतका कारण माहुरी पाल्न यहाँ धेरै सहज छ । माहुरीलाई आवश्यक पर्ने फूलको रस गाउँ वरपर प्रशस्तै हुन्थ्यो । तर, माहुरीका लागि चरनको अभाव बढ्दै गएपछि कतिपय किसानले यो व्यवसाय विस्तार गर्न सकेका छैनन् । केहीले भएका घार पनि हटाएर अरू पेसा सुरु गरिसकेका छन् । ‘चिनी खुवाएर पाल्दा दुःख धेरै हुन्छ, लगानी पनि बढ्छ,’ बाच्छाका उत्तम परियारले भने, ‘लामो समय चिनी खुवाउनुपर्‍यो भने मह राम्रो हुँदैन ।’


कतिपय माहुरीपालक भने प्रविधिको अभावले पनि माहुरीबाट उल्लेख्य लाभ लिन सकिरहेका छैनन् । कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख वासुदेव रेग्मीका अनुसार जिल्लामा बर्सेनि करिब ७ टन मह उत्पादन हुँदै आएको छ । पछिल्लो समय रासायनिक प्रकृतिका विषादीको प्रयोग, जमिन बाँझो राख्नेलगायतका कारणले माहुरीलाई गम्भीर असर परेको छ ।


त्यसबाहेक माहुरीपालक किसानले प्रविधिको उपयोग गर्ने जाँगर नगर्दा पनि माहुरीबाट उल्लेख्य लाभ लिन सकिएको छैन । पर्वतमा मोदीको देउपुर, फलेवास नगरपालिकाको कुर्घा, पाङ्राङ, बिहादीको बाच्छा, पैयुँको चिर्दी, लुङ्खुलगायतका स्थानमा माहुरीका लागि उपयुक्त हावापानी छ । माहुरीपालनलाई विस्तार गर्नका लागि विस्तारै किसानलाई अर्गानिक खेतीतर्फ फर्काउनुपर्ने कृषि प्राविधिकको सुझाव छ ।

प्रकाशित : फाल्गुन ९, २०७५ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?